काेरलामा चीनपट्टि धमाधम काम भईरहदा नेपालकाे बेवास्ता

समाधान संवाददाता २०७६ साउन ३ गते १२:०६

अमृत सुवेदी
कोरला

नेपाल भनेर लेखिएको ठिक मुन्तिर २४ नम्बर उल्लेख छ । त्यसभन्दा अझै मुन्तिर २०१९ लेखिएको छ । चीन र नेपालीको सीमास्तम्भ भएको यही ठाउँ हो मुस्ताङको कोरला नाका ।

सीमास्तम्भ नजिकै ठूलो गेट छ । तारजालीले बारबन्देज गरिएको सीमाको गेटमा ठूलो ताला झुन्डिएको छ । गेटभन्दा पछाडि चीनतिर देखिन्छ ठूलो घाँसे मैदान । त्यही मैदानमा भव्य भवन बनिरहेको छ । त्यसको भवनको दाहिनेतिर सडक छ । सडकसँगै चाइनिज अक्षरमा लेखिएका ठूला टेन्ट लगाइएको छ । त्योभन्दा उता भवन बनाउन पिल्लर उठाइँदै छ ।

सेतो, पहेंलो हेलमेट लगाएर केही कामदारले भवनमा काम गरिरहेका छन् । अलि उता डोजरले धमाधम खनिरहेको छ । केही मजदुर सिमेन्ट घोलिरहेका छन् । पिकअप भ्यानले धमाधम सामान ओसारिरहेको छ । चिनियाँ नम्बर प्लेटका गाडी कुदिरहेका छन् ।

नेपालको मुस्ताङ र चीन तिब्बतको सीमा । जहाँ यतिबेला चीनले भन्सार खोल्न धमाधम संरचना बनाइरहेको छ । १ दशकदेखि बढी चर्चा र हल्ला भइरहेको कोरला नाका खोल्ने विषय अझै पनि उत्तिकै छ । भारतले लगाएको नाकाबन्दीपछि कोरला नाका खोल्ने विषय अझै गरमागरम बनेको थियो ।

राष्ट्रपतिदेखि दलका शीर्ष नेताले चीन भ्रमणमा कोरला नाका खोल्ने विषयलाई पनि समेटे । कोरला नाकामा यतिबेला चीनतर्फ धमाधम संरचना बनिरहेको छ, लामो समय चर्चा, हल्ला चले पनि नेपालतर्फ भने संरचना निर्माणको सुरसारै छैन ।

गण्डकी प्रदेशका मन्त्री लेखबहादुर थापामगरले मुस्ताङ र तिब्बत जोड्ने कोरला नाका खोल्ने चर्चा सुनेकै १ दशक बितिसक्यो । पहिलो संविधान सभाको निर्वाचनपछि कोरला नाकाको चर्चा अझै उकालो लाग्यो । लेखबहादुर अहिले गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री छन् । यही असार मसान्तमा कोरला नाका पुगेर अवस्था देखेपछि भूमि व्यवस्था मन्त्री थापाले भने, ‘नाकाको चर्चा सुनेको वषौं भयो । नेपालतर्फ संरचना त शून्य पो रहेछ ।’

कोरला नाकाको २४ नम्बर पिल्लरदेखि उता चीनतर्फ एकीकृत भन्सार कार्यालयको संरचना यतिबेला धमाधम बनिरहेको छ । कोरला नाका ताकेर सडक स्तरोन्नतिको काम यतिबेला धमाधम भइरहेको छ । कोरला नाका पुग्ने आन्तरिक पर्यटकको संख्या पनि ह्वात्तै बढेको लो घेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्ट बताउँछन् । ७४ असारदेखि नै चीनतर्फ भन्सारका कार्यालय, स्तरीय सडक, बिजुली, पानी लगायतको निर्माण तथा प्रबन्ध मिलाइरहेको छ ।

तत्कालीन लोमान्थाङ, छोसेर, छोनुक गाविसले २०५४ सालमा आफ्नो गाउँ आफैं बनाऔं कार्यक्रममार्फत कोरलासम्म पुग्ने सडकको ट्र्याक खोल्न थालेका थिए । कोरलासम्म ट्र्याक खुलेकै १ दशक बितिसकेको मुस्ताङका सांसद इन्द्रधारा बिष्ट बताउँछन् । अहिले लोमान्थाङदेखि कोरला नाकासम्म ग्राभेल सडक छ । ‘त्यही सडक भएर थुप्रै पर्यटक आइपुगे,’ प्रदेशका भूमि व्यवस्था मन्त्री लेखबहादुरले भने, ‘भन्सारका कार्यालय निर्माण गर्ने सामग्री र कामदार कहिले आइपुग्छन् ? केन्द्र सरकारलाई नै थाहा होला ।’

