६ हजार चालकबाट ४२ लाख संकलन

समाधान संवाददाता २०७६ साउन १३ गते १३:०४

समाधान संवाददाता, म्याग्दी

जिल्ला ट्राफिक कार्यालय म्याग्दीले गत आर्थिक वर्ष २०७५७६ मा नियम उल्लंघन गरी सवारी साधन चलाउनेलाई कारबाही गरी करिब ४२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । गत वर्ष ६ हजार २०० जिप, कार, ट्रक, मोटरसाइकल र ट्याक्टर चालकलाई सवारी नियम उल्लंघन गरेकोमा कारबाही गरिएको कार्यालयले जनाएको छ ।

जरिवाना वापत ४१ लख ९३ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी जवान वैकुण्ठ पौडेलले जानकारी दिए । सवारी साधनको स्वरुप परिवर्तन गर्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, क्षमत्ता भन्दा बढी यात्रु बोक्ने, सवारी चालक अनुमतिपत्र र सवारी धनी प्रमाणपत्रबिना सवारी चलाउने चालक तथा सवारी धनीहरुलाई कारबाही गरिएको हो ।

Advertisement

दुर्घटना न्यूनीकरणका लागि जाँचमा कडाइ, जनचेतनामूलक कार्यक्रम, लामो समयदेखि बागलुङमा रोकिएको सवारी चालक अनुमतिपत्र वितरण हुनु लगायत कारणले अघिल्लो वर्षको तुलनामा कारबाही हुने सवारी संख्या, राजस्व र दुर्घटनामा कमी आएको ट्राफिक प्रहरीले जनाएको छ ।

असोज महिनामा सबैभन्दा बढी ८०० सवारी साधनका चालक तथा धनी कारबाहीमा परेका छन् । असोज र कात्तिक महिनामा बराबर ५ लाख ४४ हजार रुपैयाँका दरले राजस्व उठेको छ । गत वर्ष भएका ७ वटा दुर्घटनामा २ जनाको ज्यान गएको छ ।

Advertisement

अघिल्लो वर्ष भएका १४ वटा सवारी दुर्घटनामा ११ जनाको मृत्यु र ३२ जना घाइते भएका थिए । बेनीसहित दरबाङ, सिंगा तातोपानी र भुरुङमा समेत ट्राफिक प्रहरी खटाइएको छ । ९ जना दरबन्दी भएपनि १२ जना कार्यरत छन् । कार्यालयका प्रमुख मित्रलाल ढकालले दुर्घटना न्युनीकरणका लागि सवारी चालक, सर्वसाधारण र विद्यार्थीलाई लक्ष्य गरेर जनचेतना अभिवृद्धिमा जोड दिएको बताए ।

सवारी चालकको सडकमै सवारी परिक्षण, सडकमै यात्रु र चालकलाई प्रशिक्षण, सिकारु चालकलाई प्रशिक्षण, विद्यार्थी कक्षा, ब्यवसायी र चालकहरुसँग अन्तत्र्रिmया गरिएको थियो । ट्राफिक नियम सम्बन्धी पर्चा पम्पलेट समेत वितरण गरिएको छ । त्यस अवधिमा भएका १४ वटा दुर्घटनामा ११ जनाको मृत्यु, १९ गम्भीर र १३ जना सामान्य घाइते भएका छन् । क्षमत्ता भन्दा बढी यात्रु बोक्नु, चालकको लापरबाही, तीब्र गति, सडकको जिर्ण अवस्था र मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा दुर्घटना भएको हो ।

सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनका लागि विद्यार्थी, सर्वसाधारण र सवारी चालक लक्षित प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ । २३ पटक आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा १ हजार ३३ जनालाई प्रशिक्षण दिइएको छ । मापसे परीक्षण गर्ने मेसीन थप र सवारीको गति जानकारी पाउने राडर गनको व्यवस्थाका साथै जनशक्ति र पोष्ट थप गर्न पहल गरिएको छ । हाल १० जना कार्यरत रहेकोमा दरबन्दी थप गर्ने प्रक्रिया अघि बढेको छ । बेनीका साथै भुरुङ तातोपानी र सिंगा तातोपानीमा समेत ट्राफिकको पोष्ट रहेको छ ।

तपाईको प्रतिक्रिया