देशभरि वर्षा, यस्ताे छ आगामी तीन दिनकाे माैसम पुर्वानुमान

समाधान संवाददाता २०७६ साउन ८ गते १३:२४

समाधान संवाददाता, काठमाडाैं

मनसुनको न्यून चापीय रेखा तराईनजिकै रहेकाले देशभरि वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलबार राति देशको पश्चिमी क्षेत्रमा धेरै वर्षा भएको छ। काठमाडौं उपत्यकासहित देशका मध्यक्षेत्रमा भने बुधबार पनि वर्षा जारी छ।

Advertisement

वर्षाका कारण देशभरका हवाइ सेवा समेत प्रभावित भएको छन् । काठमाडौं विमानस्थलले दिएको जानकारी अनुसार अहिले देशका विभिन्न विमानस्थलहरु वर्षाका कारण बन्द भएका छन् । अन्तर्राष्ट्रिय उडान नियमित भएपनि आन्तरिक उडान भने प्रभावित भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रताव तिवारीले दिएको जानकारीअनुसार अहिले चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, लुक्ला,भरतपुर र पोखरालगायतका  विमानस्थल बन्द भएका छन्।

Advertisement

‘आज दिनभरि नै पानी पर्छ। बिहीबार अलि कम भए पनि शुक्रबारबाट मात्र मौसममा सुधार हुने देखिन्छ,’ पूर्वानुमान महाशाखाका मौसमविद् वरूण पौडेलले भने।  

अबको २४ घन्टाभित्र देशका पूर्व, मध्य र पश्चिम क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना छ । ती क्षेत्रका पहाडी भू-भागमा पहिरो जान सक्ने तथा पहाड तथा चुरेबाट बहने खोलाहरुमा जल सतह हल्का बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

८ गते (बुधबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही देशका अधिकांश स्थानहरुमा वर्षा हुनेछ। देशको थोरै स्थानहरुमा भारी वर्षा हुने सम्भावना छ।

राती: देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानहरुमा वर्षा हुनेछ। देशका थोरै स्थानहरूमा भारी वर्षा  हुने सम्भावना छ।

९ गते (बिहीबार)

दिउँसो: देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुनेछ। । देशको पश्चिम तथा मध्यका एक वा दुई स्थानहरुमा भारीको सम्भावना रहेको छ ।

राती: देशभर सामान्य बदली रहि केही स्थानहरुमा वर्षा हुनेछ |

१० गते (शुक्रबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुनेछ।

राती: देशभर सामान्य बदली रहि केही स्थानहरुमा वर्षा हुनेछ।

तपाईको प्रतिक्रिया