पुष्पलाललाई गद्दार भन्नेले सार्वजनिक माफी माग्नु पर्छ

समाधान संवाददाता २०७६ साउन ८ गते १५:४३

समाधान संवाददाता
पोखरा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समितिका सदस्य तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सच्चा कम्युनिस्ट भएर रहेका पुष्पलाललाई गद्दार भन्नेले सार्वजनिक रुपमा माफी माग्नु पर्ने बताएका छन् ।

नेकपा गण्डकीका इन्चार्जसमेत रहेका गुरुङले तत्कालिन नेकपा माले बाहेकका कम्युनिस्ट पार्टीका नेताहरुले पुष्पलाललाई गद्दार भनेको उल्लेख गरे । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालको ४१ औं स्मृति दिवसको अवसरमा पुष्पलाल अध्ययन केन्द्र नेपालले मंगलबार पोखरा २१ निर्मलपोखरी फेदीपाटनमा निर्माण गरेको पुष्पलाल र बलराम उपाध्यायको शालिक अनावरण गर्दै मुख्यमन्त्री गुरुङले पुष्पलाललाई गद्दार ठान्नेले आत्मालोचना र पश्चाताप गर्नु पर्ने धारणा राखे ।

Advertisement

‘गद्दार भन्नेले आत्मालोचना नगरे पुष्पलालको शालिकमा माला लगाउने अधिकार हुदैन,’ मुख्यमन्त्री गुरुङले भने, ‘उग्रवामपन्थी भड्कावको कारण आफूलाई मात्र क्रान्तिकारी र अरुलाई गद्दार देख्ने प्रवृति हुन्छ ।’ नेपाली कांग्रेससँग मिलेर पञ्चायत फाल्नु पर्छ भन्दा पुष्पलाललाई गद्दार भनिएको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले कम्युनिस्ट र कांग्रेसको कार्यगत एकताले पञ्चायतलाई फाल्न सकिने उनको विश्लेषण सहि भएको बताए । दरबारलाई राष्ट्रवादी नमानेकै कारण उनी माथि ठूलो हमला भएको दावी गर्दै उनले पुष्पलालको नीति अन्तर्गत २०६२÷०६३को शान्तिपूर्ण क्रान्ति पूरा भएको बताए ।

फरक प्रसंगमा मुख्यमन्त्री गुरुङले नेकपामा अराजकता र अनुशासनहीनता बढेको उल्लेख गर्दै विचार र संगठन विरोधीसँग सजग रहनु पर्ने धारणा राखे । मुख्यमन्त्री गुरुङले पार्टीभित्र लुकेर बसेका अवसरवादीसँग सजग नभए पुष्पलालको जस्तो हालत व्यहोर्न पर्ने बताए । उनले नयाँ पुस्तालाई माक्सवाद, वर्गसंघर्ष लगायतका वैचारिक प्रशिक्षणको काम गर्न पुष्पलाल अध्ययन केन्द्रलाई सुझाव दिए ।

Advertisement

नेकपा कास्कीले ४१ औं पुष्पलाल स्मृति दिवसको सन्दर्भमा मंगलबार आयोजना गरेको ‘नेपालको कम्युनिस्ट आन्दोलन र कमरेड पुष्पलाल’ विषयक प्रवचन कार्यक्रममा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आधारभूत तहका जनता र गरिबीको रेखामुनी रहेका व्यक्तिको जीवनस्तरमा सुधार नभएसम्म समृद्धि हासिल गर्न नसकिने धारणा राखे ।

नेकपाका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका सहइन्चार्ज खगराज अधिकारीले पार्टीले राष्ट्रियता, जनजीविका र जनवादको लागि काम गरेको बताए । पार्टीको एकीकरण पश्चातको कार्य विभाजनको क्रममा भएका केही असन्तुष्टि स्वाभाविक भएको दावी गर्दै प्रतिनिधिसभाका सदस्यसमेत रहेका अधिकारीले पार्टी अव ठिक ढंगले अगाडि बढ्ने धारणा राखे ।

नेकपाका केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज राजकाजी गुरुङले पुष्पलाल माथि लगाइएका गंभिर आरोप कहिल्यै प्रमाणित हुन नसक्ने बताए । विचार र संगठनका दृष्टिले पुष्पलालको नेपालको कम्युनिस्ट आन्दोलनमा महत्वपूर्ण योगदान रहेको उल्लेख गरे । नेकपा कास्की र पुष्पलाल अध्ययन केन्द्रले आयोजना गरेको कार्यक्रममा पार्टीका स्थायी समिति सदस्य तथा बलराम स्मृति प्रतिष्ठानका अध्यक्ष सोमनाथ प्यासी, पार्टीका केन्द्रीय सदस्य तथा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विक, पार्टीका केन्द्रीय सदस्य तथा पोखरा महानगरका मेयर मानबहादुर जिसी, पार्टीका केन्द्रीय सदस्य तथा कास्कीका सहइन्चार्ज सीता गिरी, केन्द्रीय सदस्य तथा पुष्पलाल अध्ययन केन्द्रका महासचिव भीम कार्की, नेकपा कास्कीका अध्यक्ष कृष्ण थापा, सचिव वखानसिंह गुरुङ लगायतले बोलेका थिए ।

पार्टी जिल्ला कमिटीको आयोजना र वडा कमिटी वडा नंम्बर ७ र पुष्पलाल स्मृति पार्क व्यवस्थापन समितिको आयोजनामा मंगलबार मासबारस्थित पुष्पलाल पार्कको सरसफाइ तथा पुष्पलालको सालिकमा माल्यार्पण गरिएको थियो ।

तपाईको प्रतिक्रिया