मुस्ताङी किसानलाई सकसः हिउँ नपरे पनि चिन्ता, बढी परे पीडा

समाधान संवाददाता २०७६ साउन ३ गते १३:५१

समाधान संवाददाता
पोखरा

हिमाली क्षेत्रका किसानलाई हिउँकै कारण साह्रै खुसी र साह्रै दुखी बनाउँछ । हिउँ नपरे पनि चिन्ता, बढी परे पीडा । हिउँ नपरे खेती लगाउनै समस्या पर्छ । खर्कहरुमा घाँस नै उम्रदैनन् । बढी हिमपातले पशु चापौया नै निलिदिन्छ । बढी हिमपातले जीवनयापनमै धक्का मार्छ । मुस्ताङी किसानका यस्तै दुख छन् ।

गएको हिउँदले लोमन्थाङका वाङ्दी गुरुङलाई विक्षिप्त बनायो । चुनजुङका वाङ्दीले पालेका ५४ वटा याक, चौरी हिमपातले मारिदियो । वाङ्दीलाई लाग्यो, ‘हिमपातले मारिदिएको याक र चौरी होइन, यो त आफ्नै सपना र खुसी हो ।’

Advertisement

‘दुध, नौनी, छुर्पी, चिज त्यही चौंरीको दुधबाट बनाउँछु । याक, चौंरीसँगै हाम्रो जीवनयापन जोडिएको छ,’ वाङ्दीले भने, ‘एउटै याकलाई १ लाख २० हजारसम्म पर्छ, पोथी चौंरी पनि ८० हजार तल पर्दैन । ५४ वटा हिमपातले खाइदिँदा कस्तो भयो होला, आफैं हिसाब गरम न ।’

ती पशु चौपायाको स्याहार पनि कम्ती गर्नु पर्दैन । महिनौंसम्म चराउन लैजानुपर्छ । गत हिउँदमा गोठ ल्याई नपु¥याउँदै परेको ठूलो हिमपातले उपल्लो मुस्ताङका धेरै किसानका चौपाया परे । गएका साल पनि हिउँले चौपाया ननिलेको होइन । तर, गत हिउँदमा मुस्ताङमा ५ हजारभन्दा बढी चौपाया हिँउले मा¥यो ।

Advertisement

वाङ्दीले १ सयभन्दा बढी याक, चौंरी पालेका थिए । आधाभन्दा धेरै हिउँले खायो । हिमाली क्षेत्रका किसानलाई हिउँदमा याक, चौंरी, घोडा, च्यांग्रा, भेडा, गाई लगायतका चौपाया जोगाउनै गाह्रो पर्छ ।

हिमपातले लोमन्थाङकै कुङ्गा गुरुङलाई कम पिरोलेन । हिमपातले उनका पनि घोडा, चौंरी र याक खाइदियो । नेपालको हिमाली भेग र तिब्बतको पठारमा विचरण गर्ने गाई नै उनीहरुजस्तै धेरैको मुख्य आम्दानी र जीवनयापनको स्रोत हो । भालेलाई याक भनिन्छ भने पोथीलाई चौँरी भनिन्छ ।

गत हिउँदमा उपल्लो मुस्ताङका किसानको याक, चौंरीमात्रै हिमपातले लगेन, तल्लो क्षेत्रका च्यांग्रा, भेंडा, गाईलाई पनि हिमपातले लग्यो । याकको मुख्य गोठ नै खर्क हो । भेडा, च्यांग्रा, घोडाका लागि किसानले गुम्ती गोठ बनाउँछन् । तर, ती घुम्ती गोठ पनि हिउँ पुरिएरै थुप्रै भेडा, च्यांग्रा मरेको थासाङका किसान महेन्द्र शेरचनको दुखेको छ । ‘हिमाली किसानका लागि हिउँ नै बरदान र कहिलेकाहीँ हिउँ नै अभिशाप बन्छ,’ शेरचनले भने ।

