तनहुँमा १० हजारभन्दा बढी नागरिकता वितरण

समाधान संवाददाता २०७६ साउन ८ गते १५:०३

कृष्ण न्यौपाने
दमौली

तनहुँ जिल्लामा १ वर्षको अवधिमा १० हजार भन्दा बढी नागरिकता वितरण गरिएको छ । आर्थिक वर्ष ०७५÷७६ को अवधिमा जिल्लामा १० हजार २५ नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

वंशजको आधारमा १० हजार ५ र वैवाहिक अंगिकृतको आधारमा २० वटा नागरिकता वितरण गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए । उनका अनुसार उक्त अवधिमा ५ हजार ६ सय ७९ नागरिकताको प्रतिलिपि वितरण गरिएको छ । प्रजिअ पण्डितका अनुसार उक्त अवधिमा ४ जनाले नागरिकता परित्याग गरेका छन् भने १ जनाको नागरिकता रद्द गरिएको छ । त्यस्तै ३ सय ८४ जनालाई नाबालक परिचयपत्र वितरण गरिएको छ । कार्यालयले उक्त अवधिमा ४ हजार ९ सय ७ राहदानी वितरण गरेको छ भने ६ हजार १ सय ५ राहदानी जिल्लाबाट सिफारिस र २ हजार २ सय १९ राहदानी दु्रत सेवाका लागि सिफारिस गरेको छ ।

Advertisement

उक्त अवधिमा १ हजार २ सय ४७ आदिवासी÷जनजाति प्रमाणित, ४ सय ७१ दलित प्रमाणित, ३ हजार १ सय १९ पेन्सन सिफारिस र अन्य १ हजार १ सय ४ प्रमाणित÷सिफारिस गरिएको सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी दिए । यसैगरी १ सय ४९ नयाँ संस्था दर्ता, ७ सय २७ संस्था नवीकरण भएको छ भने १ सय ६२ हातहतियार नवीकरण र ५ नामसारी भएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ । त्यस्तै २ सय ४० जनाको तिब्बतीयन शरणार्थी परिचयपत्र नवीकरण र ६ जना शरणार्थीका लागि यात्रा अनुमतिपत्र सिफारिस गरिएको छ । सहायक प्रजिअ पौडेलका अनुसार कार्यालयमा निवेदन मार्फत् दर्ता भएको ५२ र हेल्लो सरकार मार्फत् ११ वटा गुनासो फछ्र्यौट गरिएको छ । उक्त अवधिमा २५ पटक बजार अनुगमन र ८ पटक विभिन्न स्थानीय तहमा घुम्ती शिविर गरिएको छ ।

साढे ३ करोड राजस्व संकलन
कार्यालयले उक्त अवधिमा साढे ३ करोड राजस्व संकलन गरेको छ । संस्था दर्ता तथा नवीकरण, हातहतियार नवीकरण, राहदानी दस्तुर, प्रशासनिक दण्ड जरिवाना, न्यायिक दण्ड जरिवाना लगायतबाट ३ करोड ६१ लाख ६३ हजार ५ सय ६ राजस्व संकलन भएको छ ।

Advertisement

सबैभन्दा बढी राहदानी दस्तुरबाट ३ करोड २२ लाख ५७ हजार, न्यायिक दण्ड जरिवानाबाट २५ लाख ४२ हजार २ सय ७१, संस्था दर्ता तथा नवीकरणबाट ११ लाख ३४ हजार २ सय ८०, हातहतियार नवीकरण÷नामसारीबाट ८५ हजार ३ सय ५५, प्रशासनिक दण्ड जरिवानाबाट ५ हजार र परीक्षा दस्तुरबाट १ लाख ३९ हजार ६ सय संकलन भएको छ । कार्यालयले उक्त अवधिमा ८६ दशमलव ५ प्रतिशत बेरुजु फछ्र्यौट गरेको छ । आर्थिक वर्ष ०७५÷७६ सम्म ६० लाख २० हजार १ सय १३ रहेकोमा ५२ लाख ७ हजार १ सय ९८ बेरुजु फछ्र्यौट भएको छ ।

सेवाग्राहीमैत्री बनाउन प्रयास

कार्यालयलाई सेवाग्राहीमैत्री बनाउन विभिन्न प्रयास भएका छन् । प्रजिअ पण्डितका अनुसार कार्यालय परिसरभित्र सेवाग्राहीलाई स्वच्छ खानेपानीको व्यवस्था, निशुल्क इन्टरनेटको सेवा, विश्रामस्थल र प्रतिक्षालयको व्यवस्था मिलाइएको छ ।

महिला सेवाग्राहीको आवश्यकतालाई ध्यानमा राखेर प्रशासन हाताभित्रनै स्तनपान कक्ष निर्माण गरिएको छ । सेवाप्रवाहलाई महिलामैत्री बनाउनका लागि कार्यालय परिसरभित्रै स्तनपान कक्षको व्यवस्था गरिएको प्रजिअ पण्डितले बताए । ‘कार्यालयमा काम लिएर आउने महिलासँगै स्तनपान गर्ने बच्चा हुने भएकाले सहजताका लागि स्तनपान कक्षको व्यवस्था मिलाएका छौं,’ उनले भने । महिला सेवाग्राहीको साथमा आउने साना बच्चालाई झोलुंगेको व्यवस्था गरिएको छ भने कार्यालय परिसरमा बिचौलियालाई प्रवेश निषेध गरिएको छ ।

तपाईको प्रतिक्रिया