विकास भनेकै सडक

समाधान संवाददाता २०७६ साउन ८ गते १२:५२
s curve road

समाधान संवाददाता
पोखरा

सडक नपुगेको सायदै गाउँ होला । गाउँ गाउँसम्म सडकको जालो फैलिएको छ । सडकको यस्तो जालो, जहाँ सरकारको ठूलो लगानी फसेको छ । हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुने सडक दीर्घकालीन छैनन् । जमीन छियाछिया बनाउँदै भइरहेको सडक क्रान्ति अझै रोकिएको छैन ।

गण्डकी प्रदेश सरकारले प्रदेश राजधानीदेखि पालिकाको केन्द्रसम्म र पालिकाको केन्द्रदेखि वडाको केन्द्रसम्म ५ वर्षभित्रमा सडक खोलिसक्ने नीति लिएको छ । १ निर्वाचन क्षेत्र १ सडक कार्यक्रम लागु भइरहेको छ । १ जिल्लादेखि अर्को जिल्ला सडकलाई रणनीतिक माग मानेर योजना कार्यान्वयनको चरणमा छ । प्रदेश सरकारले अहिले यी चारै खाले सडकलाई प्रादेशिक लोकमार्ग मानेर पिच गर्ने नीति लिएको छ ।

Advertisement

गण्डकी प्रदेशभित्र अहिले ९ सय ३७ किमी पिच सडक छ । प्रादेशिक लोकमार्गका रुपमा प्रदेशभरि छरिएका सडक पिच गर्दै ५ वर्षमा पिच सडकको दुरी ३ हजार ४ सय ५० किमी पुर्‍याउने पञ्चवर्षीय योजनाको आधार पत्रमा उल्लेख छ । प्रदेशको नीति तथा योजना आयोगले आइतबार सार्वजनिक गरेको पञ्चवर्षीय योजनाको आधार पत्रअनुसार अबको १० वर्षमा गण्डकी प्रदेशभित्र ६ हजार ९ सय ५० किलोमिटर सडक पिच भइसक्ने छ ।

विस २१ सयसम्म प्रदेशभित्र १२ हजार किलोमिटर सडक पिच हुने र त्यसले जनताको आर्थिक वृद्धिदर, प्रतिव्यक्ति आय, कुल ग्राहस्थ उत्पादनमा सघाउ पु¥याउने दीर्घकालीन लक्ष्य राखिएको योजना आयोगका उपाध्यक्ष डा. गिरिधारी शर्माले बताए ।

Advertisement

संघ सरकारले राष्ट्रिय लोकमार्गका रुपमा विभिन्न सडकको योजना अगाडि सारिरहेको छ भने प्रदेशले ४ प्रकारका सडकलाई प्रादेशिक लोकमार्गको नाम दिएको हो । १५ औं राष्ट्रिय पञ्चवर्षीय योजनालाई पछ्याउँदै प्रदेशले लक्ष्य प्राप्तिको प्रमुख आधार सडकलाई मानेर लगानी केन्द्रित गर्ने नीति लिएको छ ।

लोकमार्ग सडक पिच गर्ने त्यहाँसम्म अन्य विकासका संरचना पु¥याउने आयोग उपाध्यक्ष शर्माको भनाइ छ । मुख्य ८ सडकलाई प्रदेश विकासको मेरुदण्डका लिइएको छ । जसलाई ‘विकास अक्ष’ नाम दिइएको छ । संघीय सरकारले बनाइरहेको र प्रदेश सरकारले समृद्धिको आधार मानेका यिनै मुख्य ८ सडककै वरिपरि अबको विकास र पूर्वाधार केन्द्रित हुने योजना आयोगका उपाध्यक्ष शर्माले बताए ।

‘रुपान्तरणकारी तिनै सडकका वरिपरि नयाँ बस्ती निर्माण हुनेछ । तिनै सडकका वरिपरि औद्योगिक क्षेत्र स्थापना हुने छ,’ योजना आयोगका उपाध्यक्ष शर्माले भने, ‘जसले प्रदेशको विकासलाई सन्तुलित बनाउने छ ।’

मुग्लिनदेखि दमौली–पोखरा–कुश्मा हुँदै बागलुङ बुर्तिवाङसम्म पुग्ने सडकलाई प्रदेशले विकस अक्षको रुपमा लिएको छ । बहुचर्चित आयोजना कोरलादेखि पोखरा र पोखरादेखि भीमाद हुँदै दुम्किवास त्रिवेणी सडकलाई प्रदेशको अर्को विकास र समृद्धिको आधार मानिएको उपाध्यक्ष शर्माले बताए । पोखरा रिङरोडसहित यस्ता ८ सडकले आर्थिक वृद्धिदर, आय, उत्पादन बढाउँदै गरिबी, बेरोजगारी घटाउँदै रोजगारीका अवसर सिर्जना गर्ने उनको भनाइ थियो ।

पोखरा महानगर वरिपरिका पुतलीबजार, कुश्मा, मादी, मध्यनेपाल र शुक्लागण्डकी जस्ता साना स्याटलाइट सहरको रुपमा विकास गर्ने र रिङरोड विकास अक्ष बन्ने पञ्चवर्षीय योजनाको आधार पत्रमा छ । ‘अन्य विकासलाई बिस्तार र निर्माण गर्न पनि सडक नै चाहिने रहेछ । सरकारको ठूलो लगानी सडकमै छ,’

प्रदेशका ‘विकास अक्ष’ ८ सडक
१.मुग्लिङ—दमौली—पोखरा—कुश्मा—बाग्लुङ–बुर्तिबाङ
२. पोखरा—पुतलीबजार—वालिङ—गल्याङ—चापाकोट
३. कोरला—जोमसोम—बेनी—कुश्मा—पोखरा—भीमाद—दुम्कीबास—त्रिवेणी
४. अर्मादी–सेतीबेनी–रुद्रबेनी–मिर्मी–गल्याङ—चापाकोट–देउघाट–गैंडाकोट—काबासोती शालिग्राम सांस्कृतिक मार्ग
५. डुमे्र—बेसीसहर—धारापानीे–रुइला भन्ज्याङ
६. बेनीघाट—आरुघाट—सिद्धिबास—सानागाउँ—रुइला भन्जाङ
७. पोखरा रिङरोड
८. पोखरा महानगर वरिपरिका पुतलीबजार, कुश्मा, मादी, मध्यनेपाल र शुक्लागण्डकी जस्ता साना स्याटलाइट शहरको रुपमा विकास हुने दोस्रो रिङरोड

तपाईको प्रतिक्रिया