डाेटीका महिलाले छाउपडी नबारे ३ देखि ५ हजारसम्म पाउने

समाधान संवाददाता २०७६ साउन १२ गते १६:२०

डाेटी, रासस

छाउपडी प्रथा अन्त्य गर्नका लागि डाेटीका स्थानीय निकाय पछिल्लो समय निकै सक्रिय बनेका छन् ।

यसै सिलसिलामा जिल्लाको पूर्वीचौकी गाउँपालिकाले आफ्नो गाउँपालिकाभरिमा रहेका छाउ अर्थात् महिनावारी नबार्ने महिलालाई पुरस्कार स्वरूप पैसा दिने निर्णय गरेकाे छ ।

Advertisement

उक्त गाउँपालिकाले छाउपडी नबारी घरभित्रै परिवारसँगै बस्ने महिलालाई रु तीन हजारदेखि पाँच हजार पुरस्कार दिने नीति पारित गरेको गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले बताए ।

यति मात्र नभई सो गाउँपालिकाले अबदेखि छाउ अर्थात् महिनावारी बार्नेलाई गाउँपालिकाबाट प्रदान हुने मृत्यु दर्ता, जन्मदर्ता, सामाजिक सुरक्षाभत्ता, विवाह दर्तालगायतका सेवासुविधा पनि नदिने घोषणा गरेको छ ।

Advertisement

छाउपडी प्रथाका कारण महिलाको ज्यान असुरक्षित हुने र कुसंस्कारले समेत निरन्तरता पाउने भएपछि आफूहरूले छाउपडी अन्त्यका लागि नयाँ योजना ल्याएको गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत टेकबहादुर खड्काले बताए ।

छाउपडी प्रथा मानेकै कारण उक्त गाउँपालिकामा हालसम्म दर्जनौं महिलाले अकालमै ज्यान गुमाइसकेका छन् । गाउँपालिकाले चालेको उक्त कदमको सो क्षेत्रका स्थानीयवासीले स्वागतयोग्य काम भन्दै स्वागत गर्न थालेका छन् ।

छाउ अर्थात् महिनावारी भएकी महिला घरमा बसे देवीदेउता रिसाउने तथा घरमा अनिष्ट हुने भन्ने अन्धविश्वासका कारण डोटेली महिला छाउ बार्न बाध्य भएका छन् ।

जिल्लाका कतिपय ठाउँमा छाउपडी गोठहरू अझै कायमै रहेको सो क्षेत्रमा काम गर्ने संघसंस्थाले बताए ।

तपाईको प्रतिक्रिया