झाँक्रीपानीमा १४ मिटर अग्लाे भ्युटावर

समाधान संवाददाता २०७६ साउन १२ गते १६:२९

राकेश शर्मा
म्याग्दी

म्याग्दीको मंगला गाउँपालिका ३ मा अवस्थित पर्यटकीय स्थल झाँक्रीपानीमा भ्युटावर बनेको छ । गाउँपालिकाको ११ लाख, प्रतिनिधि सभा सदस्य भूपेन्द्रबहादुर थापाको सिफासिरमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममार्फत १० लाख र स्थानीयको ६ लाख बराबरको श्रमदानमा तीनतले भ्युटावर निर्माण गरिएको हो ।

जमिनमा पिल्लर राखेर १४ मिटर अग्लो भ्युटावरका ३ वटै तलामा रेलिङ राखेर दृष्यावलोकन गर्न सकिने पूर्वाधार बनाइएको वडाध्यक्ष कविन्द्र रोकाले जानकारी दिए । वडा कार्यालयको सिफारिसमा गाउँपालिकामार्फत भ्युटावर निर्माणमा बजेट विनियोजन भएपछि गत वर्षदेखि पूर्वाधार निर्माण सुरु गरिएको थियो ।

Advertisement

टावर बनेपछि झाँक्रीपानीमा पर्यटकका लागि आकर्षण थपिएको छ । यस वर्ष नै गण्डकी प्रदेश सरकारको होमस्टे प्रवद्र्धन कार्यक्रम अन्र्तगत डिभिजन वन कार्यालयमार्फत विनियोजन भएको बजेटबाट ८ लाख ९२ हजार लागतमा यहाँ पदमार्ग निर्माण भएको उपभोक्ता समिति सचिव सोमबहादुर छन्त्यालले जानकारी दिए । होमस्टे सञ्चालनका लागि तालिम लिएका २२ घरधुरीलाई समेटेर पदमार्ग र भ्युटावर परिसरमा प्रतीक्षालय निर्माण गरिएको छ ।

झाँक्रीपानीदेखि ऐतिहासिक चिनाकोट दरबार जाने बाटोमा समेत १ लाख ५० हजार खर्चेर पदमार्ग निर्माण गरिएको छ । गाउँपालिकाको केन्द्र बाबियाचौरदेखि झाँक्रीपानी जाने पदमार्ग पनि निर्माण सुरु गरिएको छ । झाँक्रीपानीमा होमस्टे सञ्चालन, पदमार्ग, भ्युटावर, प्रतीक्षालय लगायतका भौतिक पूर्वाधार निर्माणले पर्यटक आगमन बढाउने अपेक्षा गरिएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए ।

Advertisement

गाउँपालिकाले झाँक्रीपानीमा एकीकृत सामुदायिक भवन निर्माण निर्माणसमेत अघि बढाएको छ । सडक सञ्जालले जोडिएको झाँक्रीपानी क्षेत्रमा जाने पर्यटकको सहजताका लागि सडकलाई फराकिलो बनाउने र स्तरोन्नतिसँगै हरियाली सडकका लागि वृक्षारोपणमा जोड र्दिएको गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीले बताइन् । भ्युटावर शुक्रबार गाउँपालिका अध्यक्ष रोकासहित, उपाध्यक्ष केसी, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतम, वडा ३ का अध्यक्ष कविन्द्र रोका, ४ का वडाध्यक्ष ओमबहादुर रोकासहितको टोलीले अवलोकन गरेको छ ।

समुद्र सतहदेखि २ हजार ५ सय ७० मिटर उचाइमा रहेको झाँक्रेपानी सदरमुकाम बेनीदेखि गाडीमा २ घण्टामा पुगिन्छ । यहाँबाट धौलागिरी, गुर्जा, मानापाथी, नीलगिरी, अन्नपूर्ण, माछापुच्छ्रे रेन्जका १६ वटाभन्दा बढी हिमशृंखला अवलोकन गर्न मिल्छ । यहाँ मगर र छन्त्याल समुदायको बसोबास छ ।

तपाईको प्रतिक्रिया