मुस्ताङमा ‘रिदम्स अफ लाइफ’ वाल संरक्षणविहीन

समाधान संवाददाता २०७६ साउन १० गते १४:४०

एसके थकाली
मुस्ताङ

अस्ट्रेलियन नागरिक एन्ड्रयु रोजर्सले सन् २००८ मा मुस्ताङको घरपझोङ गाउँपालिका ४ हुम्देमा ‘रिदम्स अफ लाइफ’ आकारको २ वटा आर्कषक वाल निर्माण गरे । यसका निर्देशकसमेत रहेका रोजर्सले करोडौं रुपैयाँ खर्चिएर ३ महिनामै रिदम्स वाल पूरा गरे ।

‘रिदम्स अफ लाइफ’ को शाब्दिक अर्थ हो ‘जीवन रेखा’ । मानिस जगतको हातका ५ पञ्जाको फेदपट्टि देखिने गोलाकार आकृतिको धर्सोलाई हस्त रेखा अर्थात् जीवन रेखा भन्ने गरिन्छ । यही हस्त रेखासँग मिल्दो ढुंगैढुंगाले तयार पारिएको ‘रिदम्स अफ लाइ्फ’ रोजर्सले तयार गरे । जोमसोमको घरपझोङमा २ वटा ढुंगे वाल फरक फरक आकृतिका रिदम्स निर्माण गरिएको हो ।

Advertisement

रोजर्सले बनाएको यो पर्खाल किन, कसले र कुन प्रयोजनका लागि बनाएको हो, कसैले ठम्याउन सकेनन । रोजर्सले वाल निर्माण गर्न जोमसोमको जनहित क्लवसँग कामदार परिचालनको सहकार्य गरे । तर त्यही क्लबका सदस्यसमेत रिदम्स वालबारे बेखवर छन् ।

निर्देशक रोजर्सले करिब ५० मिटर दूरीमा २ वटा रिदम्स बनाएका हुन् । यो बनाउँदा न त शिलान्यास भयो, न त उद्घाटन नै । त्यस ताका हल्ला थियो विदेशीले डकुमेन्ट्री फिल्म छायांकन गरेको हो । कतिपयले आफ्नै तरिकाले त्यसबेला विश्लेषण गरे । तर रोजर्सले न त डकुमेन्टी छायांकनलाई गरे,न त उनले कुनै खास प्रयोग गरे । रोजर्सको एउटै लक्ष्य थियो देश विदेशमा यस्तै यस्तै रिदम्स बनाएर चिनो छाड्नू । उनले मुस्ताङमा मात्र होइन संसारका विभिन्न मुलुकमा यस प्रकारका रिदम्स बनाएको रिदम्स वाल निर्माणसँग निकै नजिक रहेका जोमसोम मुनलाइट होटलका प्रोपाइटर अनिल शेरचनले बताए । उनले भने,‘ रिदम्सको सपना नै संसारमा रिदम्स तयार गर्नु रहेछ । मुस्ताङमा पनि उनले यो काम पूरा गरे ।’

Advertisement

रिदम्स वाल दुरुस्तै मानिसको हातमा देखिने जीवन रेखासँग मिल्दो छ । यसैले यसलाई रिदम्स अफ लाइफ भनिएको हो । रिदम्स वालभित्र पसेपछि फन्को लगाउन करिब ३० मिनेट समय लाग्छ । पुरै ढुंगैढुंगाले तयार पारिएको वालमा त्यसबेला सेतो चुना पोतिएको थियो । निकै कलात्मक लाग्ने रिदम्स वाल रोजर्सले चिनो छाडेर अस्ट्रेलिया फर्के । फर्कदा वाल बनाउने सबैलाई रिदम्स अफ लाइफ नामक प्रमाणपत्रले सम्मान गरे । अहिले रिदम्स वाल जीर्र्ण बनेको छ । पशुचौपाया अनाधिकृत रुपमा पस्दा वाल भत्किने र घामपानीले लगाएको रङसमेत फुस्रो देखिन थालेको छ । पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने सकिने रिदम्स वाललाई न त स्थानीय तहले कुनै संरक्षण र योजना बनाउन सकेको छ, नत जोमसोमबासीले नै यसको महत्व बुझ्न सकेका छन् । स्थानीय तहले कुनै ठोस योजना बनाएर यसको स्तरोन्नति गर्न सके पक्कै यो जोमसोमको महत्वपूर्ण पर्यटकीय गन्तव्यको रुपमा विकास हुनसक्ने सम्भावना उत्तिकै छ । जोमसोममा बनेको रिदम्स संरक्षणमा कुनै निकायको ध्यान पुग्न सकेको देखिन्न ।

तपाईको प्रतिक्रिया