कोरला नाकामा एकीकृत भन्सार कार्यालय खोल्न १ हजार रोपनी क्षेत्रफल जमन भन्सार कार्यालयको नाममा ल्याउने प्रक्रिया ४ वर्षअघिदेखि नै अगाडि बढेको हो । सीमांकन गरेर सिफारिस भइसकेको भए पनि जग्गा प्राप्तिको निर्णय मन्त्रिपरिषदको बैठकमा अड्किएको भन्सार विभागका निर्देशक शिशिर घिमिरेले बताए ।

‘मन्त्रिपरिषदले निर्णय नगरेकाले भन्सारका कार्यालय बनाउने प्रक्रिया अगाडि बढ्न सकेको छैन,’ निर्देशक घिमिरेले भने, ‘चीनतर्फ धमाधम संरचना बनिरहेको भन्ने सुनेका छौं । अब हाम्रोतिर पनि छिट्टै सुरु होला ।’

तिब्बततर्फ संरचना निर्माणको काम धमाधम भइरहँदा नेपालतर्फ भने सरकारकै उपस्थिति छैन । तिब्बतर्फत तारबार, गेट निर्माण गरेर धमाधम एकीकृत भन्सारका कार्यालय निर्माणमा कामदार खटिइरहका छन् । नेपालतर्फ भने सुनसानमात्रै छैन, जग्गाको टुंगो नै लागिसकेको छैन ।

चिनले ठाउँठाउँमा सिसिटिभी क्यामरा जडान गरेर नाकामा निगरानी बढाइरहेको छ । नेपालतर्फ त्यस्तो कुनै संरचना नै छैन । १२ किलोमिटर तल रहेको नेपाल प्रहरीले नै कोराला नाका हेर्ने जिम्मा पाएको छ । तर, नाकासम्म निगरानी बढाउन न त्यहाँको प्रहरीको न जनशक्ति छ, न त सामथ्र्य नै । कोरला नाका घुम्न पुगेका पर्यटकलाई केही समस्या परिहाले समयमै उद्दार गर्नसमेत अप्ठेरो अवस्था नेपालतर्फ छ । कोरला नाकाको १२ किलोमिटर वरै नेचुङमा भन्सार र क्वारेन्टाइन कार्यालय छ । मेला लाग्ने ताका यी कार्यालय खुल्छन् । नत्र आसपास कुनै पनि बस्ती छैन ।

चीनले भने कोरला नाकासम्मै अप्टिकल फाइबरसमेत पुर्‍याइसकेको छ । खानेपानी कार्यालय निर्माण भइरहेकै ठाउँमा बोरिङ गरेर निकालिएको छ । भन्सार, चेक पोस्ट, सुरक्षा बल लगायत संरचना निर्माणको काम चीनतर्फ भइरहेको छ । चीनले १ वर्षभन्दाअघि नै नाकासम्मै स्तरीय सडक पुर्‍याइसकेको थियो । नाकादेखि ५ किलोमिटर परमात्र चिनिया सैनिकको क्याम्प छ । नेपालतर्फ भने २५ किलोमिटर भन्दा पर नेपाली सेनाको क्याम्प छ । चीनले सीमा क्षेत्रमा निगरानी बढाइरहँदा नेपालतर्फ भने सरकारकै उपस्थिति देखिँदैन ।

नेपालतर्फ पनि भन्सारका कार्यालय निर्माण गर्न चीनतर्फबाटै सस्तोमा सामग्री ल्याउन सकिने सांसद इन्द्रधारा विष्टको भनाइ छ । ‘चीनले कोरलासम्म निर्माण सामग्री ल्याएर कार्यालयहरु बनाइरहेको छ । नेपालतर्फ पनि समन्वयमा उतैबाट सामग्री ल्याउन सकिन्छ,’ विष्टले भने, ‘चीनले त्यत्रो काम गरिसक्दा नेपालतर्फ केबल हल्लामात्रै छ ।’

जोमसोमदेखि कोरलासम्म १२ खण्डमा सडक स्तरोन्नतिको काम भइरहेको छ । ३५ वटा पुल निर्माण हुँदै छन् । बेनी जोमसोम सडक बर्खामा बाढी पहिरोले छेक्ने र बेलाबेला अवरुद्ध हुने भए पनि जोमसोमदेखि माथि त्यस्तो छैन । जोमसोमदेखि कोरला खण्ड बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको समर–भेना सडक खण्डको भीरको चट्टानमा ब्लास्टिङ गर्ने काम अहिले नेपाली सेनाले गरिरहेको छ । समर भीरको सडक स्तरोन्नति हुनेबित्तिकै कोरला पुग्न सहज हुनेछ ।

नेपाल–चीन सहमतिअनुसार कोरला सिमाना वर्षको २ पटक खुल्छ । त्यही मौकामा उपल्लो मुस्ताङीले खाद्यान्य, लत्ता, कपडादेखि विभिन्न सामग्रीसम्म जोहो गर्छन् । असार र भदौमा लाग्ने मेला किनमेल गर्ने र वर्षभरिकालाई सामान जोहो गर्ने बेला हो । नाकामा संरचना निर्माण गर्ने र छिटो सञ्चालनमा आउने हो भने सहज हुने उनीहरुको विश्वास छ ।

तपाईको प्रतिक्रिया