नागरिकता काण्डले कास्कीमा ल्याएको तरंग

समाधान संवाददाता २०७६ साउन ९ गते १२:३८

समाधान संवाददाता
पोखरा

बाहिरबाट हेर्दा शान्त जिल्ला कास्कीमा बेलाबेलामा भिन्न खाले घटना सार्वजनिक भइरहन्छन् । कहिले पर्यटकको भेषमा अवैध धन्दा त कहिले लागु औषधको कारोबार । अनि कहिले बालयौन दुराचारका घटना । यस्तै घटना झेल्दै आएको कास्की प्रशासनको टाउको दुखाइ बनेको छ, २ बहिनीको नागरिकता ।

पोखरा १८ सराङकोटका लेखबहादुर थापाका छोरी बनेर जेठ २६ र असार ६ गते २ युवतीले लिएको नागरिकले अहिले कास्कीका सिडिओ चक्रबहादुर बुढा मात्र होइन, सिफारिस गर्ने वडासचिव र सर्जमिन मुचुल्का गर्ने स्थानीयको समेत तनावको विषय बनेको छ ।

Advertisement

जेठ २६ गते सरु थापा मगरका नाममा जारी भएको ४६–०१–०७६–२०३९ र असार ६ गते तासी आंगो थापामगरका नाममा जारी भएको ४६–०१–०७६–०१६३३ नम्बरका २ नागरिकता कारण जिल्ला प्रशासन कार्यालय विवादमा तानिएको छ । तिब्बती शरणार्थीको ३ वटा क्याम्प भएको कास्कीमा यस अघि पनि यस्ता विवाद नआएको होइनन् । तर यो पालिको नागरिकता विवादले चर्कै रुप लिएको छ । आवश्यक काजगात पूरा गरेर आएको अवस्थामा बाबु लेखबहादुर थापा मगर नै नै सनाखत गरेपछि जिल्ला प्रशासनले नागरिकता नदिने अवस्था नै रहँदैन । त्यही आधारमा प्रशासनले नागरिकता जारी ग¥यो ।

तर राष्ट्रपे्रमी नेपाली समूहका नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जिल्ला प्रशासन कार्यालय कास्की, हेल्लो प्रधानमन्त्री कार्यक्रम, राष्ट्रिय अन्सन्धान कार्यालय सहित पोखराका मिडियामा एउटा पत्र आयो । जसको विषय थियो ः छानबिन गरी सत्यतथ्य सार्वजनिक गरी पाउँ ।

Advertisement

जसमा लेखबहादुरले छोरी बनाएका २ युवती साँच्चिकै छोरी नभएर तिब्बती शरणार्थी भएको र लेखबहादुर र पोखरा १८ का वडाध्यक्ष रणबहादुर थापाले ठूलो आर्थिक लेनदेनसहित कागजात मिलाएको दाबी गरिएको छ । गैर नागरिकसँग आर्थिक चलखेल गरी किर्ते कागजात खडा गरी नागरिकता सिफारिस गर्ने वडाध्यक्ष र किर्ते कागज गर्ने कर्मचारी समेततलाई स्थलगत सत्यतथ्य बुझी यथाशीघ्र प्रचलित कानुन बमोजिम कारवाही गर्न उक्त पत्रमार्फत माग गरिएको छ ।

विगतमा दिनमा निकै आलोचित बनेको नागरिकता फाँटको सेवा प्रवाह सुधार भएकोमा खुसी रहेका सिडिओ बुढालाई यो पत्रले निकै दुखी बनायो । अनुमान गर्न सक्ने विषय नै थिएन । अनि नागरिकता फाँटमा रहेका अधिकृत पनि पाका भएकाले लोभमा फँस्ने र चुक्ने सम्भावना पनि कम रहेको विश्वासमा थिए उनी । नागरिकताको फाइल मगाए अनि पल्टाए । नागरिकता प्राप्त गर्न चाहिने सबै कागजात पूर्ण थिए । पहिलो, जन्म दर्ताको प्रमाणपत्र । जुन हालसालैको पनि थिएन । दुवै जनाको जन्मदर्ता ७÷८ वर्ष अगाडि नै गरिएको छ । दुवैमा बाबुको नाम लेखबहादुर नै छ । दोस्रो, शैक्षिक प्रमाणपत्र अर्थात एसइईको मार्कसिट र सर्टिफिकेट । त्यसमा पनि जन्मदर्तामा उल्लेख विवरण मिलेको छ । तेस्रो, वडामुचुल्का सहित वडाध्यको सिफारिस छ । जसमा लामो समय सुरक्षा निकायमा जागिर खाएर सेवा निवृत्त वडाध्यक्ष रणबहादुर थापाको हस्ताक्षर छ । सर्जमिन मुचल्कामा त जिल्ला प्रशासन कार्यालयमा कार्यरत १ खरिदारको समेत हस्ताक्षर छ । उनी पनि सराङकोटकै हुन् ।

