पटाकाको मापदण्ड बनाऊ

समाधान संवाददाता २०७६ साउन ८ गते १३:५९

नयाँ वर्ष होस् या कुनै रंग रमाइलोको क्षण । मनोरञ्जनका लागि पटाका पट्काउने चलन बढेको छ । छिमेकी मुलुक भारतमा खासगरी तिहारको बेलामा पटाका बढी नै पट्काउने गरिन्छ । त्यसको सिको नेपालमा पनि भयो । गुणस्तर मापन नगरिएका पटका पट्काउँदा बालबालिका घाइते मात्र भएनन् कतिको मृत्युसमेत भयो । अझ पटाका प्रयोग गरिने विस्फोटक पदार्थ र त्यसबाट निस्कने वस्तुको प्रदुषणबाट स्वास्थ्यमा पर्ने असरको बारेमा त नेपालमा अध्ययन नै भएको छैन ।

गृह मन्त्रालय र स्थानीय प्रशासनले तिहारका बेला पटाका पट्काउन रोक लगाएको छ । त्यतिबेला सीमा नाकामा समेत कडा निगरानी हुन्छ । त्यति हुँदा पनि अर्कै बाटो प्रयोग गरी नेपालमा पटाका भित्रिएकै हुन्छ र बजारमा बिक्री भएकै हुन्छ । यो त भयो बालबालिकाले प्रयोग गर्ने पटाकाको कुरा । पोखरामा अंग्रेजी र नेपाली नयाँ वर्षका बेला महोत्सव हुन्छ । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान) पोखराले अंग्रेजी र होटल संघ पोखराले नेपाली नयाँ वर्षमा महोत्सव गर्छन् ।

मौसमले पनि साथ दिने भएकाले रेबानको महोत्सव अलि जम्ने गर्छ । महोत्सवलाई आकर्षक बनाउन केही वर्षदेखि आतिसबाजी हुँदै आएको थियो । तर यसपालि आतिसबाजी हुन पाएन, पटाका पट्केनन् । उच्च अदालत पोखराको अन्तरिम आदेश पालना गर्दै रेबान पोखराले पटका पट्काएन । राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालको तर्फबाट अध्यक्ष रामबहादुर पौडेलले रिट दायर गरेका थिए । उक्त रिटको फैसलाको पूर्ण पाठ अदालतले यसै साता तयार पारेको छ । जसमा मध्यमार्ग अपनाउन निर्देशनात्मक आदेश दिइएको छ ।

Advertisement

पोखरामा पट्काइने पटाकाको गुणस्तर मापन नभएको, त्यसले पार्ने असरका बारेमा समेत कसैले अनुमान गर्न नसक्ने भएकाले मापदण्ड तयार गरेर मात्र पटाका पट्काउन अदालतले रेबान र पोखरा महानगरपालिकाका नाममा दिएको आदेशले एउटा पद्धतिको विकास गर्न खोजेको प्रस्ट हुन्छ । हो, विकसित मुलुकमा पटाका पट्काइन्छ, आतिसबाजी पनि हुन्छ । कानुनले निर्देशित गरे अनुसार त्यहाँका बासिन्दाले पटाका पट्काउँछन् । समुद्रकै किनारमा ठूलो आवाजसहितका पटाका पट्किए पनि जलचर र थलचर प्राणीलाई असर पार्दैनन् । किन कि ती पटाकाबाट निस्कने ध्वनी प्राणीका लागि सहनयोग्य हुन्छन् ।

पोखरामा पट्काउने गरिएका पटाकाले पहिलो त स्थानीय बासिन्दालाई त्रसित बनाएको थियो । फेवातालका जलचर मात्र होइन, रानीवनमा बसेका जीवजन्तुसमेत तर्सिएको भन्दै मुद्दा दायर भएकोमा अदालतले अमेरिका लगायतका देशमा भएका अभ्यासलाई समेत उल्लेख गरेर फैसलाको पूर्ण पाठ तयार पारेको छ ।

Advertisement

पर्यावरणलाई प्रतिकूल असर नपर्ने गरी माछा, चरा, लगायत अन्य जीवजन्तुका लागि सहनयोग्य ध्वनी आउने गरी आतासबाजी गर्न मात्र नभए आतसबाजी र पटाकाको गुणस्तर र ध्वनी जीवजन्तुका लागि सहनयोग्य हुनेछ भनी सरोकारवाला पक्षसँग छलफल गरी विज्ञहरुबाट असोज मसान्तसम्म अध्ययन गराउन आदेश भएको छ । अदालतले यति गम्भीर रुपमा लिएको, पर्यावरण र मानवीय जीवनसँग जोडिएको यो विषयलाई सरोकारवालाले विशेष महत्व दिएर काम गर्न जरुरी छ । अध्ययन गरी मापदण्ड तोक्न पोखरा महानगर र रेबानले अब ढिलाइ गर्नु हुँदैन ।

तपाईको प्रतिक्रिया