गाेरखामा ६८८ नयाँ उद्योग

समाधान संवाददाता २०७६ साउन ७ गते १४:५१

मोहसिन अली मियाँ
गोरखा

यस वर्ष गाेरखा जिल्लामा ६ सय ८८ वटा उद्योग दर्ता भएका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा सञ्चालन हुने गरी आर्थिक वर्ष २०७५÷६६ मा ६ सय ८८ वटा उद्योग घरेलु तथा साना उद्योग विकास समिति गोरखामा दर्ता भएका हुन् ।

उत्पादनमुलकमा ५० उद्योग छन् । यसमा पाउरोटी, ग्रिल, ब्लक, कपास, हस्तकला, लगायतका पर्छन् । पर्यटनमूलकमा १ सय ३३ छन् । जसमा होटल लगायतका व्यवसाय पर्र्ने उद्योग छन् । सेवामूलक उद्योगमा १ सय वटा दर्ता भएका छन् । यसमा यातायात, कन्ट्रक्सन, राइस मिल, साइबर, वर्कसप लगायत छन् ।

Advertisement

यस वर्ष जिल्लामा सबैभन्दा बढी कृषि तथा वन्यजन्तुमूलक उद्योग दर्ता भएका छन् । जसमा बाख्रा फार्म, कुखुरा फार्म, मौरीपालन लगायत पर्छन् । यस वर्ष जिल्लामा उर्जामूलक उद्योग भने दर्ता भएनन् । यी उद्योगमा ५८ करोड ५७ लाख ४८ हजार ४ सय ४४ रुपैयाँ लगानी भएको कार्यालयले जनाएको छ ।

यस वर्ष खुलेका उद्योगमध्ये पुरुषको दाँजोमा महिलाका नाममा धेरै उद्योग दर्ता भएका छन् । ३ सय ५० महिलाका नाममा उद्योग दर्ता हुँदा ३ सय ३८ जना पुरुष यस वर्ष उद्यमी बनेका छन् । अब जिल्लामा साना उद्योगको संख्या ४ हजार २ सय ३२ पुगेको छ । गत वर्ष ६ सय ८६ उद्योग खुलेका थिए । यस वर्ष बाणिज्यतर्फ ४ सय ९९ व्यवसाय दर्ता भएका छन् ।

Advertisement

कार्यालयले आर्थिक वर्ष २०७५÷७६ मा १ करोड ४ लाख १६ हजार ८ सय ५० रुपैयाँ आम्दानी गरेको छ । उद्योग, व्यवसाय, दर्ता, नवीकरण, पुँजी वृद्धि, ठाँउसारी, नामसारी लगायतका शीर्षकमा गरी यस वर्ष सो रकम बराबरको राजश्व संकलन भएको कार्यालयले जनाएको छ । यो अघिल्लो सालको भन्दा ४० लाख बढी हो । यस वर्ष दर्ता, नवीकरण, ठाउँसारी, पुँजी वृद्धि लगायतका कार्य बढेकाले राजश्वसमेत बढेको प्रमुख राउतले बताए । अघिल्लो साल ६४ लाखमात्रै राजश्व संकलन भएको थियो ।

तपाईको प्रतिक्रिया