अर्गानिक तरकारी फलाउन मानव मुत्रको प्रयोग

समाधान संवाददाता २०७६ साउन १४ गते १२:४५

सुशील सुवेदी
वालिङ

फोहोर भनेर फ्याकिने मलमुत्र कृषि क्षेत्रमा अर्गानिक उत्पादनमा उपयोग हुन थालेको छ । स्याङ्जाको १ सामुदायिक विद्यालयले मानव मुत्र अर्गानिक उत्पादन बढाउन उपयोग गरेको छ । बोट बिरुवालई चाहिने रासायनिक पदार्थ मानव मुत्रबाट पाइने भएकाले रासायिनिक मलको सट्टा मुत्र उपयोग गरिएको हो ।

कालीगण्डकी गाउँपालिका ६ दब्छेको धुव्रज्योति माध्यमिक विद्यालयले शौचालयमा मूत्र संकलन गर्ने भाँडो राखेको छ । प्रयोगात्मक अभ्यास अन्तर्गत २०७१ सालमा १ विद्यार्थी १ फूलबाट अभियान थालनी गरेको हो । अहिले विद्यालय करेसाबारीमा सुरु गरिएको छ । विषादी हालेका तरकारी तथा फलफूलमात्र बजारमा रहेका बेला मानव मूत्र प्रयोग गरी अर्गानिक खेतीबाटै उत्पादन राम्रो भएको देख्दा अभिभावकसमेत खुसी छन् ।

Advertisement

५ वर्षअघि सुरु गरिएको अतिरिक्त क्रियाकलाप अन्तर्गत जीवनोपयोगी शिक्षाबाट आम्दानी भएको रकम विद्यालयको पुस्तकालय कोषमा राखिएको छ । वर्षमा १ लाखभन्दा बढीको तरकारी स्कुलबाट बिक्री भएको प्रधानाध्यापक हीराबहादुर गाहाले बताए । उनले भने, ‘विद्यालयमा सिकेको ज्ञान विद्यार्थीले घरमै प्रयोग गर्न थालेका छन् ।’

छात्र, छात्रा र शिक्षकको शौचालयमा मूत्र संकलन गर्ने छुट्टाछुट्टै भाँडो राखिएको छ । विद्यार्थी तथा शिक्षकले सोही भाँडोमा मुत्र विसर्जन गर्ने र अर्को भाँडोमा केही हप्ता राखेपश्चात पानीमा मिसाएर खेतीमा प्रयोग गरिन्छ । बिरुवालाई आवश्यक पर्ने नाइट्रोजन, फस्फोरस, पोटासियम जस्ता तत्व मानव मुत्रमा हुने भएकाले तरकारी तथा फलफूल खेतीमा यसको प्रयोग निकै प्रभावकारी हुने शिक्षक मनबहादुर थापाले बताए । झोलाभित्रको पुस्तकले सर्टिफिकेटको ज्ञान दिए पनि कामले प्रयोगात्मक ज्ञान दिने गरेको थापाको भनाइ छ ।

Advertisement

विषादीको प्रयोगले माटोको उर्वराशक्ति घटाउँदै उत्पादनमा ह्रास आउँछ । कीटनाशक विषादी प्रयोग गर्दै तरकारी, फलफूलको आयु बढाउने, तौल वृद्धि गर्ने जस्ता प्रवृत्तिको विकास भइरहेको बेला मानव मुत्रको प्रयोगले कीटनाशक औषधीलाई विस्थापित गर्न सकिने शिक्षकहरुको भनाइ छ । विद्यालयले १ विद्यार्थी १ उत्पादन कार्यक्रम लागु गरेसँगै देशका विभिन्न सामुदायिक विद्यालयबाट अवलोकन गर्न शिक्षक तथा विद्यार्थी आउने गरेका छन् । विद्यालयले वार्षिक रुपमा सिमी, घिरौँला, काउली, बन्दा लगायत तरकारी उत्पादन गर्दै आएको छ ।

२०३४ सालमा स्थापित उक्त विद्यालयले विद्यार्थीको शैक्षिक गुणस्तर उकास्ने खालका कार्यक्रम लागु गर्दै आएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष मनिकण्ठ न्यौपानेको भनाइ छ ।

पानी र मानव मुत्रलाई मिश्रण गर्दै प्रयोग गर्ने यो विधिले तरकारी फलफुलमा कीरा नलाग्ने, उत्पादन राम्रो हुने र माटोको उर्वराशक्ति बढ्ने कारणले यस विधिको प्रयोग घरमा पनि प्रभावकारी हुन थालेको कक्षा १० मा अध्ययनरत छात्रा सुमिना श्रेष्ठले बताइन् । ‘पिसाबमा हुने विभिन्न तत्वमध्ये तरकारी तथा फलफूललाई आवश्यक तत्व जराबाट दिन्छौं तर हानिकारक तत्वको निराकरण गर्न मानव मुत्र पानीमा मिश्रण गर्ने र केही हप्ता भाँडोमा नै राख्ने राखेर गर्ने गर्छौैँ,’ श्रेष्ठले भनिन् ।

तपाईको प्रतिक्रिया