बन्दीपुरको बजेट ४२ करोड ४८ लाख

समाधान संवाददाता २०७६ साउन १० गते १४:५३

कृष्ण न्यौपाने
दमौली

‘पहाडकी रानी’ नामले परिचित तनहुँको बन्दीपुर गाउँपालिकाले चालु आर्थिक वर्ष ०७६÷७७ का लागि पारित गरेको बजेट सार्वजनिक गरेको छ । असार १० गते गाउँसभामा प्रस्तुत भई छलफलसहित पारित भएको बजेट तथा नीति कार्यक्रम गाउँपालिकाले बिहीबार सार्वजनिक गरेको हो ।

गाउँपालिकाले चालु आर्थिक वर्षका लागि ४२ करोड ४८ लाख १० हजार ५ सय ९१ बजेट पारित गरेको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । अध्यक्ष थापाका अनुसार बजेटको आयतर्फ संघीय सरकारबाट वित्तीय समानीकरण बापत ८ करोड ५७ लाख, राजस्व बाँडफाँडबापत ६ करोड ४६ लाख, विद्युत रोयल्टी बापत ८८ लाख, गण्डकी प्रदेश सरकारबाट वित्तीय समानीकरण बापत १ करोड २० लाख ३९ हजार, ससर्त अनुदान बापत १ करोड तथा राजस्व बाँडफाँड सवारी साधन कर बापत ६० लाख ९५ हजार प्राप्त हुने अनुमान गरिएको छ ।

Advertisement

गाउँपालिकाका विभिन्न उपभोक्ता समिति र लागत सहभागितामा काम गर्ने व्यक्ति समूहबाट नगद सहभागिता बापत ६० लाख ५९ हजार, सामाजिक सुरक्षा अनुदान बापत ५ करोड, सडक बोर्ड अनुदान बापत १० लाख, जिल्ला समन्वय समिति तनहुँबाट ८० लाख, ढुंगा गिटी बालुवाको ठेक्का बापत ५० लाख आम्दानी हुने अनुमान गरिएको अध्यक्ष थापाले जानकारी दिए ।

गाउँपालिकाले आफैले निर्माण गरेका विभिन्न पूर्वाधारमा प्रवेश शुल्क लिने तयारी गरेको छ । जसबापत पाँच लाख आम्दानी हुने अनुमान गरिएको छ । बन्दीपुर संरक्षण क्षेत्रमा निर्माण हुने घरलाई नक्सापासमा ५० प्रतिशत छुट दिने विगतको व्यवस्था हटाइएको अध्यक्ष थापाले बताए । ‘सबै नागरिकलाई समान अवसर र सुविधाको नीति अवलम्बन गरी उक्त व्यवस्था चालु आर्थिक वर्षमा हटाएका छौं,’ उनले भने ।

Advertisement

गाउँपालिकाले खर्चतर्फ पदाधिकारीको सुविधातर्फ ५८ लाख, कर्मचारी पारिश्रमिक, सुविधा तथा अन्य प्रशासनिकतर्फ ३ करोड ९५ लाख ६७ हजार, कार्यालय सञ्चालनतर्फ ३६ लाख २० हजार, कर्मचारी कल्याणकोषतर्फ १० लाख, वडास्तरीय कार्यक्रमका लागि ३ करोड ७८ लाख, समपुरक कोष अन्तर्गतका कार्यक्रमका लागि १ करोड ५० लाख, आर्थिक विकास कार्यक्रमका लागि ३ करोड २७ लाख ८४ हजार, सामाजिक विकासतर्फका कार्यक्रमका लागि १२ करोड ५५ लाख ८९ हजार, पूर्वाधार विकासतर्फका गौरव योजनाका लागि २ करोड ५० लाख, पालिकास्तरीय योजनाका लागि ५ करोड ८९ लाख विनियोजन गरिएको छ ।

गाउँपालिकावासीका धेरै अपेक्षा र माग रहे पनि सबै माग पूरा गर्न नसकिएको र ती योजनाहरुलाई गाउँपालिकाको योजना बैंकमा राखेर आगामी दिनमा प्राथमिकताको आधारमा सम्बोधन गर्ने नीति लिइएको गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले बताइन् । ‘प्राथमिकतामा आधारमा नागरिकका अपेक्षा सम्बोधन गर्दै समृद्ध गाउँपालिका निर्माण गर्ने अभियानमा निरन्तर लागिपर्नेछाैं,’ उनले भनिन्, ‘गाउँपालिका सामु विद्यमान रहेका चुनौतीहरुलाई सामना गर्दै अघि बढ्न सके अवश्य पनि लक्ष्यमा पुग्न सफल हुनेछौं ।’

गत आवको खर्च सार्वजनिक
गाउँपालिकाले सोही अवसरमा आर्थिक वर्ष ०७५÷७६ मा भएको खर्च विवरण सार्वजनिक गरेको छ । प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार पूर्वाधार विकासतर्फ उर्जामा ८७ लाख ८४ हजार विनियोजन भएकोमा ७८ लाख २३ हजार, भवन तथा सहरी विकासमा १ करोड ६२ लाख विनियोजन भएकोमा १ करोड ५८ लाख ८६ हजार, सिँचाइमा २९ लाख ५० हजार विनियोजन भएकोमा २७ लाख, सडक तथा पुलमा ७ करोड २३ लाख ३ हजार विनियोजन भएकोमा ६ करोड ३६ लाख ९२ हजार, खानेपानीतर्फ १० लाख १० हजार विनियोजन भएकोमा १० लाख १० हजार खर्च भएको छ ।

त्यस्तै वातावरण विपद्मा १० लाख विनियोजन भएकोमा ३ लाख ४७ हजार, फोहरमैला व्यवस्थापनमा २४ लाख विनियोजन भएकोमा १५ लाख, वातावरण संरक्षणमा ७ लाख विनियोजन भएकोमा ६ लाख ९८ हजार, पर्यटनमा ४४ लाख विनियोजन भएकोमा ४० लाख ५० हजार, कृषिमा १ करोड १६ लाख विनियोजन भएकोमा ७१ लाख ५८ हजार, खानेपानी तथा सरसफाइमा १ करोड ८ लाख ८५ हजार विनियोजन भएकोमा ९८ लाख ७५ हजार ३२ खर्च, स्वास्थ्यमा ४ करोड ४५ लाख विनियोजन भएकोमा २ करोड ९८ लाख ८४ हजार ६ सय १९ र शिक्षामा ९ करोड ९५ लाख ८३ हजार विनियोजन भएकोमा ९ करोड ६० लाख ४३ हजार खर्च भएको छ ।

तपाईको प्रतिक्रिया