वाङ्दी, कुङ्गा, महेन्द्रजस्ता सयौं किसान गत हिउँदमा परेको हिमपातको मार खेपे । ‘हिमपातले पु¥याएको क्षतिको कुनै लेखाजोखा नै छैन,’ मुस्ताङका सिडिओ गंगाबहादुर क्षेत्रीले भने, ‘कुनै चौपाया हिँउमा पुरिएर मरे, कति चौपाया कठ्यांग्रिएर मरे ।’

हिमाली किसानलाई हिउँ परे पनि, पानी परे पनि घरदेखि पर खर्कहरुमा चौपायाको स्याहारमै रहनुपर्ने बाध्यता रहेको मुस्ताङ निर्वाचित सांसद इन्द्रधार बिष्ट बताउँछन् ।

हिमपातले सयौं चौपाया मरेपछि संघीय कृषिमन्त्री चक्रपाणि खनालले मुस्ताङ पुगेर किसानलाई सान्त्वना दिए, ‘पीडित किसानलाई सरकारले राहत उपलब्ध गराउने छ ।’ प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले निर्णय नै गर्‍यो, ‘हिमपातले चौपाया मरेका किसानलाई धेरथोर राहत उपलब्ध गराउने छौं ।’ माघ, फागुनमा परेको हिमपातले किसानका खुसी लुट्यो ।

संघ र प्रदेश सरकारले सँगै किसानलाई राहत उपलब्ध गराउने सल्लाह भयो । तर, संघ सरकारबाट कुनै राहतको रकम नआएपछि प्रदेश सरकार मुस्ताङ पुगेर पीडित किसानले बेहोरेको क्षतिको पीडामा मल्हम लगाएको छ ।

असार मसान्तमा मुस्ताङका पाँचै स्थानीय तहमा पुगेर कृषिमन्त्री लेखबहादुर थापा आफैंले किसानलाई राहत उपलब्ध गराए । ५४ वटा याक तथा चौंरी मरेपछि दुखी बनेका लोमन्थाङका किसान वाङ्दीले २ लाख १२ हजार रुपैयाँ राहत रकम पाउँदा दंग देखिए ।

‘यसअघि पनि याक, चौंरी त मर्थे । तर, अहिले ठूलो संख्यामा मरे,’ वाङ्दीले भने, ‘अहिलेसम्म कुनै राहत पाइएकै थिएन । क्षति ठूलो बेहोरे पनि यसपाली केही राहत रकम पाउँदा पनि खुसी मिलेको छ ।’

हिमाली क्षेत्रका किसानले आउ जाउ गर्ने र ढुवानी गर्ने साथी घोडासमेत हिमापातबाट गुमाउनु पर्‍यो । एउटा घोडाको मूल्य १ लाख वा सोभन्दा बढी पर्छ । मुस्ताङमा एउटा भेडा वा च्यांग्राको मूल्य २० देखि ३० हजार रूपैयाँ पर्छ ।

मुस्ताङ जिल्लाभरि गाउँपालिका, जिल्ला प्रशासन कार्यालय हुँदै मृत चौपायाको विवरण संकलन भएको थियो । प्रशासनबाट प्राप्त विवरणकै आधारमा प्रदेशको कृषि मन्त्रालयले झन्डै ४ सय पीडित किसानलाई करिब ५ हजार चौपायाको करिब ४९ लाख रुपैयाँ राहत उपलब्ध गराएको छ ।

‘किसानलाई क्षतिपूर्ति उपलब्ध गराएका होइनौं । किसानले ठूलो क्षति बेहोरेका छन्,’ प्रदेशका कृषिमन्त्री लेखबहादुर थापाले भने, ‘ढिलै भएपछि गाउँसम्मै पुगेर किसानको पीडामा सानै भए पनि मल्हम लगायौं ।’

मन्त्री लेखबहादुर थापामगर, मन्त्रालयका अधिकृत तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीका प्रमुखसहितको टोली गाउँ पुग्दा संकलित विवरणमै छुटेका किसानसमेत भेला भएका थिए । मन्त्रालयले अति विपन्न तर सबै चौपाया गुमाएका किसानलाई समेत थप राहत उपलब्ध गरायो ।

तपाईको प्रतिक्रिया