रुपाको सडक नीतिः नयाँ नखन्ने, भएका पिच गर्ने

समाधान संवाददाता २०७६ साउन ५ गते १३:४७

समाधान संवाददाता
पोखरा

तत्कालीन राजा महेन्द्र शाह जीप चढेर गाउँ पुगेको सडक गएको वर्षमात्रै पिच गर्न शिलान्यास हुँदा रुपा गाउँपालिका देउरालीवासीले बाजा बजाएर खुसी मनाए । बाटो खुलेको ६३ वर्षपछि गएको साउनमा पिच गर्न थालिएपछि रुपा र लमजुङदेखि पोखरासम्म आउजाउ गर्नेहरु उत्साही बने । अहिले त्यो बाटो धमाधम पिच भइरहेको छ । शिशुवा–पोल्याङटार अन्तर्गत १६ किलोमिटर लामो यो सडक पिच भएपछि लमजुङको पश्चिमी क्षेत्र पुग्न ३७ किमी छोटो पर्ने छ ।

निर्माण सुरु भएको लामो समय बितिसक्दा पनि ओटासिल गर्ने कामले गति नलिएपछि रुपाकोट–थुम्की सडक भएर आउजाउ गर्ने जनता वाक्क थिए । कहिले दबदबे हिलो त कहिले मान्छे नै नचिचिने गरी उड्ने धुलो । १३ किलोमिटर सडक ओटासिल हुन लामो समय लागेको सडक स्थानीय तहमा जनप्रतिनिधि आएपछि भएको खबरदारी र निगरानीले जनतालाई राहत दियो । अहिले त्यो सडक पक्की बनेपछि स्थानीयलाई सहज छ । निर्माण सम्पन्न भएको केही समयमै ओटासिल उप्किएपछि स्थानीय सरकारले ठेकेदारलाई तत्काल मर्मत गर्न लगाए ।

Advertisement

गाउँमा जालोसरी फैलिएका सडक बर्खा लागेपछि बन्द नै हुने अवस्थाबाट सेवाग्राही वाक्क थिए । संघीयतापछि रुपा गाउँपालिकामा जनप्रतिनिधि आएपछि भने सडकको स्तरोन्नति र मुख्य सडक धमाधम पिच हुन थालेका छन् ।

१ मिटर पनि पिच नभएको रुपा गाउँपालिकामा स्थानीय सरकारका जनप्रतिनिधि आएपछि २ वर्षमै १३ किलोमिटर सडक पिच भइसकेको छ भने झन्डै ५० किलोमिटर सडक पिच भइरहेका छन् । स्थानीय सरकार बनेपछि अन्य विकाससँगै गाउँगाउँ पक्की सडक पुगिरहेका छन् ।

Advertisement

रुपा गाउँपालिकाले यो आर्थिक वर्षमा नयाँ ट्रयाक नखोल्ने निर्णय गर्दै भइरहेका मुख्य सडक पिच तथा स्तरोन्नति गर्ने नीति नै लिएको छ । रुपामा पक्की रिङरोड निर्माणाधीन छ । बेगनासदेखि लमजुङको भोर्लेटार जोड्न सडक पिच भइरहेको छ । फालभञ्ज्याङ –चिसापानी सडक पनि पक्की बनिरहेको छ । रुपा गाउँपालिकामा शुक्रबार फेरि अर्को सडक पिच गर्ने कामको थालनी गरिएको छ ।

१५ महिनाभित्रै सक्ने गरी रामकोट रामदी सडक पक्की बन्ने भएको हो । ग्रामीण क्षेत्रमा विश्व बैंकको कार्यक्रममार्फत ओटासिल गरिएका सडक देशका विभिन्न ठाउँमा जस्तै रुपमा पनि कमसल नै देखियो । सस्तो प्रविधि भनिएको ओटासिल कमसल भएपछि टिकाउ पक्की सडक बनाउन रुपाले अस्पाल्ट प्रविधिबाट नयाँ सडक पिच गन थालेको हो ।

२ वर्षअघि ट्रयाक खोलिएको सडक ७ करोड ३५ लाख रुपैयाँको लागतमा पक्की हुँदैछ । ५ किलोमिटर र ६ मिटर चौडाईको एकतर्फी ढलसहितको यो सडक गाउँपालिका र स्थानीय विकास साझेदारी कार्यक्रममार्फत बन्न लागेको हो ।

सडकको शिलान्यास गर्दै प्रतिनिधि सभा सांसद खगराज अधिकारीले भने, ‘स्थानीय तहमा जनप्रतिनिधि नआउँदासम्म रुपा गाउँपालिकामा १ मिटर पनि पिच थिएन । अब कुन बाटो पिच छैन भन्ने अवस्था आइसक्यो ।’ ‘अस्पाल्ट’ प्रविधिबाट पिच हुन लागेको यो सडक गाउँपालिकाहरु मध्येकै राम्रो बाटोमा पर्ने सांसद अधिकारीको भनाइ थियो ।

प्रदेश सांसद दीपक कोइरालाले गाउँमा धमाधम सडक पिच हुने र अन्य सुविधा पनि पुगिरहेको बताए । गाउँमा सुविधा पुग्ने तर मान्छे धमाधम सहर झर्ने भइरह्यो भने विकासको अर्थ नहुने उनको भनाइ थियो । ‘गाउँगाउँमा स्तरीय सडक पुग्ने तर उपयोग गर्ने मान्छे नै गाउँमा नहुने हो भने यो विकासको के काम ?’ कोइरालाले भने, ‘यही बाटो भएर झर्नेहरुलाई अब गाउँमै रोक्न सक्नुपर्छ ।’

सबै खाले सुविधा गाउँसम्म पु¥याउने, सहरबाट बिस्तारै गाउँ फर्काउने र कम्तिमा गाउँमा रहेकालाई गाउँमै राख्ने अभियानमा आफू लागेको रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा बताउँछन् ।

‘पूर्वाधार विकास, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य गाउँपालिकाको प्राथमिकता हो,’ अध्यक्ष ओझाले भने, ‘पहिलेजस्तो जहाँ पनि बजेट हाल्ने, सडकको नयाँ ट्रयाक खोल्ने र फेरि उस्तै हुने काम हामी गर्दैनौं । सम्पन्न हुने र परिणाममुखी हुने गरी बजेट केन्द्रित गरेका छौं ।’ ५ वर्षभित्र पालिकाका प्रमुख सडकहरु पिच भइसक्ने ओझाको विश्वास छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु पोखरेल धेरै विकास निर्माण ठेकेदारकै कारण ढिलाई हुने र अलपत्रसमेत पर्ने गरेकोप्रति इंगित गरे । ठेकेदारले समयमै काम गरिदिने हो भने विकासले गति लिने उनको भनाइ थियो ।

खड्का कृष्ण वाइवा एन्ड लामा जेभी निर्माण कम्पनीका ऋतेश गुरुङले १५ महिनामा सक्नुपर्ने काम १२ महिनामै सकेर हस्तान्तरण गर्ने प्रतिवद्धता जनाए । ‘गाउँपालिका र यहाँका जनताको साथ मिल्यो भने १२ महिनामै निर्माण सकेर हस्तान्तरण गरेर फर्किन्छु,’ ऋतेशले भने ।

तपाईको प्रतिक्रिया