फोनिज गण्डकीमा आस्था

समाधान संवाददाता २०७६ असार ३१ गते १३:३४

समाधान संवाददाता
पोखरा

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीको अध्यक्षमा एमबी आस्था मगर विजयी भएका छन् । आइतबार पोखरामा भएको प्रथम महाधिवेशनबाट आस्थाले १६ सदस्यीय नयाँ कार्यसमिति सम्हाल्ने जिम्मेवारी पाएका हुन् ।

समितिको उपाध्यक्षमा दिल शिरिष (बाग्लुङ), महिला उपाध्यक्षमा कमला रानामगर(नवलपुर), महासचिवमा कास्कीका रुद्रबहादुर श्रीसमगर, संगठन सचिवमा कास्कीकै खीमा गुरुङ, संस्थागत सचिवमा तनहँुकी सुनीता थापामगर र कोषाध्यक्षमा तनहुँकै सिर्जना रानामगर चुनिएका छन् । खुल्ला सदस्यमा कास्कीबाट सुशान्त गाहामगर (कास्की), धनबहादुर गुरुङ ‘सुमन’, गणेश गुरुङ (म्याग्दी), तीलक गुरुङ (स्याङजा) चयन भए ।

Advertisement

महिला सदस्यमा मुना थापामगर (नवलपुर), सूर्यकुमारी महतो (नवलपुरर), सुमन थापामगर (कास्की) र संस्थागत सदस्यमा मीना थापामगर (नेपाल मगर पत्रकार संघ), मनिलाल सर्बुजा गुरुङ(तमु संचारकर्मी संघ) चुनिएका छन् ।

यसअधि आइतबार अधिवशेन उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समावेशी लोकतन्त्र र संघीयता शासन व्यवस्थाले नेपालको सामाजिक द्वन्द्वलाई व्यवस्थापन गरेको दाबी गरेका छन् । मुख्यमन्त्री गुरुङले धेरै खाले द्वन्द्वलाई व्यवस्थापन गर्ने सामथ्र्य संघीय शासन प्रणालीसँग भएको दाबी गरे ।

Advertisement

मुख्यमन्त्री गुरुङले संघीयता र समावेशी लोकतन्त्र नभएको कारणले धेरै मुलुक धर्म जात, राजनीति, स्रोत, साधन तथा क्षेत्रगत रुपमा द्वन्द्वमा फँसेको बताए । ‘व्यक्तिगत स्वतन्त्रता र सामाजिक न्यायसहितको साँचो लोकतन्त्र स्थापना भएको छ,’ मुख्यमन्त्री गुरुङले भने, ‘नेपालमा आदिवासी जनजातिले ठूलो उपलब्धि हासिल गरेका छन् । उपलब्धि कुनै मुलुकको भन्दा कमी छैन ।’ मुख्यमन्त्री गुरुङले नेपालमा आदिवासी जनजातिको आन्दोलन सशक्त भएको दाबी गरे । उनले संघीयता र संविधानको जति बढी कार्यान्वयन हुन्छ, त्यति नै आदिवासी जनजातिको हक सुनिश्चित हुने उल्लेख गरे ।

आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले संघीय सरकारले बनाएरको कानुनको आधारमा प्रादेशिक सञ्चार कानुन बनाउने बताए । उनले प्रदेशले सञ्चार नीति बनाएको जानकारी दिए । फोनिज संघीय अध्यक्ष दण्ड गुरुङले सञ्चार माध्यमले समावेशितालाई मुल एजेन्डा बनाउनुपर्ने बताए । अध्यक्ष गुरुङले सञ्चार माध्यममा आउने विषयवस्तुसमेत समावेशी हुनुपर्ने माग गरे ।

कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा, तमु धीँ नेपालका अध्यक्ष कर्म गुरुङ, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश उपाध्यक्ष शान्ति गुरुङ, प्रतिभा छनोट समिति संयोजक सुरेन्द्र थापामगर, फोनिज गण्डकी प्रदेश संयोजक हुमबहादुर गुरुङ, प्रदेश समिति सदस्यहरु प्रताप रानामगर र भुपाल गुरुङ, सम्मानित पत्रकार उदयबहादुर आमात्य लगायतले बोलेका थिए ।

यसैबीच तमुधिँ नेपालका अध्यक्ष कर्म गुरुङले वैवाहिक वर्षगाँठको अवसरमा स्थापित तथा फोनिज कास्कीद्वारा सञ्चालित पुरस्कार नगद १५ हजार, दोसल्ला र सम्मानपत्र पत्रकार उदयबहादुर अमात्यलाई अर्पण गरियो ।

तपाईको प्रतिक्रिया