—सम्पादकीय— रंगशालामा तीव्रता देऊ

समाधान संवाददाता २०७६ साउन ९ गते १४:०८

सार्क स्तरीय खेलकुद प्रतियोगिता सागका खेल गर्ने लक्ष्यका साथ पोखरा रंगशालाको पुनर्निर्माण भइरहेको छ । तर मंसिर अर्थात डिसेम्बर १ बाट सुरु हुने सागका लागि पोखरा रंगशाला तयार हुने नहुने शंका जीवित छ । मुख्य कुरा त काम भइरहेको छ तर कस्तो बनाउने भन्ने डिजाइन नै अहिलेसम्म टुंगो लागेको छैन । घर बनाउने काम सुरु भइसक्दा त्यसको रुप र स्वरुप कस्तो हुने भन्ने नक्सा नभएको जस्तो । नेपालका विकास निर्माणका काम कसरी हुन्छन् भनेर लाजमर्दाे उदाहरण यो भन्दा अरु के होला ? सरकारी अकर्मण्यताको उदाहरण खोज्न पोखरा रंगशाला आए हुने भएको छ ।

खेलकुद मन्त्री जगत विश्वकर्माले पोखरा रंगशालाको स्थलगत अवलोकन गरेर समयमै निर्माण पूरा हुने आश्वासन ठेकेदार कम्पनीबाट आएको जनाएका छन् । साग पनि समयमै हुने र रंगशाला पनि बेलामै बन्ने उनको भनाइ छ । डिजाइन १० दिनमै तयार हुने पनि उनले बताएका छन् । साग हुन अब केवल ४ महिना बाँकी छ । कुनै न कुनै बहानामा ठेकेदारले काममा ढिलाइ गर्दै आएका छन् । त्यस्तो रोग पोखरा रंगशालामा नदोहोरियोस् भन्ने खेलकुदकर्मीको कामना छ । यसमा सरकारले ठेकेदारलाई घच्घच्याइरहनुको विकल्प देखिन्न ।

पोखरामा साग खेल हुनु आफैंमा सुखद पक्ष हो । काठमाडौंमा मात्रै सबैथोक केन्द्रित हुनुपर्छ भन्ने एकात्मक मानसिकता तोडिनु सुखद हो । काठमाडौंमा दशरथ रंगशाला पनि निर्माणाधीन नै छ । दशरथ रंगशालामा चाहिँ पोखरामा भन्दा धेरै काम भइसकेको छ । पोखरामा धेरै काम हुन बाँकी छ । फटाफट काम गर्नु अहिलेको दायित्व र आवश्यकता हो । पोखराको प्रतिष्ठासँग मात्रै होइन, यो राष्ट्रकै प्रतिष्ठासँग गाँसिएको विषय हो । अन्तर्राष्ट्रिय खेलाडी पोखरा आउनेछन् र उनीहरुले यहाँको रंगशालामा प्रतिभा प्रस्फुट गर्नेछन् । स्तरीय फुटबल मैदानमा उनीहरुलाई खेल्ने अवसर दिन आयोजक हुनुको नाताले देशको कर्तव्य छ ।

Advertisement

क्रिकेटका खेल पनि पोखरामै आयोजना गर्न सकिए हुन्थ्यो भन्ने यहाँका क्रिकेटप्रेमीको माग छ । सम्भव भए पोखराको लागि यहींका मन्त्रीले त्यति काम गर्न सके पोखराको भलो हुने थियो । कम्तीमा साग खेलले यहाँको पर्यटन प्रवद्र्धनमा पनि योगदान पुर्‍याउने छ ।

अन्तर्राष्ट्रिय प्रचार जुटाउने छ । साग नै आयोजना नभए पनि पोखरामा स्तरीय रंगशाला यसै पनि आवश्यक हो । राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदा ४० को दशकमा पञ्चायतले बनाएको रंगशालाकै भरमा यहाँ खेलकुद गतिविधि हुँदै आएका थिए । अबको निर्माण अझै दीगो हुनु आवश्यक त । हतारमा काम सक्नैका लागि गुणस्तरमा सम्झौता नहोस् भनेर सरकारले ध्यान दिन जरुरी छ । रंगशाला निर्माणमा तीब्रता दिऊँ । गुणस्तरमा सम्झौता नगरौं । साग खेलकुद भव्यतापूर्वक सफल बनाऔं ।

Advertisement

तपाईको प्रतिक्रिया