धवलागिरि हिमालको आधार शिविर पुग्न सहज

समाधान संवाददाता २०७६ साउन १ गते १४:४०

राकेश शर्मा
म्याग्दी

संसारको सातौँ अग्लो धवलागिरि हिमालको आधार शिविर जाने पदमार्ग सहज बन्न थालेको छ । म्याग्दीको धवलागिरी गाउँपालिका ४ मुदीमा रहेको यसको उचाइ ८ हजार १ सय ६७ मिटर छ छ । भीर र जंगलको जोखिमपूर्ण पदमार्गलाई फराकिलो बनाएर पूर्वाधार निर्माण गरिएपछि पर्यटक, पर्यटक मजदुर र स्थानीयलाई आवतजावत गर्न सजिलो भएको छ ।

गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको ५० लाख बजेटबाट नाउराभीरदेखि सल्लाघारीसम्म पदमार्ग मर्मत गरिएको हो । नाउराको भीर जोखिमपूर्ण पहाड हो । सो खण्डको ९ किलोमिटर ४ सय मिटर अप्ठ्यारो पदमार्गलाई फराकिलो बनाउने र ढुंगाको सिँढी चिनेर पदमार्ग मर्मत गरिएको गाउँपालिका अध्यक्ष थमसरा पुनले जानकारी दिइन् । ६० प्रतिशत खण्डमा साँघुरो बाटो फराकिलो बनाउने र ४० प्रतिशत खण्डमा ढुंगाको सिँढी चिनिएको छ ।

Advertisement

बगरको जेल्तुङदेखि सिङकुस, जुरकुस हँदै मल्कबाङ जोड्ने डाँडाखर्कसम्मको पदमार्गसमेत मर्मत गरिएको छ । यो वर्ष संघीय सरकारको पर्यटन मन्त्रालयबाट विनियोजन भएको १५ लाख बजेटबाट इटाली क्याम्पदेखि स्वीस क्याम्पसम्मको पदमार्गसमेत निर्माण गरिएको छ । करिब २ किलोमिटर ५ सय मिटर पदमार्ग मर्मत र फराकिलो बनाइएको उपभोक्ता समिति अध्यक्ष हरिप्रसाद तिलिजाले बताए । इटाली क्याम्पका एकमात्रै होटल व्यवसायीसमेत रहेका तिलिजाका अनुसार पदमार्ग निर्माणसँगै धवलागिरि आधार शिविर, चक्रीय धवलागिरि र हिमाल आरोहणका लागि जाने पर्यटकलाई सहज भएको छ ।

हिमपहिरोले बगाएको ठाउँ भीरमा नयाँ पदमार्ग बनाइएको छ भने चौरवनदेखि इटाली क्याम्पसम्मको अप्ठ्यारो पदमार्गलाई फराकिलो बनाइएको छ । बजेटको लागत अनुमान अनुसार १ हजार ७ सय मिटर पदमार्ग निर्माण गर्नुपर्ने भए पनि रकम बचत भएपछि करीब १ किलोमिटर पदमार्ग थप मर्मत गरिएको हो । यो वर्ष नै इटाली क्याम्पमा गण्डकी प्रदेश पर्यटन मन्त्रालयको ३२ लाख बजेटबाट सूचना केन्द्र र आकस्मिक स्वास्थ्य केन्द्र भवन निर्माण सुरु भएको छ ।

Advertisement

मन्त्रालयको अनुदान, स्थानीयवको श्रमदान र गाउँपालिकाको १० प्रतिशत लगानीमा सूचना केन्द्र र आकस्मिक स्वास्थ्य उपचार केन्द्र भवन निर्माण सुरु भएको गाउँपालिकाले जनाएको छ । पदमार्गअन्र्तगत सबैभन्दा जोखिमपूर्ण मानिने नाउराभीरमा तत्कालीन द्वन्द्वको समयमा माओवादीले श्रम शिविर तथा पर्यटकबाट चन्दा उठाएर पदमार्ग निर्माण सुरु गरेका थिए । शान्ति स्थापनापछि तत्कालीन जिविस र गाविसमार्फत विनियोजन भएको बजेटबाट भीरमा पदमार्ग बनाइएको थियो । मनोरम हिमशृंखलासँगै अग्ला झरना, जंगलको एकान्त वातावरण, नजिकै देखिने झारल, कस्तुरी मृग, डाँफे, तालतलैया, हिमनदीको दृश्य यस पदमार्गका आकर्षण हुन् ।

तपाईको प्रतिक्रिया