अनि हाँसपोखरीमा हाँसो आयो

समाधान संवाददाता २०७६ साउन १४ गते १४:२८

समाधान संवाददाता
पोखरा

खानेपानीको दुखले हाँसपोखरीबासीको चैन हराउँथ्यो । अरु सुविधा गाउँ पुगे पनि खानेपानीकै समस्याले उनीहरुलाई पिरोल्थ्यो । अचेल हाँसपोखरीबासी खुसी छन् । घरघरै बनेका चिटिक्कको धाराबाट खानेपानी झर्दा उनीहरुको अनुहारमा हाँसो छाएको छ ।

कास्कीको रुपा गाउँपालिका–७ हंसपुरस्थित हाँसपोखरीका ८८ घरपरिवार यतिबेला खानेपानीको सुविधा पुगेपछि उत्साही छन् । लिफ्टिङ प्रविधिबाट दाता र गाउँपालिकाले खानेपानीको सुविधा दिलाएका छन् ।

Advertisement

खानेपानीको समस्याले पिल्सिएका हाँसपोखरीबासीको दुख दूर गराउने काम गर्‍यो, युनिका फाउन्डेसन नेदरल्यान्ड्सले । उसलाई साथ दिने र वातावरण बनाउने काम गर्‍यो, रुपा गाउँपालिकाले ।

खानेपानीका लागि फाउन्डेसनले १ करोड १७ लाख ५५ हजार रुपैयाँ छुट्यायो । स्थानीयले जुटाए ४० लाख । रुपा गाउँपालिकाले ६ लाख रुपैयाँ हालेर थपथाप गर्‍यो । नेपाल रेडक्रस सोसाइटीले ३ लाख रुपैयाँ हालेर सघायो । यसरी गाउँमा खानेपानी आयोजना बन्यो अनि हाँसपोखरीबासीको मुहारमा खुसी छायो ।

Advertisement

१ करोड ६६ लाख रुपैयाँमा सम्पन्न भएको खानेपानी आयोजनाबाट ८८ घरका ४ सय ४० जनाले पानी पिउन पाए । सोही खानेपानी आयोजनाको उद्घाटन गर्दै रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले भने, ‘अबको ३ महिनाभित्रै यसरी सिंगो रुपाबासीले घरघरमा खानेपानीको सुविधा पाउने छन् ।’ किनकि रुपा गाउँपालिकाले खानेपानीलाई प्राथमिकतामा राखेर बजेट बिनियोजन गर्‍यो । गण्डकी प्रदेश सरकारले गठनलगत्तै नीति लिएको छ, ‘२ वर्षभित्र सबै प्रदेशबासीलाई खानेपानीको आधारभूत सुविधा पुर्‍याउने ।’

गाउँपालिका, प्रदेश सरकार र दाताको जोडबरमा रुपा गाउँपालिकाका सबै जनताले आधारभूत खानेपानीको सुविधा पाएका छन् । अब सहायक रुपमा पाइप बिछ्याएर घरघरै खानेपानी पुर्‍याउने काम चलिहरेको छ ।

रुपाबासीलाई सबैभन्दा बढी खड्किरहेको समस्या नै, खानेपानीको थियो । गाउँपालिका अध्यक्ष ओझा भन्छन्, ‘तर, यो समस्या अब रहँदैन । जुनदेखि जनप्रतिनिधिको सपथ लियौं । त्यही दिनदेखि एक घर एक धाराको नीति लिएर धमाधम काम गर्‍यौं ।’

हाँसपोखरीवासीजस्तै रुपाको रइकरबेसी, जुकेपानी, नेपालपाखा, टाकान्जा, माउडाँडा, पोखरेल डिही, भारपोला पितौली खानेपानी आयोजनाबाट स्थानीयले खानेपानीको सुविधा लिइरहेका छन् । गत आर्थिक वर्षमामात्रै रुपा गाउँपालिकामा ३६ वटा खानेपानी आयोजना सम्पन्न भएका छन् ।

रुपा गाउँपालिकालेमात्रै ५ करोड रुपैयाँ खानेपानीका लागि बिनियोजन गरेको थियो । रेडक्रस, युनिका, रोटरी लगायत दातासँगको साझेदारी, प्रदेश सरकार र संघीय सरकारको करिब १० करोडको लगानीमा खानेपानी आयोजना निर्माण भए । युनिकाकै सहयोगमा हंशपुरमै ५ करोड रुपैयाँमा खानेपानी आयोजना निर्माण भइरहेको छ ।

‘प्रतिवद्धताअनुसार नै अब सबै रुपावासीले आधारभूत खानेपानीको सुविधा पाएका छन् । एक घर एक धारा नीतिअनुसार धारा बनेका छन् । अबको ३ महिनाभित्रै पाइप बिछ्याएर घरैघरै पानी पुर्‍याइन्छ ।’

अबको वर्षभित्रै घरघरमा खानपानी पुर्‍याएर विस्थापित हुने क्रम रोक्ने र आयआर्जन बढाउने लक्ष्य गाउँपालिकाले लिएको छ । रुपा गाउँपालिकामा सडक, बत्ती, इन्टरनेट लगायत अरु सुविधा पुगिरहेका छन् । अब सबै रुपाबासीलाई आधारभूत खानेपानीको सुविधा पनि पुगेपछि धेरै स्थानीयलाई राहत मिलेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले बताए ।

३ महिनाभित्र सबै घरमा धारा जडान गरेर एक घर एक धारायुक्त गाउँपालिका घोषणा गर्ने तयारी भइरहेको पोखरेलले जानकारी दिए । रुपा गाउँपालिका कास्की जिल्लाकै सानो स्थानीय तह हो । जनतासम्म विकास पुर्‍याउने हिसाबले पनि यो गाउँपालिकालाई सहज छ । जिल्लाका स्थानीय तहमध्ये कान्छा अध्यक्ष छन् । युवा जोसका साथ अध्यक्ष ओझाले स्थानीय तहरुमै नमूना काम गरिरहेको जिल्ला समन्वय समिति अध्यक्ष बैनबहादुर क्षेत्री बताउँछन् ।

तपाईको प्रतिक्रिया