निर्मला पन्त हत्यापछि उब्जिएका प्रश्नहरु

समाधान संवाददाता २०७६ साउन १० गते १३:१४

सरस्वती गुरुङ

‘निर्मला पन्त बलात्कार र हत्या’ शीर्षकमा विकिपिडियाले लेख्छ– ‘नेपालमा भएको १ दर्दनाक हत्याकाण्ड मध्ये १ हो । यसमा कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षिया किशोरी÷बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको थियो । विसं २०७५ साउन १० गते कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा साथीको घरबाट हराएकी किशोरी पन्तको मृत शरीर भोलिपल्ट स्थानीय उखुबारीमा फेला परेको थियो ।’ विकिपिडियामा उल्लेखित थोरै मध्येको १ महत्वपूर्ण घटना हो, नेपालका लागि यो । नेपालको इतिहासमै रहस्यमय मध्येको प्रतिनिधि घटना निर्मला हत्या प्रकरण हो । नेपाली र अंग्रेजी दुवै संस्करणमा यो हत्याकाण्ड उल्लेख गरेको छ, विकिपिडियाले । निर्मला पन्तको हत्या भएको आज ठ्याक्कै १ वर्ष पूरा भयो । हत्याको ३ सय ६५ दिनमा हजारौं मान्छे सडक झरे सरकारले ६५ मिनेट पनि छानविनमा खर्च गर्न सकेन । उनको हत्यारा अहिलेसम्म पनि फरार छन् ।

उनको हत्या आरोपमा प्रहरीले पटकपटक धेरै व्यक्ति पक्राउ गर्‍यो । तर कोही पनि वास्तविक ठहरिएनन् । स्थानीय भन्छन्, उनको हत्यामा प्रहरी संलग्न छ । प्रहरीले १ पटक मानसिक अवस्था ठीक नभएको व्यक्तिलाई पक्राउ गरी सार्वजनिकसमेत गर्‍यो । छिमेकी र अरु स्थानीय ती व्यक्तिलाई हत्यारा मान्न तयार भएनन् । त्यसपछि फेरि चोरी–डकैतीमा पटकपटक जेलमा बसेका व्यक्तिलाई पक्राउ गरेर घटना स्वीकार गर्न बाध्य पारियो । पछि हत्या भएको दिन पनि ती व्यक्ति जेलमै रहेको पुष्टी भएपछि प्रहरीको लापरबाही बाहिरियो ।

मेरो देशको प्रहरी प्रशासनको यो भन्दा ठूलो बेइजतीको क्षण के हुन सक्छ ? यस्ता प्रहरी संगठनबाट जनताले कस्तो न्याय पाउँछन् ? स्थानीयको बलियो दावी छ, प्रहरी संगठनभित्रकै मान्छे निर्मलाको हत्यारा हुन् । त्यसैले गर्दा, वास्तविक हत्यारा सार्वजनिक नगरिएको हो । यद्यपी हालसम्म उनको हत्या आरोपमा कसैले पनि किटानी जाहेरी दिएका छैनन् । सत्य छानविनको माग गर्दै सर्वसाधारण सडकमा निस्किँदा १ युवकको गोली लागि मुत्यु भयो । त्यसपछि सरकारले भदौमा विशेष छानविन समिति गठन गर्‍यो । छानविन समितिले घटनामा प्रहरीको लापरबाही रहेको प्रतिवेदन दिएको थियो । त्यो प्रतिवेदन अहिलेसम्म बाहिर आएको छैन । वर्षदिन पुगिसक्दा सरकार सधैं निर्मलाका हत्यारा पक्राउ गरिछाड्ने दाबी गर्छ, तर गम्भीर भएर अहिलेसम्म छानविन गरेको छैन ।

