पोखराको पर्यटन प्रवद्र्धनः निजी क्षेत्रको मात्रै सक्रियता
विकास रोकामगर
पोखरा
गण्डकी प्रदेश सरकारले पर्यटनलाई समृद्धिको मुख्य आधार मानेको छ । नेपाल सरकारले सन् २०२० सम्ममा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । तर गण्डकी प्रदेशले भने एक्लै सन् २०२२ सम्ममा २० लाख पर्यटक भित्र्याउने घोषणा नै गरिसकेको छ ।
प्रदेशले आफ्नो लक्ष्यअनुरुप सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष, २०२० लाई छिमेकी आकर्षण पर्यटन वर्ष र २०२२ लाई अन्तर्राष्ट्रिय पर्यटन वर्षका रुपमा मनाउने घोषणा गरेको छ । २०२२ सम्ममा २० लाख पर्यटक भित्रयाउने लक्ष्य राखेको प्रदेश सरकारले योजनाअनुरुप काम गरेको भने देखिएको छैन ।
प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक पर्यटन भ्रमण वर्षका रुपमा मनाइरहेको छ । तर घोषणा गरेको ६ महिनापछि अर्थात असार १५ गते मात्रै प्रदेश सरकारले ‘भ्रमण वर्ष मूल समारोह समिति’ गठन गर्यो । प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालको अध्यक्षतामा १ सय ५१ सदस्यीय समिति गठन गरेको हो ।
सरकारी तवरबाट पर्यटन प्रवद्र्धन गर्न कुनै उल्लेख्य काम नभइरहँदा भने निजी क्षेत्रले आफ्आफ्नै किसिमबाट विभिन्नन अभियानमार्फ प्रवद्र्धनात्मक कार्यक्रम चलाइरहेका छन् । पर्यटन व्यावसायीले विदेशका विभिन्न ठाउँमा पुगेर पर्यटक डाक्नेदेखि नेपालकै विभिन्न जिल्लामा पुगेर गण्डकी प्रदेशमा घुम्न निम्तो बाँडिरहेका छन् ।
निजी संस्थाबाट गण्डकी प्रदेशको राजधानी प्रचारप्रसार गर्नेमा पश्चिमाञ्चल होटल संघ पोखरा (हान) पहिलो नम्बरमै पर्छ । भारतका पर्यटक डाक्न चलिए पोखरादेखि नेपालकै आन्तरिक पर्यटकलाई निम्ता बाँड्न पनि हान अग्रसर भइरहेको छ ।
हानले आफ्नै सक्रियतामा केही समयअघि पर्यटक डाक्न भारतका विभिन्न ठाउँ पुग्यो । ‘चलिए पोखरा’ अभियान लिएर हान भारतको पटना, लखनाउ, आगरा र रक्सौलका पर्यटन व्यवसायी तथा ट्राभल एजेन्सीसँग छलफल तथा अन्तक्र्रिया गर्यो । हानले चलिए पोखरा अभियान सन् २०१२ बाटै निरन्तर सञ्चालन गरिरहेको संस्थाका अध्यक्ष विकल तुलाचनले जानकारी दिए ।
गण्डकी प्रदेशमा आन्तरिक पर्यटकको संख्या बढाउन हानले ‘जाउँ है पोखरा’ अभियान पनि चलाइरहेको छ । यस अभियानमार्फत संस्था नेपालका प्रमुख प्रमुख क्षेत्रमा पुगेर प्रवद्र्धनात्मक कार्यमा सरिक भइरहेको तुलाचन बताउँछन् । ‘यो अभियान देशमा जनयुद्ध चलिरहेका बेला सुरु गरेका थियौं । त्यतिबेला आन्तरिक पर्यटकलाई पर्यटक नै नमान्ने अवस्था थियो । तर हामीले आन्तरिक पर्यटकबाट पनि केही हुन्छ है भनेर काठमाडौंबाट अभियान सुरु गर्यौं,’ तुलाचनले भने, ‘युद्धको बेला त्यसमाथि आन्तरिक पर्यटक भन्दै हिँड्दा धेरै हप्कीदप्की पनि खाएका थियौं ।’
२०५६ देखि सुरु भएको यो अभियानले गर्दा अहिले गण्डकीमा आउने पर्यटकमध्ये ६० प्रतिशतभन्दा बढी आन्तरिक पर्यटक नै हुने तुलाचनको सुनाउँछन् । हानले यी अभियान चलाउँदा नेपाल पर्यटन बोर्डसँग सहकार्य गर्र्दै आइरहेको छ ।
गण्डकी प्रदेश सरकारले आफूलाई पर्यटनको राजधानी दाबी गरिरहँदा गर्नुपर्ने सहयोग र समन्वयमा भने कञ्जुस्याइँ गरिहरेको तुलाचनको टिप्पणी छ । ‘पर्यटन बोर्ड त केन्द्र सरकारको मातहतमा हो । प्रदेश र स्थानीय सरकाले पनि मुख्य स्रोत पर्यटन भनेका छन् । तर दिनुपर्ने सुविधा दिएकै छैनन्,’ उनले भने, ‘प्रदेश र स्थानीय तह पनि पर्यटन बोर्डसँगै निर्भर भएको जस्तो देखिन्छ ।’
गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले पर्यटनलाई भाषणमा प्राथमिकता दिने तर बजेटमा भने बेवास्ता गरेको तुलाचनको आरोप छ । ‘दुवैले पर्यटन हाम्रो पनि हो भन्छन् । तर पूर्वाधार विकासदेखि व्यवसायीका लगानी सुरक्षित गर्नेगरी कुनै पनि योजना ल्याएका छैनन्,’ उनले भने, ‘पर्यटन व्यवसायीले गण्डकी प्रदेश सरकारको भ्रमण वर्ष अभियानलाई घाँटीमा झुन्डाएरमात्रै हिँडेका छन् । भएको केही छैन ।’
तुलाचनले गण्डकी प्रदेशमा पर्यटनमा व्यवसायीले अर्बौंको लगानी गरेको तर लगानीको सुरक्षा प्रदेश र स्थानीय तहले दिन नसकेको बताए । उनले गण्डकी प्रदेश सरकारले पर्यटन पूर्वाधार भन्नाले होमस्टेमात्रै हो भन्ने गलत बुझाइले अघि बढिरहेको आरोप लगाए । ‘व्यवसायीको अर्बौंको लागनी छ । तर, प्रदेश सरकार त्यसप्रति गम्भीर भएको पाएका छैनौं । सकारात्मक नै नभएको हो कि बुझाइ नै गलत हो थाहै भएन,’ उनले भने ।
नेपाल टुर्स एन्ड ट्राभल्स एजेन्टस् एसोसियसन (नाट्टा) ले पनि आफ्नै तरिकाले पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम गरिरहेको छ । ट्रेकिङ, हाइकिङका लागि नयाँ गन्तव्य खोजीदेखि छिमेकी देशमा पुगेर प्रवद्र्धानात्मक कार्यक्रम गरिरहेको संस्थाका महासचिव दिलु गौतम बताउँछन् ।
‘नाट्टाले वार्षिक क्यालेन्डर नै बनाएर प्रवद्र्धनात्मक कार्यक्रम गरिरहेको छ । नेपालकै पनि विभिन्न ठाउँमा पुगेर हामी आन्तरिक पर्यटक बोलाउन कार्यक्रम गरिरहेका छौं,’ गौतमले भने, ‘ट्रेकिङका लागि आवश्यक पर्ने जनशक्ति अत्यन्तै कम छन् । हामीले तालिम दिएर ती जनशक्ति उत्पादन गर्ने काम पनि गरिरहेका छौं ।’ उनले अपेक्षाकृत रुपमा सरकारले नाट्टासँग समन्वय नै नगरिरहेको गुनासो गरे ।
