एउटै नगरमा २ उद्योग वाणिज्य संघ

समाधान संवाददाता २०७६ साउन ७ गते १५:३८

राजन उपाध्याय
दुलेगौंडा

एउटै नगरमा २ वटा संघ स्थापना भएका छन् । शुक्लागण्डकी नगरपालिकामा २ हप्ताको अन्तरालमा शुक्लागण्डकी उद्योग वाणिज्य संघ र शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका हुन् । दुबैले आफू आधिकारिक भएको दाबी गरेका छन् ।

शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले सोमबार दुलेगौैंडामा पत्रकार सम्मेलन गरी वसन्त ज्वारचनको अध्यक्षतामा गठित तदर्थ समिति नै दुलेगौंडा र खैरेनीटारको आधिकारिक संघ भएको दाबी गरेको हो । दुबै बजार इकाइका सदस्य स्वतः नगर उद्योग वाणिज्य संघको सदस्यता रहने संघले जनाएको छ । सिमित व्यक्तिको निहित स्वार्थका लागि शुक्लागण्डकी उद्योग वाणिज्य संघ गठन भएको भन्दै उनीहरुले भ्रममा नपर्न आग्रहसमेत गरे ।

Advertisement

पत्रकार सम्मेलनमा उपस्थित तनहुँ उद्योग वाणिज्य संघका कावा अध्यक्ष बैकुण्ठनाथ मिश्रले विधि मिचेर व्यक्तिगत स्वार्थका लागि उद्योग वाणिज्य संघ गठन भएको दाबी गरे । ‘गैर व्यवसायी साथीहरुलाई राखेर संस्था गठन भएको छ,’ उनले भने, ‘भेला नै नगरी संघ गठन गर्नुको उद्देश्य के हो ? यहाँ केही न केही स्वार्थ लुकेको छ ।’ वितरक महासंघका केन्द्रीय सदस्य मंगलप्रसाद श्रेष्ठले एउटै नगरमा २ वटा संस्था भए व्यवसायिक एकतामा बाधा पुग्ने बताउँदै वार्तामार्फत समाधान गर्न आग्रह गरे । उनले यहाँका दुबै इकाइ खारेज भई नगरमा समायोजन भएको जानकारी दिए ।

तनहुँ उद्योग वाणिज्य संघका महासचिव इमकुमार मल्लले हारको मानसिकताबाट संस्था दर्ता गरेको आरोप लगाए । नगर उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त ज्वारचनले नगरमा २ वटा नगर उद्योग वाणिज्य संघ हुन नसक्ने भन्दै वार्ताबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिए । ‘हामीले विवाद समाधानका लागि अनौपचारिक रुमा छलफल गरिरहेको छौं,’ उनले भने, ‘तर उहाँहरु हरिकुमार श्रेष्ठलाई नै अध्यक्ष बनाउने शर्त लिएर आउनुहुन्छ । त्यसैले कुरा मिल्न नसकेको हो ।’ संघका द्वितीय उपाध्यक्ष हरि खड्काले सर्तसहितको वार्ता हुन नसक्ने उल्लेख गरे ।

Advertisement

नगरपालिका गठन भएको आधा दशक बितिसक्दासमेत नगरमा उद्योग वाणिज्य संघ गठन हुन सकेको थिएन । नगर स्थापना भएसँगै २०६८ सालदेखि नगर उद्योग वाणिज्य संघ गठन गर्नुपर्ने आवाज उठ्दै आएको थियो । दुबै इकाइबीच पटक पटक छलफलसमेत भएको थियो । तर सहमति हुन सकेको थिएन । नगरका मेयर किसान गुरुङले व्यवसायीका सार्वजनिक कार्यक्रममा समेत नगर उद्योग वाणिज्य संघको आवश्यकता औंल्याउँदै आएका थिए ।

हरिकुमार श्रेष्ठको अध्यक्षतामा गत असार ६ गते शुक्लागण्डकी उद्योग वाणिज्य संघको तदर्थ समिति जिल्ला प्रशासन कार्यालय तनहुँमा दर्ता भएको थियो । प्रमाणपत्र पाएको ५ दिनपछि असार ११ गते पत्रकार सम्मेलन गरी ११ सदस्यीय तदर्थ समिति सार्वजनिक गरियो । व्यसायीको भेलाबिना नै तदर्थ समिति बनाइएको भन्दै दुलेगौंडा र खैरेनीटार इकाइले असार १३ गते विशेष भेला आह्रान गरे । सो भेलाले वसन्त ज्वारचनको नेतृत्वमा शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ तदर्थ समिति निर्माण गरेकोे हो । ज्वारचन नेतृत्वको संघले असार ३१ गते जिल्ला प्रशासनमा दर्ता भई प्रमाणपत्र प्राप्त गर्‍यो । यसअघि असार २९ गते शुक्लागण्डकी उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशबाट सदस्यताको प्रमाणपत्र बुझेको थियो । संघ गठन भएपछि दुबै संघबीच आरोप प्रत्यारोप चल्दै आएको छ ।

तपाईको प्रतिक्रिया