प्रदूषण मापनको नौटंकी

समाधान संवाददाता २०७६ साउन १० गते १३:१९

उपभोक्तालाई सुविधा दिने नाममा पोखरामा दिनदिनै सार्वजनिक बस थपिएका छन् । निजी गाडी थपिने क्रम पनि उस्तै छ । जनसंख्याको चापसँगै सवारी थपिँदै जाँदा वातावरणीय प्रदूषण बढ्दो छ । यही कारण पोखरा राजधानी काठमाडौंपछिको प्रदूषित सहरमा दरिएको छ ।

प्रदूषण कम गराउनकै लागि यातायात यातायात व्यवस्था कार्यालय पोखराले गत भदौबाट प्रदूषण मापन थाल्यो । तर काम केबल देखाउनकै लागि मात्र भएको छ । एकातिर राज्यको ढुकुटीको रकम खर्च भइरहेको छ भने अर्कोतिर प्रदूषणमा कुनै पनि कमी आएको छैन । मापदण्ड नपुगेका गाडी पोखरामा चलाउन पाइँदैन, तर अनुगमन गरिदिने कसले ?

वर्षभरमा पोखरामा जम्मा ३ हजार ७ भन्दा गाडीको प्र्रदूषण जाँच भयो । तीमध्ये ६ सय ९४ गाडी जाँचमा फेल भए । तर पास हुने र फेल हुने गाडी दिनहुँ एउटै सडकमा गुड्छन् । पास भएका गाडीलाई पछाडि छाड्दै धुवाँको मुस्लोले गिज्याएर फेल भएका गाडी हुइँकिन्छन् । अर्को बिडम्बना पनि छ । जसले धुवाँको ठूलो मुस्लो फाल्छ ती गाडीलाई ट्राफिक प्रहरीले कहिलेकाहीं समाउँछ पनि । तर बिडम्बना, ती गाडीको अगाडिको सिसामा जाँच पास भएको हरियो स्टिकर हुन्छ । यसले के प्रस्ट्याउँछ भने प्रदूषण मापन केबल देखावटी मात्र हो । नौटंकी मात्र हो ।

Advertisement

यातायात व्यवस्था कार्यालय कास्कीमा हलुका सवारीको प्रदूषण नाप्ने यन्त्र मात्र छन् । कार, जीप, भ्यान, ट्याक्सीको मापदण्ड यहाँबाट परीक्षण हुन्छ । ठूला सवारी साधन भने हचुवाका भरमा पास गरिन्छ । कारण, ठूला सवारीको मापदण्ड जाँच्ने यन्त्र नै छैन । प्राविधिकका तजबिजीको आधारमा यो काम भइरहेको छ । जसमा अनियमितता भइरहेको गुनासो आइरहन्छ । यी र यस्तै कारणले पोखरा धुवाँमय बनिरहेको छ ।

पोखराको यातायात सेवा व्यवस्थित गर्न अपनाउनुपर्ने उपाय बारे अध्ययन गर्न सरकारद्वारा गठित कार्यदलले केही वर्ष अघि पोखराका विभिन्न ५ ठाउँमा वायु प्रदूषण मापन गरेको थियो त्यतिबेलै पोखराको वायु प्रदूषणको अवस्था अत्यन्त भयानक भएको पाइएको थियो । पोखरा कचौरा आकारको उपत्यका भएकाले यहाँको हावा बाहिर जान कम्तीमा पनि २१ दिन लाग्छ । तातो हावा उडेर माथि जान नपाउँदै हिमालबाट आएको चिसो हावाले रोकिदिन्छ ।

Advertisement

पोखराको अत्यधिक सवारी चाप हुने पृथ्वीचोक, महेन्द्रपुल सवारी चाप अलि कम हुने हल्नचोक र हरिचोकका साथै बाक्लो बस्ती भए पनि सवारी साधन कम चल्ने नदीपुर गरी ५ स्थानको नमुना संकलन गरिएको थियो त्यतिबेला । सवारी साधनको चाप बढी भएको स्थानमा कार्बनमोनोअक्साइडको मात्रा अत्यधिक छ । यसैगरी, पिएम १० अर्थात् हावामा १० माइक्रोग्रामभन्दा कम तौलका कण पनि पोखराको हावामा अत्यधिक पाइएको छ ।

स्वासप्रश्वास रोगको मुख्य कारका टोटल सस्पेन्डेट पार्टिकुलर म्याटर (टिएसपी) पनि पोखराको हावामा निकै बढी छ । यसैगरी, नाइट्रोजन डाइअक्साइड (नक्स) र सल्फर डाइअक्साइडसमेत बढी रहेकाले पोखरामा सवारी साधनबाट हुने वायु प्रदूषण कम गर्न तत्कालै उपाय अपनाउनुपर्ने सुझाव विज्ञले दिएका छन् । त्यही सुझाव कार्यान्वयन गर्दै प्रदूषण मापन यन्त्र भित्रिए पनि प्रभावकारी काम हुन सकेको छैन । चाहिने मात्रामा यन्त्र राखेर वायु प्रदूषण रोक्न पहल नगरे अवस्था भयावह हुने निश्चित छ ।

तपाईको प्रतिक्रिया