आन्तरिक भ्रमण वर्ष घोषणा गरेको ६ महिनापछि समिति गठन गर्दा पनि नाट्टालाई त्यसमा समावेश नगरेको गौतमको गुनासो थियो । उनले भने, ‘पर्यटन प्रवद्र्धनमा हाम्रो पनि भूमिका छ । तर प्रदेश सरकारले समन्वय र सहयोग गर्नुको साटो निजी क्षेत्रलाई नै अप्ठेरोमा पारिरहेको जस्तो लागेको छ ।’ उनले पर्यटनका लागि दक्ष जनशक्ति अभाव भइरहेकोवेला सरकारले त्यसतर्फ पनि ध्यान नदिएको आरोप लगाए ।
ट्रेकिङ एजेन्सिज् एसोसिएसन नेपाल (टान) पोखराको टोली पनि केही समयअघि इन्डोनेसियाको बाली र मलेसियाको क्वालालाम्पुर पुगेर नेपालको प्रचारप्रसार ग¥यो । संस्थाका अध्यक्ष हरि भुजेल संस्थाले ती देशमा कार्यक्रम गरिसकेपछि पर्यटकको पनि उल्लेख्य आगमन भएको दाबी गरे ।
भुजेलको पनि सरकारले पर्यटन वर्ष घोषणाका लागि घोषणामात्र गरेको जस्तो देखिएको बुझाइ छ । ‘सरकारले छिमेकी देश नभए छिमेकी प्रदेशमा पनि पर्यटनको गतिविधि बढाउन योजना ल्याउनु पर्ने हो । तर त्यसो देखिएको छैन । निजी क्षेत्र नै आफैं लाग्नु परेको छ,’ उनले भने । सरकारबाटै अपनत्व हुनुपर्ने विषयमा गम्भीर नभएको उनले दाबी गरे ।
गण्डकी प्रदेश सरकारले पोखरा पर्यटकीय राजधानी घोषणा गरिरहँदा भने त्यसका लागि आवश्यक पर्ने सुविधा नदिइएको व्यवसायीको गुनासो छ । विदेशी पर्यटक रातको समयमा घुम्न मन पराउने तर १० नबज्दै प्रहरी सिट्टी फुक्दै आउनाले मर्कामा परेको रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान)का महासचिव गणेशबहादुर थापा बताउँछन् ।
‘पर्यटकको डिमान्ड फरक फरक हुन सक्छ । उनीहरुले चाहेको बेला हामीले खानानास्ता पस्किन सकेका छैनौं,’ थापाले गुनासो गरे, ‘कोही पर्यटक रातको ११ बजे आइपुग्छन् । उनीहरुलाई स्वागत गर्नै नपाएपछि कसरी राम्रो सन्देश जान्छ ?’ रेबानले विदेशी पर्यटकलाई लक्षित गरी अंग्रेजी नयाँ वर्षमा स्ट्रिट फेस्टिबल, नेपाली खाना प्रवद्र्धन गर्न फुड फेस्टिबल र फुड कार्निभल गर्दै आइरहेको छ ।
‘सरकारलाई महिला पर्यटन व्यवसायी छन् भन्ने आभाष नै भएन’
सरकारले आन्तरिक पर्यटन वर्ष मनाइरहँदा महिला पर्यटन व्यवसायीलाई भने उपेक्षा गरिरहेको उनीहरुको गुनासो छ । सरकारले हेयको दृष्टिले हेरिदिँदा महिला पर्यटन व्यवसायी समयअनुसार परिवर्तन हुन नसकेको उनीहरुको भनाइ ।
