गाेरखा संग्रहालय घुम्ने आन्तरिक पर्यटक बढे

समाधान संवाददाता २०७६ साउन १२ गते १४:११

मोहसिन अली मियाँ
गोरखा

गोरखा संग्रहालय घुम्ने पर्यटक बढेका छन् । गत आर्थिक वर्षमा झण्डै १ लाख पर्यटकले गोरखा संग्रहालय घुमेका छन् । आर्थिक वर्ष २०७५÷७६ मा ९८ हजार १ सय ३६ जना आन्तरिक तथा बाह्य पर्यटकले संग्रहालयको अवलोकन गरेका हुन् ।

शाह वंशीय तथा पुरातात्वीक र ऐतिहासिक सामग्री राखिएको गोरखा संग्राहालयमा अवलोकनका लागि देश तथा विदेशबाट आउनेको संख्यामा यो वर्ष बढेको संग्रहालय प्रमुख नवराज पौडेलले बताए । ‘अघिल्ला वर्षको तुलनामा यो वर्ष २३ हजार जनाभन्दा बढी पर्यटक संग्रहालय भित्रिएका छन्’, संग्रहालय प्रमुख पौडेलले भने, ‘त्यसमध्ये देशभित्रैबाट आउने आन्तरिक पर्यटकको संख्या बढी छ ।’

Advertisement

गत वर्ष साउन १ देखि यस वर्षको असार मसान्तसम्म ९८ हजार १ सय ३६ ले संग्रहालय घुमे भने अघिल्लो आर्थिक वर्षमा ७५ हजार ५३ जनाले अवलोकन गरेका थिए । २०७३÷७४ मा ७१ हजार १ सय ८ ले संग्रहालय घुमेको तथ्यांकमा उल्लेख छ । ३ वर्षको तथ्यांक हेर्दा वर्षेनि पर्यटक बढेको दखिएको छ ।

संग्रहालय घुम्ने पर्यटकमध्ये ९६ हजार ४ सय २६ स्वदेशी छन् । जसमा ५६ हजार २ सय ११ सर्वसाधारण छन् भने ४० हजार २ सय १५ विद्यार्थी छन् । ६० जना दक्षिण एसियाली मुलुक र १ हजार ६ सय ५० जना अन्य देशका नागरिकले संग्रहालय घुमेका हुन् । ‘संग्रहालय घुम्ने ९५ प्रतिशतभन्दा बढी नेपाली नै छन् ,’ पौडेलले भने, ‘विदेशी पर्यटकको संख्या एकदमै कम छ ।’ तर यो संख्यामा निशुल्क रुपमा प्रवेश गर्ने, बिभिन्न फिल्म, डकुमेन्ट्री निर्माण लगायत टिकट नकाटी प्रवेश गरेकाको संख्या भने समावेश गरिएको छैन ।

Advertisement

नेपाल एकीकरण गर्ने पृथ्वीनारायण शाहको चिनादेखि विभिन्न शाह राजाले लडाई गर्दाका हातहतियार, पुरातात्विक वस्तु, विभिन्न जातिका संस्कृति झल्कने सामग्री, पुराना सिक्का तथा भाडा वर्तन फोटो तथा पेन्टिङका साथै बिभिन्न जातजातिका संस्कृति झल्कने डमी संग्रहालयमा राखिएको छ ।

संग्रहालय अवलोकनका लागि नेपाली विद्यार्थीका लागि १० रुपैयाँ, नेपाली नागरिकका लागि २५ रुपैयाँ, सार्क राष्ट्रका लागि ५० र विदेशी नागरिकलाई १ सय रुपैयाँ प्रवेश शुल्क लिने गरिएको छ । स्वदेशी तथा विदेशीले संग्राहलयभित्र प्रवेश गराउने क्यामेरा तथा भिडियो क्यामेराको समेत शुल्क लिइन्छ ।

गत आर्थिक वर्षमा पर्यटक बढेसँगै राजस्वसमेत बढेको छ । पर्यटकको टिकटबाट २०७४÷७५ मा १६ लाख ३९ हजार ८ सय ११ राजश्व उठाएको संग्रहालयले २०७५÷७६ मा झण्डै ५ लाख बढी रकम उठाएको छ । यस वर्ष २१ लाख ३३ हजार ७ सय ६५ रुपैयाँ राजश्व उठेको प्रमुख पौडेलले बताए । जसमा २० लाख १० हजार १५ रुपैयाँ टिकट र १ लाख २३ हजार ७ सय ५० घरवाहालबाट उठेकोको हो । ‘पर्यटकमात्रै बढेका होइनन्, यस वर्ष राजस्व पनि वृद्धि भएको छ’, उनले भने, ‘म्युजियमको तथ्यांकमा भए अनुसार यो अहिलेसम्मकै सर्वाधिक हो ।’

अघिल्लो वर्षको तुलनामा २०७५÷७६ मा पर्यटकको संख्यामा ३१ र राजश्वमा २३ प्रतिशत वृद्धि भएको संग्रहालय प्रमुख अधिकारीले बताए । संग्रहालयसँगै ऐतिहासिक गोरखा दरबार, गोरखकाली मन्दिर, भीमसेन पार्क, मनकामना मन्दिर लगायतका जिल्लाका प्रसिद्ध स्थानमा समेत अघिल्लो वर्षको तुलनामा पर्यटक बढेको तथ्यांक छ ।

तपाईको प्रतिक्रिया