यसले सरकार जनअधिकारप्रति गम्भीर छैन भन्ने गतिलो प्रमाण पेस गरेको छ । प्रहरी हत्यारा समात्ने भन्दा प्रमाण नष्ट गर्नेतर्फ बढी केन्द्रित भयो । हत्यापछि रगत लतपतिएको कपडा प्रहरीले नै पखाल्यो, निर्मला गएको घरको कम्पाउन्डभित्र रहेको अम्बाको रुख काटियो, त्यही घर पछि रंगरोगन गरियो । यसले प्रमाणित गर्छ, सरकार यो घटनाप्रति गम्भीर छैन । यो हत्याकाण्डबारे ४ वटा प्रतिवेदन बनिसके । गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठित उच्च स्तरीय छानविन समितिले सामूहिक बलात्कार पछि हत्या भएको संकेत गरेको छ । अन्यत्रै हत्या गरेर उखुबारीमा शव फालिएको हुन सक्ने निष्कर्ष समितिको छ ।

निर्मला गएकी बम दिदी बहिनीको बयान, साईकल देख्ने प्रत्यक्षदर्शीको बयान र निर्मलाको शव, पोस्टमार्टम रिपोर्ट, घरदेखि घटनास्थलसम्मको दूरी तथा प्रहरीको गतिविधिले हत्यारा टाढा नरहेको संकेत गरिरहेकै छ । तर प्रहरी छानविन समितिको प्रतिवदेन र प्रत्यक्षदर्शीको बयानलाई छोडेर अन्यत्रै खोजविन गरिरहेको छ । यस्तो अनुसन्धानले हत्यारा पत्ता लाग्ने कुनै सम्भावना नै रहँदैन । गृहको रिपोर्टपछि पनि राष्ट्रिय मानव अधिकार आयोग, मानव अधिकार संगठन र प्रहरी प्रधान कार्यालयले छुट्टाछुट्टै छानविन गरेका छन् ।

तर कुनै पनि प्रतिवेदन हत्यारा नजिक पुग्न सकेको छैन । त्यसो त प्रतिवेदनलाई टेकेर सरकारले छानविन नै कहाँ गरेको छ र ? समितिका प्रतिवेदन बडो गहन भएर अध्ययन गरें । स्थानीयको आरोप प्रति म पनि राजी भएँ । स्थानीय भन्छन्, हत्या भएको भनिएको ठाउँमा बिहानदेखि बेलुकीसम्म नै मान्छेको निरन्तर चहलपहल हुन्छ । घटनास्थल नजिक घर पनि छन् । निर्मला निस्किएको भनिएको समयमा ठूलो पानी परेको प्रतिवेदनमा उल्लेख छ । साईकल भेटिएको ठाउँबाट शव भएको ठाउँ जान त्यतिबेला सम्भव थिएन, पानीका कारण । यी सबै प्रमाण हेरेर उनको कुनै घरको कोठामा बलात्कार गरेर शव मात्रै उखुबारीमा फालेको आशंका छ ।

यति गम्भीर घटना हुुँदा पनि देशका अभिभावक प्रधानमन्त्रीज्यू भन्नुहुन्छ, हत्यारा पत्ता लाग्न १२ वर्ष पनि लाग्न सक्छ । गृहमन्त्रीज्यू थप्नुहुन्छ– ‘यस्ता घटना नौलो हैन’ । गैर जिम्मेवार उत्तर दिनुहुन्छ । यो भन्दा लज्जास्पद केही हुन सक्ला ? हत्यापछिको १ वर्ष निकै तनावमा बित्यो धेरै समय । धेरै चोकमा टायर बालिए । चर्का नारा घन्कियो । लाखौं नागरिक सडकमा ओर्लिए । दिनदिनै दबाबमुलक आन्दोलन चलिरह्यो । कयौं ठाउँमा प्रहरीसँगै झडप समेत भएको छ ।

