कास्कीमा ३ अर्ब ८५ करोड खर्च भएन

समाधान संवाददाता २०७६ साउन ३ गते १२:५३

समाधान संवाददाता
पोखरा

आर्थिक वर्ष २०७५÷०७६ का लागि विनियोजित बजेट कास्कीमा ८६ दशमलव ८८ प्रतिशत खर्च भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय कास्कीको अभिलेख अनुसार २९ अर्ब ४० करोड ५६ लाख बजेटमध्ये २५ अर्ब ५४ करोड ६८ लाख रुपैयाँमात्रै खर्चिएको हो ।

संघीय सरकार मातहतका करिब ९० वटा कार्यालयका लागि विनियोजित बजेटको १३ दशमलव १२ प्रतिशत अर्थात् ३ अर्ब ८५ करोड ८८ लाख रकम खर्च हुन सकेन ।

Advertisement

‘संघीय सरकारअन्तर्गत रहेका केही कार्यालय प्रदेशमा हस्तान्तरण भए,’ उनले भने, ‘त्यसकारण पनि केही कार्यालयको बजेट यत्तिकै रहने अवस्था रह्यो ।’ सिँचाइ, कृषि, सडक लगायतका जिल्ला इकाइ कार्यालय गत आव सुरु भएपछि मात्रै संघीय सरकारले प्रदेशलाई हस्तान्तरण गरेको थियो ।

लेखा नियन्त्रक कार्यालयका अनुसार ११ दशमलव ५६ प्रतिशत भने असारमा मात्रै खर्च भएको छ । अन्तिममा महिनामा आएर २ अर्ब ९५ करोड २९ लाख रुपैयाँ निकासा भएको कोष नियन्त्रक शिवप्रसाद पौडेलले जानकारी दिए । जसमा पुँजीगतमात्रै ५० प्रतिशत रकम खर्च भएको देखिन्छ ।

Advertisement

आर्थिक वर्ष सकिनै लाग्दा भएको ठूलो खर्चबारे कुनै पनि प्रक्रिया विपरीत नभएको पौडेलले बताए । उनले भने, ‘प्रक्रियागत रुपमै खर्च भएको छ । कतिपय काम वैशाख, जेठमै सकिने तर भुक्तानी अन्तिममा मात्रै लैजाने हुँदा पुँजीगत बजेट खर्च असारमा स्वाभाविक केही बढी देखिएको हो ।’

कार्यालयबाट आएका भुक्तानी आदेशलाई नियमानुसार असार ३१ गतेसम्म नै सदर गरिएको उनले बताए ।

कास्कीमा चालुतर्फ २३ अर्ब ९९ करोढ ९५ लाख रुपैयाँ विनियोजन भएकोमा ८९ दशमलव ८७ प्रतिशत अर्थात् २१ अर्ब ५६ करोड ७९ लाख रुपैयाँ खर्च भएको छ । पँुजीगततर्फ ५ अर्ब ४० करोड ६१ लाख रुपैयाँ विनियोजन भएकोमा ७३ दशमलव ६० प्रतिशत अर्थात् ३ अर्ब ९७ करोड ८९ लाख रुपैयाँ खर्च भएको छ ।

तपाईको प्रतिक्रिया