गण्डकी प्रदेशका प्रहरीलाई ३५ मोटरसाइकल

समाधान संवाददाता २०७६ साउन ३ गते १२:१६

समाधान संवाददाता
पोखरा

गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले विभिन्न प्रहरी इकाइलाई ३५ वटा मोटरसाइकल वितरण गरेको छ । मन्त्रालयले प्रदेश प्रहरी मातहतका इकाईलाई समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ती मोटरसाइकल दिएको हो ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा बुधबार भएको कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक विनोद शर्मा घिमिरेलाई मोटरसाइकलको चाबी हस्तान्तरण गरे ।

Advertisement

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले सवारी साधनको अभावका बाबजुद पनि उत्कृष्ट सेवा प्रदान गरिरहेको नेपाल प्रहरीलाई अब समयानुकूल परिष्कृत गर्दै लैजानुको विकल्प नरहेको बताए । उनले भने, ‘प्रहरी इकाईहरुको स्तरवृद्धि एवं स्रोत साधनमा आत्मनिर्भर बनाउन गण्डकी प्रदेश सरकार तत्पर छ ।’ उनले मोटरसाइकल हस्तान्तरण पश्चात प्रहरी सेवा प्रवाहमा थप सहजता आउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले विकासको मुख्य आधार नै शान्ति सुरक्षा भएकाले प्रदेश अन्तर्गतको शान्ति सुरक्षालाई थप मजबुत बनाउन मोटरसाइकल दिइएको बताए ।

Advertisement

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले उपलब्ध स्रोत साधनको भरपुर सदुपयोग गर्दै प्रदेश अन्तर्गतको शान्ति सुरक्षा अझ मजबुत बनाउन प्रदेश प्रहरी सदैव कटिवद्ध रहने उल्लेख गरे ।

तपाईको प्रतिक्रिया