बेरोजगारलाई काम दिन नसक्दा बजेट खर्च भएन

समाधान संवाददाता २०७६ साउन १२ गते १६:५८

ईश्वर देवकोटा
पोखरा

बेराजगार जनशक्तिलाई न्यूनतम रोजगारी दिलाउने उद्देश्यले कार्यान्वयनमा आएको प्रधानमन्त्री रोजगार कार्यक्रम (प्रमरोका) पोखरा महानगरपालिकामा असफल बनेको छ । कार्यक्रममा सहभागी हुन आएका इच्छुक १ हजार ४ सय ३४ बेरोजगारलाई रोजगारी उपलब्ध गराउने पर्याप्त योजना महानगरसँग छैन ।

आर्थिक वर्ष २०७५÷०७६ असार मसान्तभित्रमा नै सक्ने गरी योजना ल्याउन ३३ वटै वडालाई महानगरले गरेको आग्रह वडाले पालना नगर्दा बजेट खर्च हुन सकेन । ससर्त अनुदान बापत महानगरले ‘प्रमरोका’लाई लागि १ करोड रुपैयाँ अनुदान पाएको थियो ।

Advertisement

निकै विवादस्पद बनेको कार्यक्रम मुलुककै ठूलो महानगरमा कार्यान्वयन हुन नसक्नुको कारण वडाकै जनप्रतिनिधिको भूमिका देखिएको छ । ५÷५ लाखका योजना वडाबाट माग गर्दा चासो नदेखाएपछि कार्यविधि अनुसार कार्यक्रम अघि बढाउन सकस परेको हो । जेठ अन्तिममा मात्रै १३ वटा वडाबाट योजना परेका थिए । योजना छनोट भएका वडामध्ये १३, १६, २४ र २७ मा मात्रै कार्यक्रम सञ्चालन गरिएको रोजगार सेवा केन्द्र संयोजक माधवप्रसाद न्यौपानेले जानकारी दिए ।

‘४ वटा वडाले मात्रै कार्यक्रम सञ्चालन गर्न सकें,’ उनले भने, ‘असार मसान्तभित्र नै छनोट भएका योजना सम्पन्न गर्नुपर्ने प्रावधानले पनि सबै वडामा सञ्चालन हुन सकेन ।’

Advertisement

ससर्त अनुदान बापत खर्च हुने बजेट कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत वडाले योजना अनुसारको अग्रिम रकम पेस्की स्वरुप लगिसकेको उनले बताए । योजना छनोट भएका तर कार्यान्वयन हुन नपाएकाले महानगरलाई प्राप्त बाँकी रहेको बजेट स्वतः फिर्ता भएको छ । आर्थिक वर्ष २०७६÷०७७ का लागि उक्त कार्यक्रमका लागि महानगरले संघीय सरकारमार्फत २ करोड रुपैयाँ बजेट खर्चिन पाउनेछ ।

कुन वडामा कस्तो काम, कति खर्च
पोखराका ४ वटा वडामा सञ्चालन भएको प्रधानमन्त्री रोजगार कार्यक्रमले १ सय ७६ जनालाई ४७ दिन काम दिलाएको छ । चौतारो, बाटो, पदमार्ग, साइकल ट्र्याक निर्माण र सार्वजनिक स्थलहरुको सफाइ जस्ता योजना वडाले माग गरेअनुसारको छनोटमा परेका थिए । कार्यक्रम सञ्चालनबाट महानगरले ४ वटा वडामा १६ लाख ६ हजार रुपैयाँमात्र खर्च गरेको छ । योजना लागतको ७० प्रतिशत अनिवार्य खर्चनु पर्ने कार्यविधिले निर्देशन गरेको छ ।

स्थानीय पार्क निर्माण, मर्मत सम्भार र नाला सरसफाई योजना छनोट भएको वडा १३ मा ४५ जनाले १० दिन काम पाएका छन् । उक्त वडामा योजना सम्पन्न गर्न ४ लाख ६ हजार रुपैयाँ खर्च भएको रोजगार संयोजक माधवप्रसाद न्यौपानेले जानकारी दिए । वडाका चौतारो निर्माण तथा मर्मत सम्भारको काम उत्साहका साथ सम्पन्न गरिएको उनले बताए । सार्वजनिक स्थलहरुको सरसफाइ तथा व्यवस्थापनको काम भएको संयोजक न्यौपानेले जानकारी दिए ।

सडकको नाला सफाइ तथा हात्तीढुंगा पथको ढलान निर्माणका लागि योजना पारेको वडा १६ मा ५ जनालाई ७ दिन काम दिइएको छ । योजनाअनुसार २ लाख खर्च भएको हो । वडा २४ र २७ ले भने कार्यविधिले निर्धारण गरेका पूरा रकम ५÷५ लाख रुपैयाँ खर्च भएको छ । वडा २४ अन्तर्गत देउरालीदेखि माइको खोरसम्म पदमार्ग तथा साइकल ट्र्याक निर्माण गर्ने काम सम्पन्न भएको संयोजक न्यौपानेले जानकारी दिए । उक्त वडामा सबैभन्दा बढी ९५ जनालाई १० दिनसम्म काम दिइएको थियो ।

वडा २७ अन्तर्गत चन्द्रकालिका मन्दिरसम्म पुग्ने सिँढी बाटो बनाइएको छ । उक्त वडामा रहेका ३१ जना जनशक्तिलाई २० दिनसम्म काम दिइएको थियो । कामदारलाई दैनिक ७ सय रुपैयाँको दरले ज्याला दिइएको संयोजक न्यौपानेले जानकारी दिए । सरकारले लागु गरेको न्यूनतम पारिश्रमिक वा स्थानीय तहले निर्धारण गरेका ज्यालादर जुन उपयुक्त हुन्छ, उक्त दर दिन सकिने प्रावधान छ । जिल्ला समन्वय समिति कास्कीले निर्धारण गरेको अदक्ष कामदारको ज्याला दैनिक ७ सय रुपैयाँ छ । समन्वय समितिले निर्धारण गरेको ज्याला महानगरले लागू गरेको हो ।

तपाईको प्रतिक्रिया