जोमसोम–कोरला सडककाे आधाभन्दा बढी भाग ग्राभेल

समाधान संवाददाता २०७६ साउन १३ गते १३:४०

एसके थकाली
मुस्ताङ

जोमसोम–कोरला सडकको ५० प्रतिशतभन्दा बढी भाग ग्राभेल भएको छ । २ लेनको १ सय १० किलोमिटरको यो सडको करिब ४० किलोमिटरको काम भने सुस्त छ । नेपाल–चीन सीमा कोरला नाका जोड्ने राष्ट्रिय गौरव आयोजनाको ७ प्याकेजमा ३ वटा प्याकेजको काम अन्तिममा पुगेको हो ।

यसअघि छोसेर–कोरला १४ किमी ग्राभेल सडक गत असोजमै करिडोरलाई हस्तान्तरण भएको हो । जोमसोम–ताङ्वे १८ किमी सडक ग्राभेल भएको छ । यहाँ केही स्थानमा नाली बनाउने काम बाँकी छ । करिडोरका इन्जिनियर अश्विनीकुमार यादवले जोमसोमदेखि चैलेसम्मको २९ किमी सडकको सबै काम २ महिनाभित्रै सकिने बताए ।

Advertisement

बाटो ग्र्राभेल भएपछि जोमसोमदेखि छुसाङ, मुक्तिनाथ र उपल्लो मुस्ताङको यात्रा सहज हुँदै गएको छ । रोलरले अठ्याएको ग्राभेल सडकमा सवारीको गीत बढेको छ । जोमसोमदेखि छुसाङ डेढ घण्टा लाग्नेमा ४५ मिनेटमा पुग्न सकिने भएको छ । मुक्तिनाथ जान पनि समय छोट्टिएको छ । कालिगण्डकी करिडोरले जोमसोमदेखि कागबेनीसम्म कालोपत्रेको प्रस्ताव विभागमा पुर्‍याएको इन्जिनियर यादवले बताए । उनले भने, ‘जोमसोमदेखि माथि २९ किमी सडक ग्राभेल पूरा हुँदै छ । सडक हस्तान्तरण भए कालोपत्रे गर्न सकिन्छ ।’ उनले छोसेर–कोरला ग्राभेल सकिएकाले त्यहाँ पनि कालापत्रे गर्न सकिने उल्लेख गरे ।

झैतेदेखि चराङको ९० प्रतिशत काम भएको करिडोरले जनाएको छ । यहाँ पनि धमाधम ग्राभेल हुँदै छ । तर, कोरला सडकको समर–भेना ११ किमी सडक र चराङ–छोसेर २५ किमी सडकको काम अपेक्षा गरे अनुसार प्रगति भएको देखिन्न । जोमसोममाथिका ५ वटै खण्डको पूरै काम दसंै–तिहारभित्र सक्ने करिडोर सडक आयोजना प्रमुख मुकुन्द अधिकारीको भनाइ छ ।

Advertisement

जोमसोम–कोरला सडक २०७४ सालदेखि सुरु भएको हो । असारमा सकिनुपर्ने सबै काम अझै लम्बिने देखिएको छ । उपल्लो मुस्तारको समर र झो खोलामा ढुंगा कटिङ गर्नुपर्ने भएकाले निर्माणमा ढिलाइ भएको हो । ५० प्रतिशत काम सकिएको चराङ–छोसेर सडक स्तरोन्नति पनि सुस्त देखिएको छ । त्यहाँ दिवा डाँफे रौटाहा जेभीले कामको जिम्मा लिए पनि कम्पनीको चरम ढिलासुस्ती देखिएको छ ।

गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले निर्माण कम्पनीले सडक निर्माणमा वेवास्ता गरेको बताए । उपल्लो मुस्ताङमा हिउँद याममा काम चिसोले ठप्प हुन्छ । वर्खा याममा पनि यहाँ काम भएको छैन ।

करिडोरले बेनी–जोमसोम सडकको मार्फा–टुकुचे करिब ५ किमी सडकमा अस्पाल प्रविधिमा कालोपत्रे गर्ने जनाए पनि त्यहाँ अझै अघि बढ्न सकेको छैन । बेनी–जामसोम सडकमा कमा सुस्त देखिएको छ । अत्यधिक वर्षा र सवारी साधनको आउजाउ बढी हुने भएकाले पनि काममा ढिलाइ भएको करिडोरले जनाएको छ ।

तपाईको प्रतिक्रिया