कास्कीमा पहिलाे पटक डार्टिङ गरी चितुवा नियन्त्रण

समाधान संवाददाता २०७६ साउन ३ गते १२:२३

समाधान संवाददाता
पोखरा

पोखरा १६ सिप्लेकुनास्थित स्थानीय सोभितबहादुर केसीको कुखुरा फार्मबाट १ चितुवालाई नियन्त्रणमा लिइएको छ । झन्डैं ५ हजार भन्दा बढी कुखुरा रहेको उक्त खोरमा मंगलबार राती चितुवा पसेपछि नियन्त्रणमा लिन चितवन राष्ट्रिय निकुञ्जबाट ४ जनाको प्राविधिक टोली पोखरा बोलाइएको थियो ।

प्राविधिक टोलीले चितुवालाई डार्टिङ (बेहोस बनाउन सुइ हान्ने प्रविधि) प्रयोग गरी बुधबार दिउँसो ४ बजे नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय कास्कीका सहायक वन अधिकृत तथा सूचना अधिकारी शालिकराम पराजुलीले जानकारी दिए ।

Advertisement

नियन्त्रणमा लिइएको चितुवालाई पोखरा ३१, पचभैयामा रहेको जुलोजिकल पार्कको वन्यजन्तु उद्धार केन्द्रमा साँझ ६ बजे पुर्‍याइएको थियो । उद्दार केन्द्रमा रहेको नेचुरल केजमा चितुवालाई राखी उपचार गरिएको छ । कुखुराको खोरबाट उम्कन जालीमा बल गरेकोले चितुवाको सामान्य केही ठाउँमा चोट देखिएको छ ।

राती खोरमा चितुवाको पसेको फार्मका सञ्चालकले बुधबार बिहान मात्रै पत्तो पाएका थिए । चितुवालाई खोरमै थुनेर उनीहरुले वन कार्यालयलाई जानकारी दिएको पराजुलीले बताए ।
लगत्तै वन कार्यालयबाट सुरक्षा सहित पुगेको टोलीले खोरबाट चितुवालाई निकाल्न गरेको प्रयास असफल भएपछि डार्टिङ गर्ने टोली बोलाइएको हो ।

Advertisement

‘जर्बजस्ती चितुवालाई खोर बाहिर निकाल्दा मान्छे माथि पनि आक्रमण गर्छ भन्ने डर थियो,’ उनले भने, ‘चितवन राष्ट्रिय निकुञ्जबाट डार्टिङ गर्ने प्राविधिक र चिकित्सक बोलाएर नियन्त्रणमा लियौं ।’

चितुवा खोरमा पसेपनि गम्भीर क्षति भने नभएको बताइएको छ । कुखुरा डराएर सामान्य त्यस्तै ५÷७ वटा च्यापिएर मरेको पराजुलीले जानकारी दिए । समयमै चितुवालाई डार्टिङ गरी नियन्त्रणमा लिइएको अन्य जोखिम पनि हुन नपाएको उनले बताए । पराजुलीका अनुसार डार्टिङ गरी वन्यजन्तुलाई नियन्त्रणमा लिइएको सम्भवतः कास्कीमै पहिलो घटना हो ।

झन्डै ४ वर्ष उमेरको पोथी चितुवा रहेको पराजुलीले जानकारी दिए । विशेषगरी मध्यपहाडी बेल्टमा पाइने प्रकृतिको चितुवा रहेको वन कार्यालयले जनाएको छ । वन क्षेत्रमा आहार कम भएपनि पछिल्लो केही समययता पोखरा बजार क्षेत्रमा चितुवा पस्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया