पोखरा रंगशालाः कृत्रिम होइन प्राकृतिक मैदान बन्ने

समाधान संवाददाता २०७६ साउन ५ गते १२:०८

अमृत सुवेदी
पोखरा

पोखरा रंगशालाको फुटबल मैदानको हप्तादिनभित्र फेरि नयाँ डिजाइन बन्ने भएको छ । असारमै सक्ने भनिएको काम खेल मैदानको डिजाइन फाइनल नहुँदा बल्ल सुरु हुन लागेको छ ।

प्राकृतिक खेल मैदान बनाउने कि सामग्री ल्याएर कृत्रिम बनाउने भन्ने विषयमा नै निर्णय हुन सकेको थिएन । राष्ट्रिय खेलकुल परिषद, युवा तथा खेलकुद मन्त्रालय र ठेकेदार कम्पनीबीच भएको शुक्रबारको बैठकले प्राकृतिक खेल मैदान नै बनाउने निर्णय गरेको थियो ।

Advertisement

‘पोखरामा प्राकृतिक खेल मैदान नै बनाउने पक्का भएको छ । आर्टिफिसियल बनाउन काम अगाडि बढिसकेको थियो । त्यसलाई क्यान्सिल गरेर अर्को डिजाइन पेस गर्न भनेका छौं,’ राखेपका सदस्य सचिव रमेशकुमार सिलवालले भने, ‘ठेकेदार कम्पनीले १ हप्ताको समय मागेको छ ।’

१० गतेभित्र प्राकृतिक खेलमैदानको पुन डिजाइन गरी पेस हुने भएको छ । ठेकेदार कम्पनी र राखेपले प्राकृतिक खेलमैदानका लागि लागतसमेत जोडेर डिजाइन पेस गर्ने छ । जतिसक्दो डिजाइन फाइनल गरेर काम अगाडि बढाउन राखेपदेखि मन्त्रालयसम्म तातेको सिलवाल बताउँछन् ।

Advertisement

खैल मैदान नै नबनेपछि पोखरामा खेलाउने भनिएको मंसिरमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतका खेल पनि हुँदैन कि भन्ने शंका उब्जिएको थियो । साग अन्तर्गतको महिला फुटबल त्यही नयाँ मैदानमा हुने छ ।

‘कात्तिक भित्र सबै काम सकेर त्यही मैदानमा महिला फुटबल खेलाउनु छ । यो पोखरा र नेपालकै प्रतिष्ठाको कुरा हो,’ राखेप सदस्य राजेश गुरुङले भने, ‘कुनै पनि हालतमा साग खेलाउन प्राकृतिक मैदान तयार पार्नै पर्ने वाध्यता छ ।’

६ महिनाभित्रै काम सक्ने गरी गत साल फागुन २६ गते पोखरा रंगशालामा फुटबल मैदानको शिलान्यास भएको थियो । शिलान्यासपछि युवा तथा खेलकुदमन्त्री जगतबहादुर विकले समयमै फुटबल मैदान निर्माण सकिने बताएका थिए ।

कृत्रिम खेल मैदान बनाउन निर्माण कम्पनीले गिटी हालिसकेको थियो । अब त्यो गिटी फेरि उठाएर माटो हाल्नुपर्ने भएको छ । माटो हालेर कात्तिकभित्र साग खेलाउन दुबो उमारी प्राकृतिक मैदान तयार पार्नु पर्ने भएको छ ।

२ मध्ये कुन बनाउने भन्ने निर्णय नहुँदै ठेकेदार कम्पनीले जोखिम मोल्दै मैदानमा गिटी हालेको यो प्रोजेक्ट हेरिरहेका पश्चिमाञ्चल खेलकुद विकास समितिका इन्जिनियर प्रमिश ताम्राकारले बताए ।

ग्लोबल टेन्डरमार्फत रंगशाला निर्माणका लागि राखेपले भारतीय कम्पनी ग्रेट स्पोर्टस् इन्फ्रा प्रालि र नेपाली कम्पनी एमए कन्सट्रक्सन प्रालिलाई निर्माणको जिम्मेवारी दिएको छ । १ अर्ब २८ करोड रुपैयाँमा निर्माण सम्झौता भएको थियो । अब यो तागतसमेत तलमाथि हुने राखेपको भनाइ छ ।

मंगिर १५ गतेबाट हुने साग खेलअन्तर्गत महिला फुटबल यही मैदानमा गर्ने भनिएको छ । पोखरामा सागका खेल खेलाएरै छाड्ने युवा तथा खेलकुदमन्त्री जगत विकले दाबी गरेका छन् । उनी भन्छन्, ‘पोखरामा सागका खेल हुन्छन् । फुटबल मैदान पनि तयार भइसक्छ ।’ छिट्टै डिजाइन पास भएर धमाधम भए सागका खेल खेलाउन सकिने ताम्राकारको भनाइ छ ।

ठेकेदार कम्पनीले २२ करोड रुपैयाँ भुक्तानी लिइसकेको छ । आर्टिफिसियल वा प्राकृतिक जे बनाए पनि हुने भन्ने खालको कुरा भएकाले आर्टिफिसियल बनाउन गिटी बिच्छ्याइएको प्रोजेक्ट म्यानेजर हरिबाबु न्यौपानेको भनाइ छ । नयाँ बन्ने पोखरा रंगशालामा १६ हजार ५ सय दर्शक क्षमताको हुने छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार बन्ने भनिएको रंगशालाको चारैतिर छानासहित प्यारापिट रहने छ । यस्तै मैदानको छेउमा सिन्थेटिक ट्रयाक रहने छ ।

विसं २०३९ बनेको रंगशालाको विशिष्ट कक्ष २०७२ सालको भूकम्पबाट क्षति पुगेको थियो । नयाँ बन्ने फुटबल मैदानमा विशिष्ट कक्षसहित चेन्जिङ रुम र कन्फ्रेन्स हलसमेत हुने छ ।

तपाईको प्रतिक्रिया