पर्यटन व्यवसायी महिला संघ (टेवान)की अध्यक्ष रेनु थापामगर सरकारले महिला पर्यटन व्यवसायीसँग समन्वय नै नगरिरहेको गुनासो गरिन् । ‘सरकारले महिला व्यवसायीको क्षमता बढाउन सीप तथा शिक्षामुलक तालिम, कार्यक्रम गर्नुपथ्र्यो । तर, त्यस्तो काममा हामीलाई सहभागी नै गराइँदैन,’ उनले भनिन् ।
मगरले समय अनुसार नयाँ तरिका र शैली पर्यटकले माग गर्ने भएकाले पनि सरकारले महिला व्यवसायीलाई अझै महत्वका साथ हेर्नुपर्ने माग राखिन् । संस्थाले केही समयअघि दार्जिलिङ र सिलिगुढीमा पुगेर पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम गरेको थियो । ‘विदेशबाहेक नेपालकै पनि ओझेलमा परेका विभिन्न होमस्टेमा गएर हामीले आन्तरिक पर्यटनसम्बन्धी प्रचारप्रसार गर्ने काम गरिरहेका छौं,’ उनले भनिन् ।
महिला पर्यटन व्यवसायी मञ्च (वोटेफ) पोखराका अध्यक्ष जमुना पराजुलीको पनि गुनासो त्यस्तै छ । उनले पनि महिला पर्यटन व्यवसायीलाई सरकारले उपेक्षा गरेको गुनासो गरिन् । उनले भनिन्, ‘आन्तरिक भ्रमण वर्ष घोषणा गरेको ६ महिनापछि समिति गठन ग¥यो । समितिमा महिलाको भूमिका पनि पक्कै हुन्छ होला ! तर हामीलाई सहभागी गराइँदैन । सहभागी गाराउनुपर्छ भन्ने सरकारलाई आभाष नै भएको छैन ।’
महिला पर्यटन व्यवसायी पनि छन् है भन्ने तरिकाले समानताका हिसाबले सरकार जानुपर्ने पराजुलीले औंल्याइन् । उनले भनिन्, ‘महिलालाई सीपमुलक तालिम र अन्य ठाउँमा अवसर नै छैन ।’ संस्था केहीसमय अघि पर्यटन प्रवद्र्धनको कार्यक्रम लिएर चीनको बेइजिङ र गोन्जाओ पुगेको थियो ।
सरकार सिथिल भयो भन्दैमा हामीले हार मान्नुहुँदैनः पोखरा पर्यटन परिषद्
पर्यटन प्रवद्र्धनमा सरकार सिथिल हुँदैमा निजी क्षेत्रले हार मान्न नहुने पोखरा पर्यटन परिषद्को सुझाव छ । सरकार नहिँडेपनि घच्घच्याएर डो¥याउनुपर्ने बाध्यता रहको परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले बताए ।
‘सरकारले योजना ल्याउने हो । निजी क्षेत्रले हामीले सहयोग गर्ने हो,’ पोखरेलले भने, ‘योजना कार्यान्वयन गर्न हामीले घच्घच्याउने हो नभर समातेर हिँड्ने हो ।’ उनले छिमेकी देशमा सरकारले प्रवद्धर्नात्मक कार्यक्रम गरे त्यसको प्रतिफल चाँडै पाइने विचार राखे ।
पोखरेलले विदेशमा नेपालको प्रचारप्रसार गर्न राजदुतावास र त्यहाँ रहेका एनआरएनसँग समन्वय गर्न सरकारलाई आग्रह गरे । ‘सरकारले पर्यटनका नयाँ नयाँ ठाउँ तोकिदियोस् । सम्भावित ठाउँको खोजी गरोस्,’ उनले भने, ‘नेपालमा भएका प्रत्येक राजदुतावास र विदेशमा रहेका एनआरएनसँग नेटवर्क विस्तार गरेर काम गरोस् । यत्तिमात्रै गरेपनि सरकारले पर्यटन प्रवद्र्धनमा राम्रो भूमिका निभाउन सक्छ ।
तपाईको प्रतिक्रिया