नागरिकताबारे उजुरी परेपछि सिडिओ चक्रबहादुर बुढाले दुवै जनाको नागरिकता प्रमाणपत्र खिचेर अनुसन्धान थालेका छन् । उनले पहिलो चरणमा बाबु बनेका लेखबहादुर र छोरी बनेका २ जनासँग बयान लिएका छन् । बयानमा बाबुले आफ्ना ५ छोरी र ३ छोरा भएको र कुनै किर्ते काम नगरेको बयान दिएका छन् । युवतीद्वयले पनि आफूहरु लेखबहादुरका छोरी नै भएको दाबी गरेका छन् ।

वडाध्यक्ष रणबहादुर थापाले आफूले लेखबहादुरलाई धेरै पहिलादेखि चिनेको र आवश्यक प्रमाण लिएर आफै वडामा आएपछि कागजातकै आधारमा आफूले सिफारिस गरेको बताएका छन् । यसमा आर्थिक लेनदेनको विषय जोड्न आवश्यक नै नहरेको उनको जिकीर छ । प्रशासनले मुचुल्कामा हस्ताक्षर गर्नेहरुलाई समेत बोलाएर बयान लिइरहेको छ । तर यो बयानले कुरोको चुरोमा पुग्न भने मद्धत गरेको छैन ।

बरु सिडिओ चक्रबहादुर बुढा आफैले यो विषयलाई मिहीन रुपमा अध्ययन गर्न थालेका छन् । उनी भन्छन्, ‘कागजात पल्टाउँदा ३ वटा विषयमा शंका गर्ने ठाउँ भेटिएको छ, त्यही अनुसार मैले अनुसन्धान थालेको छु ।’ पहिलो त उमेर पुगेका दिदी बहिनी २ फरक मितिमा नागरिकता लिन आएका छन् । एउटै परिवारका दिदीबहिनी अलगअलग रुपमा किन प्रशासन आए भनेर शंका गर्ने ठाउँ छ । दोस्रो, यी दिदी बहिनीको उमेर मात्रै ७ महिना फरक छ । बिहे गरेको ७ महिनामा बच्चा जन्मेको घटना भए पनि एउटै आमाबाट ७ महिनाको अन्तरमा बच्चा जन्मिन सम्भव छैन । तेस्रो, पछिल्लो अर्थात् असार ६ गतेको मितिमा नागरिकता लिएकी युवतीको नाम तिब्बतीसँग मिल्दोजुल्दो छ । उनको नाम हो, तासी आङ्गो थापा मगर । मगर परिवारमा जन्मेर पनि त्यस्तो नाम कसरी रह्यो भन्ने कोणबाट समेत सिडिओले अनुसन्धान गरे । यही प्रश्न सिडिओले लेखबहादुरसँग पनि गरेका थिए । सानैदेखि धर्मगुरुसँग राखेको भएर त्यही अनुसारको नाम राखेको जिकीर लेखबहादुरको छ । आखिर नाममा के छ र भन्ने तर्क पनि एकथरिको छ । पोखरामा जापान गुरुङ, हङकङ राना नाम गरेका त व्यक्ति छन् । शंकाको डिग्री त्यतातिर कोल्टिएको मात्र हो ।

लेखबहादुरकै छोराले भने नागरिकता लिने २ जना आफन्त भए पनि बहिनी नभएको स्वीकार गरेका छन् । स्थानीयका अनुसार, लेखबहादुरका माइली छोरीले हेम्जास्थित शरणार्थी क्याम्पमा बस्दै आएका तिब्बती शरणार्थीसँग बिहे गरेकी छन् । तिनै माइली छोरीका छोरीहरु(नातिनी) लाई लेखबहादुरले आफ्नै छोरी बनाएर नागरिकता दिलाएका हुन् । अहिले ती दुवै युवतीले पासपोर्ट समेत बनाइसकेका छन् ।

तिब्बती नै भए पनि नेपाली युवासँग बिहे गरेको खण्डमा अंगीकृत नागरिकता पाउने प्रावधान भए पनि ती युवतीले किन नेपाली नागरिकता लिन मरिहत्ते गरे र लेखबहादुर ले पनि यो लामो प्रयास गरे भन्ने बारेमा कास्की प्रशासनले गहिरो गरी अध्ययन गरिरहेको छ । सिडिओ बुढा भन्छन्,‘हामी अनुसन्धान गरिरहेका छौं, दोषी जो सुकै भए पनि कारवाही हुन्छ, अन्तिम विकल्पको रुपमा डिएनए परीक्षण समेत गर्न पठाउँछौं ।’

त्यसो त सिडिओलाई नागरिकता रद्ध गर्नसक्नेसम्मको अधिकार पनि छ । तर यो नागरिकता काण्डमा आर्थिक लेनदेन भएको छ छैन भन्ने विषयको खोजीमा पनि प्रशासनले ध्यान दिन जरुरी छ ।

तपाईको प्रतिक्रिया