जिल्ला समन्वयको मौज्जाद कोष भौतिक पूर्वाधार निर्माणमा खर्च गरिने

समाधान संवाददाता २०७६ साउन १ गते १३:३४

समाधान संवाददाता
पोखरा

जिल्ला समन्वय समिति कास्कीले समितिको कोषमा रहेको निस्क्रिय कोषलाई स्थानीय तहको भौतिक संरचना निर्माणमा खर्च गर्ने भएको छ ।

जिल्ला समन्वय समितिको मौज्जाद कोष सञ्चालन निर्देशिका २०७५ बमोजिम कोषको रकम ४ गाउँपालिकाको प्रशासकीय र वडा भवन निर्माण खर्च गर्न लागिएको हो । जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले मौज्जाद कोष परिचालन गरी मादी गाउँ पालिकाको प्रशासकीय र ६ वटा वडा भवन, रुपा गाउँपालिकाको प्रशासकीय भवन निर्माण गरिने जानकारी दिए ।

Advertisement

समन्वय समितिको तेस्रो जिल्ला सभामा प्रमुख क्षेत्रीले कोषको रकम माछापुच्छ«े गाउँपालिकाको प्रशासकीय तथा वडा भवन, अन्नपूर्ण गाउँपालिकाको प्रशासकीय र वडा भवन निर्माणमा खर्च गरिने बताए । ‘नेपाल सरकारको २०७५ पुस ६ गतेको निर्णय अनुसार स्वीकृत निर्देशिका बमोजिम कोषको रकम खर्च गर्न लागेका छौं,’समन्वय प्रमुख क्षेत्रीले भने, ‘समन्वयको मौज्जाद कोष अन्तर्गतको ६० प्रतिशत र स्थानीयतहको ४० प्रतिशत रकमबाट भौतिक पूर्वाधार निर्माण गर्न लागेको हो ।’ उनले पोखरा महानगरपालिकाले प्रस्ताव पेस गरे अनुसार निर्देशिकाको व्यवस्था बमोजिम वडा भवन, खानेपानी, सामुदायिक विद्यालय, स्वास्थ्य भवनहरु बनाउनको लागि प्रक्रिया अगाडि बढाइने जानकारी दिए ।

समन्वय प्रमुख क्षेत्रीले आर्थिक वर्ष ०७५÷०७६मा मादी गाउँपालिकाले प्रस्ताव पेस गरे बमोजिम वडा भवनहरु निर्माण कार्य थालनी भएको बताए । आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै समन्वय प्रमुख क्षेत्रीले समन्वय समितिको जीर्ण सभाहललाई व्यवस्थित गर्ने र कार्यालय भवन मर्मत सम्भार गर्ने जनाए ।

Advertisement

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले जिल्ला सभाको उद्घाटन गर्दै स्थानीय सरकारहरुले चलाएका योजना तथा विकास निर्माणको समन्वय समितिले गर्ने अुनगमनलाई प्रभावकारी बनाउन सुझाव दिए । सभामुख अधिकारीले समन्वय र अनुगमन गर्नको लागि समन्वय समितिलाई स्रोत र साधनले सम्पन्न बनाउनुपर्ने बताए ।

‘कृषि, पर्यटन, जलश्रोत, उद्योग र पूर्वाधार, कास्की जिल्लाको समृद्धिका मुल आधार’ भन्ने नाराका साथ भएको जिल्ला सभामा प्रतिनिधिसभाका सदस्य दुर्गा विश्वकर्मा,गण्डकी प्रदेशसभा अर्थ समिति सभापति दीपक कोइराला, प्रदेशसभा सार्वजनिक लेखा समिति सभापति कुमार खड्का, प्रदेश सभा सदस्यहरु रामजी बराल (जीवन), गायत्री गुरुङ, बिन्दुकुमार थापा, प्रभा कोइराला, जिल्ला समन्वय समिति महासंघ केन्द्रीय अध्यक्ष सीता सुन्दास, कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा, जिल्ला समन्वय समिति कास्की उपप्रमुख सावित्री भण्डारी, जिल्ला समन्वय अधिकारी नवराज बरालले बोलेका थिए ।

कार्यक्रममा जिविस कास्कीका पूर्व सभापति पुण्य पौडेल, मादी, रुपा, अन्नपूर्ण गाउँपालिकाका अध्यक्षहरु क्रमशः वेदबहादुर गुरुङ, नवराज ओझा र युवराज कुँवर, माछापुच्छ्रे गाउँपालिकाका उपाध्यक्ष कृष्णकुमारी दवाडी, नेपाल रेडक्रस सोसाइटी कास्की सभापति डोलराज पाण्डे, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारी, पत्रकार महासंघ कास्की सचिव रामप्रसाद तिमिल्सिना लगायत छलफलमा सहभागी थिए ।

तपाईको प्रतिक्रिया