तनहुँमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता शुरु

समाधान संवाददाता २०७६ साउन ७ गते १४:३१

कृष्ण न्यौपाने
दमौली

राष्ट्रिय परिचयपत्र वितरणका लागि तनहुँ जिल्लामा विवरण दर्ता शुरु भएको छ । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानको तस्वीर खिचेर जिल्लामा सोमबारदेखि परिचयपत्र वितरणका लागि विवरण संकलन सुरु भएको हो ।

जिल्ला प्रशासन कार्यालय तनहुँमा स्थापना गरिएको फिल्ड कार्यालयमा उपस्थित भएर मन्त्री चुमानले आफ्नो व्यक्तिगत विवरण, तस्वीर, हस्ताक्षर, औलाछाप लगायतका विवरण गरेका छन् । मन्त्री चुमानसँगै जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले र व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेको पनि विवरण दर्ता गरिएको छ ।

Advertisement

विवरण दर्ता सुरुआत कार्यक्रममा मन्त्री चुमानले परिचयपत्र वितरणको प्रक्रिया सुरु हुनु खुसीको कुरा भएकोले यसलाई तीव्र गतिमा सञ्चालन गर्नुपर्नेमा जोड दिए । मुलुक आधुनिक प्रविधितर्फ अघि बढिरहेकोले पुराना सोच र शैलीलाई विस्थापित गर्न र मुलुकमा सुशासन र समृद्धि कायम गर्न राष्ट्रिय परिचयपत्रले सहयोग पु¥याउने मन्त्री चुमानले बताए ।

जिल्ला समन्वय समितिका प्रमुख वाग्लेले छिटो भन्दा छिटो यो प्रक्रिया सम्पन्न गरेर परिचयपत्र वितरण गर्नुपर्ने जोड दिए । व्यास नगरपालिकाका प्रमुख न्यौपानेले राष्ट्रिय परिचयपत्रले सम्पूर्ण विवरण एकीकृत गर्न सहयोग पुग्ने बताए ।

Advertisement

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले विवरण दर्ताको प्रकृया, यसको फाइदा र महत्वको बारेमा जानकारी गराएका थिए । प्रजिअ पण्डितका अनुसार परिचयपत्रका लागि आवेदन फाराम भर्दा १६ वर्ष उमेर पुगेका र नेपाली नागरिकताको प्रमाणपत्र पाएका नागरिकले नामथर, जन्ममिति, लिङ्ग, आमाबाबुको नाम, ठेगाना, नागरिकताको किसिम, पति र पत्नी नाम, बाजेको नाम उल्लेख गर्नुपर्छ । यस्तै फारममा औंलाछाप (१० वटा), आँखाको नानी, तस्वीर, राष्ट्रियता र हस्ताक्षर उपलब्ध गराउनुपर्छ ।

जिल्ला प्रशासन कार्यालयमा स्थापना गरिएको फिल्ड कार्यालयमा विवरण दर्ताका लागि तीन जना कर्मचारी परिचालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी दिए । चालु आर्थिक वर्षमा सबै स्थानीय तहका वडासम्म पुगेर विवरण संकलन गरिने उनले बताए ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले पहिलो चरणमा पाँचथर र सिंहदरबारस्थित राष्ट्रसेवक कर्मचारी गरी एक लाख १७ हजारलाई परिचयपत्र वितरण गरेको छ । साउनदेखि प्रदेश नं १ का झापा र सङ्खुवासभा, प्रदेश नं २ का सप्तरी र महोत्तरी, प्रदेश नं ३ का ललितपुर, रसुवा र चितवन, गण्डकी प्रदेशका तनहुँ र स्याङ्जा, प्रदेश नं ५ का कपिलवस्तु र गुल्मी, कर्णाली प्रदेशका सल्यान र जुम्ला तथा सुदुरपश्चिम प्रदेशका अछाम र कञ्चनपुरमा राष्ट्रिय परिचयपत्र वितरणका लागि विवरण सङ्कलन शुरु भएको छ ।

नेपाल सरकारबाट नेपाली नागरिकलाई प्रदान गर्ने सेवासुविधालाई राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध गर्नाका साथै उक्त प्रणालीबाट प्राप्त हुने तथ्यांक तथा अभिलेख नीति एवं योजना निर्मँणमा प्रयोग हुनेछ । यसले व्यक्तिको राष्ट्रिय पहिचानपत्र र मतदाता परिचयपत्रका रुपमा काम गर्ने सबै किसिमका सार्वजनिक सेवा प्राप्त गर्ने आधार दिनेछ । सामाजिक सुरक्षा कार्डका रुपमा यही कार्ड प्रयोग हुनेछ । यसले सुरक्षा व्यवस्थापनका लागि सहयोगी अभिलेखको काम गर्नेछ ।

अन्य सार्वजनिक सेवासँग राष्ट्रिय परिचयपत्र प्रणालीलाई आबद्ध गरेपछि सार्वजनिक सेवा प्रदायक निकायले झन्झटरहित, छोटो समय र कम लागतमा सेवा प्रदान गर्न सम्भव हुनेछ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जन्म, मृत्यु, बसाइँसराइ तथा अन्य कारणबाट व्यक्तिगत सूचनामा परिवर्तन भएमा सोही अनुसारको अभिलेख व्यवस्थापन गर्ने प्रणालीको स्थापना तथा विकास गरेको छ ।

राष्ट्रिय परिचयपत्र नम्बर र राष्ट्रिय परिचयपत्रलाई बहुउपयोगी प्रणालीका रुपमा सरकार र सरकारबीच (जिटुजी), सरकार र व्यवसायीबीच (जिटुबी) र सरकार र नागरिकबीच (जिटुसी) सेवा प्रदान गर्न उपयोग हुनेछ ।

तपाईको प्रतिक्रिया