१ वर्षमा १ हजार घरमा बिजुली

समाधान संवाददाता २०७६ साउन १३ गते १३:५७

कृष्ण न्यौपाने
दमौली

तनहुँका विभिन्न ठाउँका १ हजार घरमा बिजुली विस्तार भएको छ । नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले आर्थिक वर्ष ०७५÷७६ मा आँबुखैरेनी, बन्दीपुर, रिसिङ गाउँपालिका र व्यास नगरपालिकाका हजार घरधुरीमा बिजुली विस्तार गरेको हो ।

आँबुखैरेनी गाउँपालिका–६ को ज्यामिरे छापस्वाँरा, ढेडगाउँको १ सय १०, बन्दीपुर गाउँपालिका ६ को ग्याजाटारको १ सय १५, साराङघाटको १ सय १०, रिसिङ गाउँपालिका–३ नाजुङको १ सय २०, दुभुङको १ सय २०, खाल्टुभञ्ज्याङको १ सय ३०, रिसिङ गाउँपालिका २ गुम्लेकको ६० र व्यास नगरपालिका १३ सुढेपुलको १५ घरधुरीमा बिजुली विस्तार गरिएको वितरण केन्द्रका प्रमुख शिव गोशलीले जानकारी दिए ।

Advertisement

उक्त अवधिमा ७६.७ किमी लाइन विस्तार भएको छ । ११ केभीको ३२ हजार ४ सय ४० भोल्ट को ५.८, ४४० भोल्ट को ७.८ र २ सय भोल्ट (१ फेज)को २३ किमी लाइन विस्तार गरिएको छ । बिजुली विस्तारका लागि ३ करोड बजेट खर्च भएको छ ।

यो अवधिमा हजार घरधुरीमा बिजुली विस्तार भएपछि जिल्लाको ८५ प्रतिशत घरधुरीमा बिजुलीको पुगेको छ । बाँकी १५ प्रतिशत घरधुरीमा अबको डेढ वर्षभित्र बिजुली विस्तार गर्ने योजना छ । गोशलीका अनुसार देवघाट गाउँपालिका, रिसिङ गाउँपालिका, बन्दीपुर गाउँपालिका, घिरिङ गाउँपालिका र व्यास नगरपालिकाका १२ हजार घरधुरीमा बिजुली सुविधा पुग्न सकेको छैन ।

Advertisement

विद्युतीकरणका लागि बन्दीपुरको साराङघाटमा ८ एमबिएको सबस्टेसन निर्माण गरिएको छ । यो सबस्टेसनबाट आँबुखैरेनीसम्म १९ किमीसम्म लाइन तानेर आँबुखैरेनीका विद्युत नपुगेका गाउँमा विद्युत सेवा पुर्‍याइनेछ । सोही सबस्टेसनबाट नयाँ फिडर निकालेर देवघाट गाउँपालिकाका कोटा, वैदी, छिपछिपे लगायतका ग्रामीण वस्तीमा बिजुली पुर्‍याइनेछ । बुद्धसिं फिडरमार्फत् आँबुखैरेनी गाउँपालिका वडा नं ५ र ६, बन्दीपुर गाउँपालिका वडा नं ६ खहरे, व्यास नगरपालिका वडा नं १४ नाल्दीघाट लगायतका बुद्धसिं मार्गका छेउछाउका वस्तीमा विद्युतीकरण गरिने गोशलीले जानकारी दिए ।

कार्यालयले आर्थिक वर्ष ०७५÷७६ मा १७ ठाउँमा नयाँ ट्रान्सफर्मर थप गरेको छ । म्याग्देको मुलावारी, ओटाङ्दी, व्यासको सुढे, बागभन्ज्याङ, सितल गुफा, रिसिङको नाजुङ, दुभुङ, खाल्टुभन्ज्याङ, गुम्लेक, बन्दीपुरको तीनधारा जुनडाँडा, साराङघाट, ग्याजाटार, भानुको खहरे, भन्सार, आँबुखैरेनीको छापस्वाँरा र मिलनचोकमा ट्रान्सफर्मर थप भएको छ ।

२ हजार १ सय ग्राहक थप
वितरण केन्द्रमा आर्थिक वर्ष ०७५÷७६ मा २ हजार १ सय ७ नयाँ ग्राहक थपिएका छन् । थपिएका ग्राहकमध्ये १ हजार घरधुरी बिजुली विस्तार भएका घरधुरी हुन् । बाँकी बजार क्षेत्रमा नयाँ घर बनेर विद्युतीकरण भएका घरधुरी हुनु् । वितरण केन्द्रमा हाल ३६ हजार २ सय २३ ग्राहक छन् । गत आर्थिक वर्ष ०७४÷७५ मा जिल्लामा ३४ हजार १ सय १६ ग्राहक थिए ।

केन्द्रले ३ करोड ६१ लाख १९ हजार ३ सय ४२ युनिट बिद्युत बिक्री गरेर ३८ करोड ४४ लाख १० हजार ९ सय ३१ रकम संकलन गरेको छ । गत वर्ष केन्द्रले ३ करोड ४१ लाख ९५ हजार २ सय ६ युनिट विद्युत बिक्री गरेर ३३ करोड २९ लाख ८१ हजार ८ सय ८८ संकलन गरेको थियो ।

कार्यालयले सोही अवधिमा बक्यौताबापत १ करोड ४२ लाख ७४ हजार २ सय ८६ असुली गरेको छ । ९ सय ३१ ग्राहकको लाइन काटेर उक्त बक्यौता असुल गरिएको केन्द्रले जनाएको छ । गत आर्थिक वर्षमा ३ सय ३७ ग्राहकको लाइन काटेर ६१ लाख ७५ हजार ७ सय ५३ असुली भएको थियो । सोही अवधिमा १ सय २५ ग्राहकलाई विद्युत चोरी गरेबापत कारवाही गर्दा ६ लाख ६ हजार ६५ सङ्कलन भएको केन्द्रले जनाएको छ । गत आर्थिक वर्षमा २५ जनालाई कारवाही गर्दा १ लाख ४५ हजार ४ सय ७२ संकलन भएको थियो ।

तपाईको प्रतिक्रिया