यार्सागुम्बा र जिम्बुसहित १० जना पक्राउ

समाधान संवाददाता २०७६ साउन ७ गते १४:२७

एसके थकाली, मुस्ताङ

मुस्ताङको थासाङ २ कोवाङ प्रहरी चेक पोस्टले शनिबार दिउँसो ७६ केजी जिम्बु र १ सय ८९ पिस यार्सागुम्बा बरामद गरेको छ । चेक पोस्टमा चेकजाँचका क्रममा मुस्ताङबाट ग १ ख ६४७९ नम्बरको जिपमार्फत बेंसीतर्फ लैजादै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्याकेजिङ गरिएको जिम्बु ४ बोरा र ३ वटा प्लाष्टिकको बट्टामा राखिएको यार्सागुम्बा प्रहरीले बरामद गरेको छ । पक्राउ पर्नेमा सुनसरी जिल्ला धरान नगरपालिका ११ का साजन राई, सन्तोष राई, दीपक राई, धनराज राई, नवीन राई, सागर राई, विमल राई, प्रेम राई, अर्जुन राई र शिवराज राई छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा बुझाइएकोमा जिल्ला प्रहरीले एक्याप मुस्ताङलाई जिम्मा लगाएको सूचना अधिकारी राजेन्द्रप्रसाद रेग्मीले जानकारी दिए ।

Advertisement

एक्याप जोमसोमका कार्यालय प्रमुख तुलसी दाहालले पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, अन्नपूर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय पोखरामा बुझाउने बताए । उनका अनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार आवश्यक कारबाही अघि बढाइनेछ ।

जडीबुटी तथा वन पैदावारजन्य सामग्री १ जिल्लाबाट अर्को जिल्लामा लैजान अन्नपूर्ण संरक्षण आयोजना अन्तर्गतको संरक्षण व्यवस्थापन समितिको छोडपुर्जी आवश्यक पर्छ । छोडपुर्जी लिँदा समितिले तोके बमोजिमको शुल्क तिनुपर्ने हुन्छ । मुस्ताङ संरक्षित जिल्ला भएकाले बिना अनुमति जडीबुटी तथा वनपैदावार ओसारपसार गर्न पाइँदैन ।

Advertisement

तपाईको प्रतिक्रिया