निर्मलाका पक्षमा आवाज उठाउनेहरुको आवाज सुक्यो, तर सरकारले ती आवाज सुन्दै सुनेन । हत्यारा पक्राउ गर्न नसकेको हो कि पक्रन नचाहेको हो ? गम्भीर प्रश्न हो यो । हत्यारा पत्ता लगाउने दाबी गरिरहने तर सिन्को नभाँच्ने सरकारसँग यसको उत्तर छ ? अपराधी पनि राजनीतिक संरक्षणमा उन्मुक्त हुँदै जाने र पीडितहरु झन्झन् पीडित बन्दै जाने परिपाटीको अन्त्य कहिले हुन्छ ? राजनीतिक पहुँच नहुनु निर्मला परिवारको अपराध हो ? राज्यशक्तिको दूरुपयोग कहिलेसम्म ?

के यो घटना निर्मला पन्त र उनको परिवासँग मात्रै सीमित छ ? त्यसो हुन्थ्यो भने, लाखौं नेपाली निर्मलाको निम्ती न्याय माग्न सडकमा किन उत्रिन्थे ? शक्तिको दूरुपयोग गरेर यति ठूला र जघन्य अपराध पनि नजरअन्दाज गर्छ भने सरकारलाई हेक्का होस्, ३ वर्षपछि पुनः निर्वाचन आउँदै छ । संसदीय व्यवस्थामा सत्ताप्रति जनताले रिस साँध्ने भनेकै निर्वाचन प्रणालीबाट हो । सरकारले गरेको अहिलेको अपराध क्षम्य छैन । त्यसको प्रतिरोध चुनावमार्फत जनताले गर्नेछन् । जनतालाई भुलाउने र पीडितमाथि नुनचुक छर्किने दूष्साहस कसैले गर्छ भने उ भ्रममा चलिरहेको छ ।

सरकारलाई यो घटनाले सधैं पिरोलिरहने छ । सारा नेपाली यो घटनाको जिउँदो साक्षी बनेर सरकारलाई सताइरहने छन् । निर्मला पन्त मात्रै होइन, यो घटनापछि बलात्कारका हजारौं घटना भएका छन् । यो घटनापछि हजारौं हत्याका घटना भएका छन् । तर पीडितले न्याय पाएका छैनन् । देशमा शान्ति, सुरक्षा, अमनचयन छैन । न्याय माग्नका लागि संघर्ष गर्नुपर्ने ठाउँमा न्याय पाउने सम्भावना त हुँदैन तर यस्ता घटनाका विरुद्ध हामी सबै एकजुट भएर निरन्तर संघर्ष गरिरहनुपर्छ ।

बिहान निस्किएकी छोरी साँझ फर्किन्छे कि फर्किंदैन आमाबाबु त्रासमै हुन्छन् । मेलापात गर्न गएकी आमा जिउँदो हुन्छिन् कि हुन्नन्, कुनै ग्यारेन्टी छैन । घरभित्रै छोरी सुरक्षित छैनन्, पछिल्ला घटनाले देखाइरहेका छन् । यति धेरै दण्डहीनता बढ्नुको मुख्य कारण भनेकै राज्य प्रणाली हो । सरकारको गतिविधि हो । सत्ताको दूरुपयोग हो । संस्कारमाथिको अतिक्रमण हो । ती सबै घटनाको मुख्य दोषी सरकार र सत्ताको उन्माद हो । मैले नेकपालाई मात्रै यो दोष दिन खोजेको होइन, हालसम्मका सबै सरकार यसका दोषी छन् ।

घटना हुनु भन्दा घटनापछिको परिघटनामा सरकारको उपस्थिति नै दोहोरिने घटनाका मुख्य कारक हुन्छन् । पहिलेभन्दा त्यो प्रवृत्ति अहिलेको सरकारमा बढी छ । त्यसैले यसको हिसाबकिताब जनताले चुनावका दिन माग्ने छन् । निर्मला पन्तले न्याय नपाएसम्म यो सरकारको निधारमा कालो टीका सधैं रहिरहने छ ।

तपाईको प्रतिक्रिया