नामासुङ-समजुङ मोटरबाटो सम्पन्न, सांसद विष्टद्वारा उद्घाटन

समाधान संवाददाता २०७६ साउन १ गते १४:०४

समाधान संवाददाता
जोमसोम

मुस्ताङको उत्तरी सीमावर्ती क्षेत्रमा नामासुङ—समजुङ मोटर बाटो सोमबारबाट निर्माण कार्य सम्पन्न भएको छ । मुस्ताङबाट निर्वाचित गण्डकी प्रदेशका सांसद इन्द्रधारा विष्टले बाटो उद्घाटन गरे ।

विष्टले उपल्लो मुस्ताङको समृद्धि र विकासका लागि प्रदेश सरकार कटिबद्ध रहेको बताए । उपल्लो मुस्ताङका गाउँ गाउँमा मोटर बाटो पुर्‍याउने सरकारको लक्ष्य पूरा भएको सांसद विष्टले बताए । उनले प्रसिद्ध धार्मिक स्थल दामोदरकुण्ड जोड्ने धेय—ताङग्या पक्की पुलका लागि १ करोड विनियोजन भएको सुनाए ।

Advertisement

मोटर बाटोका लागि गण्डकी प्रदेशको ५० लाख र लोमन्थाङ गाउँपालिकाको २० लाख गरी ७० लाख बजेट छ । २ सरकारको साझेदारी कार्यक्रम अन्तर्गत छोसेर २ को नामासुङदेखि समजुङ जोड्ने ११ किलोमिटर कच्ची मोटर बाटो निर्माण गरिएको हो । यसअघि स्थानीयलाई गाउँ पुग्न घन्टौं हिँड्नुपथ्र्यो ।

उपल्लो मुस्ताङको लोमान्थाङ अन्तर्गत साविकका ३ गाविस र लोघेकका साविक ३ गाविसका सबै गाउँ सडक सञ्जालमा जोडिएका छन् । मोटर बाटो विस्तारले त्यहाँ खेर गएको रातो माटोलाई घरेलु कामका लागि उपयोगमा ल्याउन सकिनेछ । त्यसो त उत्तरी कोरला नाकासम्म सरकारले राष्ट्रिय गौरबको सडक आयोजना विस्तार गर्दै छ ।

Advertisement

१ वर्षअघि सीमावर्ती गाउँमा विद्युत, सञ्चार र यातायातको सुविधा थिएन । त्यहाँ हालै हाइब्रिड सौर्य ऊर्जा प्रणालीबाट विद्युत उत्पादन, नेपाल टेलिकमले जिएसएम टावर स्थापना गरिएको छ । स्थानीय रिचुङ गुरुङले अब सीमावर्ती क्षेत्रका बासिन्दाका दुखका दिन समाप्त भई सुनौला दिन सुरुआत भएको बताइन् ।

तपाईको प्रतिक्रिया