विजयपुरकाे बेलिब्रिज निर्माण अन्तिम चरणमा

समाधान संवाददाता २०७६ साउन ५ गते १२:२०

तस्बिरः ईश्वर देवकोटा

समाधान संवाददाता
पोखरा

पोखराको मुख्य बजार भित्रिने विजयपुरमा रहेको स्टिल ब्रिज (पुल) जीर्ण बनेपछि विकल्पमा राख्न लागिएको बेलिब्रिजको निर्माण अन्तिम चरणमा पुगेको छ । बेलिब्रिज फिटिङको काम सकिएलगत्तै पुलको दुवैतर्फको भागमा माटो भरेर ग्राभेल गर्ने काम हुनेछ । बाटोको उचाइ केही मिटर अग्लो स्थानमा रहेकोले बेलिब्रिजबाट सवारी सहज रुपले आउजाउ हुने बनाउन दुवैतर्फ माटो फिलिङ गर्नुपर्ने सडक डिभिजन कार्यालय पोखराका प्रमुख हरिकुमार पोखरेलले बताए ।

Advertisement

‘सडकसँगको मोड मिलाउन पुलको दुवै तर्फको भागमा माटो फिलिङ गर्ने काम सुरु भएको छ,’ डिभिजन प्रमुख पोखरेलले भने, ‘माटो भरेपछि पहिलोचरणमा ग्राभेल गर्ने र सवारी पास गराउने, त्यसको केही दिनपछि मात्रै पिच गर्ने योजना छ ।’

ग्राभेल राम्रोसँग सेट भइसकेपछि मात्रै पिच गरिने उनले बताए । हप्तादिन पछि पुल सञ्चालनमा ल्याउने गरी निर्माण कम्पनीले फिल्डमा तीव्रताका साथ काम गरेको डिभिजन प्रमुख पोखरेलले जानकारी दिए । ‘बेलिब्रिज सेटिङको काम सकिन लागेको छ । नटबोल्ट टाइट गर्न मात्रै २ दिन लाग्छ । त्यसपछि समयसम्ममा पुल छिटो सञ्चालनमा अन्य पूर्वाधारको काम सक्छौं,’ उनले भने ।

Advertisement

५० मिटर लम्बाइमा २ लेनको पुल सञ्चालनमा आउने छ । भारवहन क्षमता भने ३५ टन हुने पोखरेलले जानकारी दिए । नेपालमा सिंगल लेनको अत्यधिक प्रयोग हुँदै आएको भए पनि डबल लेनको बेलिब्रिज पहिलोपटक विजयपुरमा प्रयोगमा ल्याउन लागिएको उनले सुनाए ।

सञ्चालनमा आएको १ दसकमै स्टिल ब्रिज क्षतिग्रस्त भएपछि सडक डिभिजन कार्यालय पोखराले बेलिब्रिज राख्ने प्रक्रिया अघि बढाएको थियो । सगरमाथा÷जेजे (जेभी)ले ठेक्का पारेर गएको वैशाख २२ गते सम्झौता भई बेलिब्रिजको निर्माणको काम अघि बढेको थियो । सडक डिभिजन अन्तर्गत पूर्वको इटहरीमा थन्किएर रहेको बेलिब्रिज विजयपुरमा ल्याइ फिटिङ गरेको हो ।

कम्पनीसँग असार मसान्त भित्रमा नै बेलिब्रिजको सम्पूर्ण काम सकेर हस्तान्तरण गर्ने सम्झौता भएको थियो । निरन्तर वर्षाका कारण खोलाबाट बेस उठाउने काम प्रभावित हुँदा समयमै नसकिएको डिभिजन कार्यालयले जनाएको छ । २ करोड २० लाख रुपैयाँ लागतमा उक्त कम्पनीले बेलिब्रिजको निर्माण ठेक्का पाएको थियो । यो अस्थायी प्रकृतिको पुल हो । ठेकेदार कम्पनीले समयमै काम नसकेपछि म्याद थप गर्ने प्रक्रियामा रहेको डिभिजन प्रमुख पोखरेलले जानकारी दिए ।

जीर्ण बनेको स्टिलब्रिजबाट १० टनभन्दा माथिका गाडी ४ महिना अघिदेखि आउजाउमा रोक लगाइएको छ । मालबाहक गाडी पास गराउन खोलामा ह्युमपाइप राखी डाइभर्सन गरिएको छ ।

तपाईको प्रतिक्रिया