सामरिक महत्वका सडक बनाउँदै सेना

समाधान संवाददाता २०७६ साउन १२ गते १६:२३

नारायणप्रसाद न्यौपाने
काठमाडौं

मुलुकको अस्मिता र अस्तित्वलाई अखण्ड राखी मानवीय सुरक्षाको प्रत्याभूति दिलाउन दृढ संकल्पित नेपाली सेना कठिन भूगोल तथा सामरिक महत्वको सडक निर्माणमा पछिल्लो समय पर्यायवाची बनेको छ । राष्ट्रिय सुरक्षा नीतिअनुरुप नेपाली जनताको हित अनुकूल आर्थिक समृद्धि र विकासका लागि राष्ट्रिय महत्वका परियोजना निर्माणमा नेपाली सेनाको असरदार संलग्नता रहदैँ आएको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले जानकारी दिए ।

मुलुकको विकासमा कायापलट ल्याउने विश्वास गरिएको काठमाडौँ–तराई–मधेस दु्रतमार्ग मात्र होइन, देशका विभिन्न भागका रणनीतिक तथा सामरिक महत्वका उत्तर दक्षिणका राजमार्ग निर्माणमा पनि नेपाली सेनाले काम गरिरहेको छ । सडक पूर्वाधार निर्माणको सन्दर्भमा सेनाले हालसम्म २७ सडक र ३० पुल बनाइसकेको छ । नेपालको संविधानले नै सेनालाई विकास निर्माणको भूमिका प्रदान गरेको छ । मुलुकका दुर्गम तथा विकट क्षेत्रमा पहरा फोरेर सडक ट्र्याक खोल्ने, खोलिएका ट्र्याकको स्तरोन्नति गर्ने कार्यमा सेनाको सक्रियता निर्विकल्प बनिरहेको छ ।

Advertisement

मुलुकको बाह्य, आन्तरिक सुरक्षा, विपद् व्यवस्थापन, विकास निर्माण, राष्ट्रिय निकुञ्ज तथा प्रकृतिक संरक्षण, महत्वपूर्ण संरचना, विशिष्ट व्यक्तिको सुरक्षा एवं अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा सेनाले विशिष्ट योगदान गरिरहेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताए । सेनाले १ हजार ६५ किलोमिटर सडक तथा १ हजार २ सय ६ मिटर पुल निर्माणको अनुभव सँगालिसकेको छ । सेनाको व्यवस्थापनमा निर्माणाधीन चालु आयोजना ४ सय ५८ किमी छ । अहिले सेना दु्रतमार्ग, कर्णाली करिडोर, जाजरकोट दुनै, उत्तर–दक्षिण कालीगण्डकी करिडोर, बेनिघाट–आरुघाट– लार्के भन्ज्याङ सडक निर्माणमा संलग्न छ ।

पेशागत क्षमतामा नकारात्मक प्रभाव नपर्ने गरी नेपाली सेनालाई कहाँ, कस्ता, कति विकास निर्माणमा लगाउने भन्ने विषय ऐन र कार्यविधि बनाएर व्यवस्थित गरिने उपप्रधानमन्त्री पोखरेलले केही समयअघि संघीय सदनलाई जानकारी दिए । नेपाली सेना विकास निर्माणमा संलग्न हुँदा राष्ट्र विकासका साथै संगठनको पेशागत दक्षता र क्षमता अभिवृद्धि गर्न मद्दत पुगेको छ । नेपाली सेना विपद् प्रतिकार्य, बाढीपहिरो, भूकम्प जस्ता प्राकृतिक प्रकोपको समयमा पीडितको खोज, उद्धार र राहत कार्यमा पनि अग्र पंक्तिमा रहेर योगदान पुर्‍याउँदै आएको छ ।

Advertisement

नेपालको अस्तित्वसँग जोडिएको पुरातत्वको गढी सुरक्षा, पुनःनिर्माण र संरक्षणको काम पनि पछिल्लो समय नेपाली सेनाबाटै हुँदै आएको छ । नेपाली सेनाका इन्जिनीयर विभाग अन्तर्गतको दक्ष प्राविधिकद्धारा विकास निर्माणसम्बन्धी कार्य समयमै सम्पन्न गरिँदै आएका कारण राष्ट्र विकासका साथै सेनाको पेशागत दक्षता तथा क्षमता अभिवृद्धि गर्नसमेत योगदान हुँदै आएको उपप्रधानमन्त्री पोखरेल बताउँछन् ।

कान्ति राजपथ (६५), त्रिशूली–सोमदाङ (१०५), कटारी– ओखलढुङ्गा (८८), हिले–लेगुवा(२८), सुर्खेत–जुम्ला(८८), गोरखा– अरुघाट –अर्खेत(४५), गोरखा–मनकामना(३६), सातदोबाटो– निवेल– बालुवा ¬¬(¬¬३७¬¬), अबुवा– सिरानडाँडा–भच्चेक(२६), जोमसोम– कोराला(८०), सल्यान– मुसिकोट( ४४), छिन्चु–जाजरकोट(४५) किमी सडक नेपाली सेनाले निर्माण गरेका महत्वपूर्ण सडक आयोजना हुन् ।

रक्षामन्त्री पोखरेल भन्छन्, ‘सेनाको विकास निर्माण कार्यमा संलग्नतालाई सेनाको रुचिको विषय वा उसको निर्धारित कार्यक्षेत्रको अतिक्रमण नमानेर सरकारको निर्णयको कार्यान्वयनका रुपमा बुझ्न तथा त्यसलाई निरपेक्ष रुपमा नहेरी मौजुदा संवैधानिक र कानुनी प्रावधान समेतका आधारमा विश्लेषण र विवेचना गर्न आवश्यक छ ।’ नेपाली सेनाकै व्यवस्थापनमा बाग्लुङ–बेनी– जोमसोम(७५), मुसिकोट–बुर्तिवाङ(३५),बेसीशहर–चामे(६५),नाग्मा– गमगढी(९४), देवस्थल कैनकाँडा–चौरजहारी(४१), काठमाडौँ–तराई–मधेश दु्रतमार्ग(७६) रायचौर–फारुलाचौर(९), मुसिकोट–सल्ले(३), होलेरी– चुनावाङ(१६), मैलुड–स्याफ्रुबँेशी(१७) खाडीचौर– बाह्रबिशे(११), माइतीघर– भद्रकाली(५६५ मिटर), माथिल्लो तामाकोशी जलविद्युत् प्रवेश मार्ग(६), चम्पापुर–बराह क्षेत्र(५), वाग्मती ढल निर्माण(५.६) किमी सडक आयोजना निर्माण भएका हुन् ।

गोर्खा भूकम्पपछि छोटो समयमा निर्माण भएका सबैभन्दा ठूलो परियोजनामध्ये १ सैनिक मुख्यालय जंगीअड्डाको भवन पनि एक हो । उक्त भवन नेपाली सेनाले आफ्नै व्यवस्थापनमा निर्माण गरेको थियो । नेपाली सेनाले पूर्वी भागका जनताको यात्रालाई सहज तुल्याउन अरुण नदीमा २० टन भार क्षमताको फेरीसमेत जडान गरेको थियो । रक्षा मन्त्रालयका अनुसार, नेपाली सेनाको व्यवस्थापनमा निर्माण भएका सडकको लागत र समय दुवै कम हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया