आँटी छोरालाई बाघले खाँदैन

समाधान संवाददाता २०७६ साउन १४ गते १४:५६

सुरज श्रेष्ठ

खाइलाग्दो जिउ । लट्टा पारेको कपाल । हक्की स्वभाव । उमेरले हाफ सेन्चुरी मारिसकेको पत्याउन गाह्रो । दिन आरामभन्दा बेसी काममा बित्छ । पैदलै हिँड्नु, साइकलमा कुद्नु वा कहिले डोरीमा झुन्डिँदै बञ्जिजम्प गर्नु उनका सौख र रुचि हुन् । एभरेस्ट म्याराथन गरिसके । अन्नपूर्ण म्याराथन किन छाड्थे !

यी हुन् पोखराका राम गुरुङ । उमेर ५० वर्ष पुग्यो । निकै हट्ठाकट्ठा उनलाई देख्नेहरुले पत्याउन मुश्किल पर्छ कि उनी मुटुका बिरामी छन् । निर्भीकता उनको स्वभाव हो । कुनै पनि साहसिक काममा उनी पछि पर्दैनन् । सधैं अघिमात्रै सर्छन् । पोखरा १२ का यी मनुवालाई मुटुको बेथाले च्यापेको २५ वर्ष भइसक्यो । सुन्दा कसैले पत्याउँदैन । तर सत्य यही हो । स्वयं चिकित्साकर्मीलाई पनि चकित पार्दै उनी आत्मविश्वासी जीवन बाँचिरहेका छन् । नेपालका चर्चित र प्रसिद्ध मुटुरोग विशेषज्ञ डाक्टर भगवान कोइराला राम गुरुङलाई आत्मविश्वासी बिरामी मान्छन् । भन्छन्, ‘वास्तवमा बिरामी औषधीले भन्दा छिटो आत्मविश्वासले छिटो निको हुन्छ, राम गुरुङ औषधीले भन्दा ज्यादा आत्मविश्वासले बाँचेका मान्छे हुन् ।’

Advertisement

बिरामीको दिनचर्या भन्दा फरक छ रामको जीवन । सामान्य र निरोगी मानिसकै दिनचर्या बिताउँछन् उनी । पोखरा १२ शीतलादेवीमा उनको फोटो स्टुडियो छ । जहाँ राम दिनहुँ काममा खटिरहन्छन् । उनको चासो आफूजस्तो मुटुरोगीलाई आत्मविश्वास बढाउने हुन्छ । कहिँकतै मुटुका बिरामीका कार्यक्रम छन् भने त्यहाँ पुगेर आत्मविश्वास जगाइहाल्छन् । पोखरासिटी डटकम उनकै सक्रियतामा सक्रिय अनलाइन हो । जहाँ दिनहुँ उनी केही न केही पोस्ट गरिरहेका हुन्छन् । कहिले साइक्लिङ जाँदाका दृश्य हाल्छन्, कहिले मोडलहरुका । फोटोग्राफी उनको सौख जो हो ।

समाचार फोटोग्राफी उनको रुचि हो । समाचार फोटोका लागि घन्टामात्रै होइन दिन बिताइदिनसक्ने खुबी उनमा जो छ । त्यही स्वभावले पत्रकारहरुका प्रिय मित्र र प्रिय फोटोपत्रकार उनी बनेका छन् । पत्रकार महासंघ कास्कीको कोषाध्यक्षमा उनी त्यही स्वभावले २०६४ सालमा जो विजय बनेका थिए । पछि फेरि पत्रकार महासंघका चुनावहरुमा उनी निर्णायक सधैैं रहे ।

Advertisement

सौखले नै उनी फोटोग्राफी र फोटो पत्रकारितामा आए । साथीभाइसँगको संगतकै कारण पोखरासिटी डटकममा लागे । फोटो खिच्न थाले । मोडलिङ फोटोग्राफीसँगै न्युजफोटोग्राफीसँग परिचित भए । फोटो र भिडियो जसै उस्तै र निकट विधा हुन् उनी पनि यस्तै विधासँग पहिल्यै परिचित पनि थिए । खासमा उनी पहिला भिडियो पसल चलाउँथे । भिडियो क्यासेटको व्यापार उनी गर्थे । त्यो अरु व्यापारजस्तै व्यापारमात्रै थियो । पछि उनी भने रुचिका दृश्य आफ्नो क्यामेरामा कैद गर्न मजा मान्न थाले र फोटोग्राफी र फोटा् पत्रकारितातिर आकर्षित बने । पोखरा र देशका थुप्रै चर्चित मिडियामा उनले खिचेका फोटो प्रकाशित भएका छन् ।

राम २÷३ कक्षामै पढ्दै थिए । एक दिन उनलाई ज्वरो आयो । ज्वरोलाई ज्वरोमात्रै ठानेर औषधोपचार भयो । तर रामलाई बिसेक भएन । उनको जोर्नी दुख्न थाल्यो । कत्ति बिसेक नभएपछि डाक्टर कुमार शमरेर राणासँग जँचाए । ‘रिमेटिक फिभर’ अर्थात बाथ ज्वरो भन्ने पत्ता लाग्यो । तर खासमा उनलाई बाथ ज्वरोले नै मुटुमा धक्का दिइसकेको रहेछ । उनलाई मुटुरोगले च्याप्यो । भन्छन्, ‘मेरो मुटुको अर्वोटिक भल्बले राम्रोसँग काम नगरेको रहेछ । त्यही कारण मलाई ३÷३ हप्तामा पेनेडियुरा भन्ने १२ लाख युनिटको इन्जेक्सन लगाउन पथ्र्यो, त्यो इन्जेक्सनको पीडा ३÷४ दिन सम्म हुन्थ्यो । सोही इन्जेक्सनकै कारण मलाई हिँड्डुल गर्न गाह्रो पथ्र्याे । अति नै अह्सय पीडाकोे कारण सुई हाल्ने दिन नआइदेओस् जस्तो लाग्थ्यो । बिस्तारै औषधी खादै सुई लगाउँदै जीवन सहज बनाउँदै गरेँ ।’

आफूजस्तै साथीहरु खेल्न जाँदा उनलाई पनि मन लाग्थ्यो र तर मौका पाउँदैनथे । मुटरोगकै कारण ती सबै कुराबाट उनलाई बञ्चित भइरहेका थिए । तर पनि लुकीलुकी खेल्न जान्थे । औषधीकै सहारामा उनले बाल्यकाल बिताए । एसएलसी दिएपछि जागिर खाँदै पढ्न थाले । दिन बित्दै जाँदा उनलाई उपचार गर्नुपर्छ भन्ने लाग्यो । साथीहरुलाई लिएर भारतको भेलोर पुगे । त्यहाँका चिकित्सकले भल्ब फेर्नुपर्छ भने । त्यसका लागि खर्च धेरै लाग्ने डाक्टरले बताए । त्यति बेला आर्थिक अवस्था राम्रो थिएन । बाबाको मजदुरीले परिवारको छाक टथ्र्याे । ‘भेलोरमा अप्रेरसन गर्न सक्ने मेरो आर्थिक हैसियत नै थिएन । भेलोरसम्म पनि साथीभाइको सहयोगले पुगेको थिएँ,’ उनी भन्छन्, ‘उपचारकै क्रममा थोरै भएको जग्गा पनि बेचेर सकियो ।’

भेलोरमा उपचार गराउन नसक्ने भएपछि राम नेपाल फर्किए । फेरि साइबाबा अस्पताल हैदराबाद सिकन्दर अनन्तपुर भन्ने ठाउँमा मुटुको निःशुल्क उपचार हुन्छ भन्ने थाहा पाए । त्यसपछि साथीहरुलाई लिएर गए । त्यहाँ निःशुल्क उपचार त हुने तर अप्ररेसनको डेट साह्रैपछिको पाए, निराश हुँदै नेपाल फर्किए । औषधी खाँदै कर्म गर्दै गए । त्यही क्रममा एकजना साथीले कान्तिपुर दैनिक पत्रिकामा प्रकाशित लेख पढ्न सुझाए । त्यहाँ लेखिएका थियो, ‘मुटुरोगको उपचारमा हामी सक्षम छौं, तर हामीलाई कसैले पत्याउँदैन ।’

त्यो लेख भएको पत्रिका लिएर राति नै काठमाडौं हानिए । शिक्षण अस्पतालमा टिकट काटे । डाक्टरलाई आफ्नो बेलिबिस्तार सुनाए । डाक्टरसँग भने, ‘म अप्रेसन गर्न तयार छु । मेरो अप्ररेसन गर्दिनु ।’ डाक्टरले पनि आवश्यक सबै जाँच गरे । डाक्टर भगवान कोइरालाको नेतृत्वमा ओपन हार्ट सर्जरी भयो । अप्रेसनपछि आइसियूमै हुँदा फेरि भल्ब बल्क भयो । त्यसपछि अप्रेसन टेबलमा लगेर डाक्टर कोइराला आफैले रगत दिएर फेरि अप्रेसन गर्ने कुरा आयो ।

तर डाक्टर कोइरालाको रगतसँग रामको रगत म्याचिङ भएन । त्यस अस्पताल अगाडि ब्यारेकमा कार्यरत रामका साथी धुव्र कार्कीले रगत संकलनमा सहयोग गरे । दोस्रोपटकको अप्रेसन गरेर होसमा आएपछि पुनर्जन्म पाएको महसुस गरे रामले । अप्रेसनपछिको उपचार भनेको झन गाह्रो । किनकी खानपानको समय मिलाउनुपर्ने । १÷२ हप्तामा रगतको जाँच गर्नुपर्ने । रगत पातलो र बाक्लो गर्ने औषधी खानुपर्ने । ‘आफूले खाएको कुन खानाले रगत पातलो हुन्छ, कुन खानाले बाक्लो गराउँछ ध्यान दिनुपर्छ,’ उनले भने, ‘अहिले त उपचारका प्रविधिहरु पनि राम्राराम्रा आएका छन् । मेरो अप्रेसन गर्ने समयमा स्टिलको भल्ब राखेको थिएँ । अहिले त रगत पातलो गर्ने औषधी पनि खानै नपर्ने प्रविधि आएको सुन्नेको छु ।’

रामको मुटुको अप्रेसन गरेको २ दसक नाघिसक्यो । फुर्तिलो र जाँगरिलो दिनचर्यामा उनलाई देख्नेहरु मुटुको अप्रेसन गरेको मान्छे भनेर पत्याउन मुस्किल मान्छन् । मुटुका बिरामीका लागि निषेधै मानिने साहसिक खेलहरु रामले खेलिसकेका छन् । बन्जिजम्प गरिसके । प्याराग्लाइडिङमा उडिसके । क्यानोनिङमा रमाइसके । म्याराथन, त्यो पनि हिमाली क्षेत्रका एभरेस्ट म्याराथन र अन्नपूर्ण म्याराथनमा दौडिइसके ।

चिकित्सकहरु भन्ने गर्छन्, ‘बिरामीको उपचार औषधिले मात्रै गर्दैनन्, उनीहरुको आफ्नै आत्मविश्वासले पनि गर्छ ।’ रामका हकमा यही भनाइ लागु हुन्छ । आत्मविश्वास रामको सबैभन्दा सबल पक्ष हो । मुटुरोगका बिरामीहरुलाई प्रेरित गर्ने प्रेरणादायी मन्तव्यका लागि उनी धेरै ठाउँ पुगेका छन् । भन्छन्, ‘मुटुरोग लाग्यो भनेर निराश भएर बस्नु र आफूलाई कमजोर छु भन्ने सोच पाल्नु हुन्न ।’ उनको आत्मविश्वास हेर्दा नेपाली चर्चित उखान ‘आँटी छोरालाई बाघले खाँदैन’ उनकै लागि बनेजस्तो लाग्छ ।

आजकल त उनलाई मुटुरोग लाग्नु भनेको पिलो आएजस्तो लाग्छ । मुटुरोगीले खानपान र शारीरिक व्यायाममा ध्यान दियो भने यो रोग केही पनि होइन भन्ने उनको अनुभव छ । ‘राम्रोसँग बाँचिरहेको छु । अहिलेसम्म त्यस्तो केही पनि समस्या आएको छैन,’ उनी भन्छन्, ‘म कहिले पनि मुटु रोगी भन्ने सोच नै राख्दिनँ । मुटु रोग छ भनेर फिल नै गर्दिनँ । तर खानुपर्ने औषधीहरु समयमा नै खान्छु । जीवनमा म बाँच्नुपर्छ, बाबाले ढुंगा, माटोको काम गरेर मलाई हुर्काउनु भो, पढाउनु भो । निराशा भएर आफ्नो शरीर खेर फाल्दिनु भनेको बाबा र आमालाई धोका दिनु हो ।’

दिमागमा नकारात्मक सोच नै नपाल्ने उनकोे अबको बाँकी जीवन कर्म गर्दै आफूजस्तै समस्या भएका साथीहरुलाई सेवा गर्ने र परिवारलाई खुसी दिने हो । उनले कुराकानीकै क्रममा आफूजस्तै समस्या भएका साथीहरुलाई आन्तरिक तथा बाह्य रक्तस्राव हुनबाट बच्न सुझाए । ‘स्टिलको भल्ब राख्नेले एमआरआई र सिटी स्क्यान गर्न हुँदैन,’ उनले भने ।

डाक्टर भगवान होइन्न तर भगवान नाम गरेको डाक्टर उनको जीवनमा भगवान नै बनेर आए । डाक्टर भगवान कोइरालाले आजको समयसम्म हजारौ अप्रेसन गरे होलान् । सबैको सम्झना उनले गर्न सक्दैनन् । तर पोखराका राम गुरुङ उनले चाहेर पनि भुल्न नसक्ने बिरामी भएका छन् ।

डाक्टर भगवान कोइराला भन्छन्ः
राम गुरुङ मैले अप्रेसन गरेको सफल बिरामीहरुमध्ये एक हुन् । सबैजसो अन्तर्राष्ट्रिय प्रस्तुतिमा पनि राम गुरुङको उदाहरण प्रस्तुत गर्ने गरेको छु । राम गुरुङ सकारात्मक मान्छे भएको मान्छे हुन् । भल्ब फेरेपछि मान्छेको आयु यत्ति नै हुन्छ भनेर ठ्याक्कै भन्न नमिले पनि अनुशासित भए समान्य मानिस सरह बाँच्न सक्छ । राम गुरुङको भल्ब फेरेको सन १९९८ मा होजस्तो लाग्छ । अप्रेसन गरेको बिरामीहरुमा राम गुरुङ पहिलो लटको बिरामी हुन् । उनलाई अप्रेसन गर्नु अघि सास फेर्न गाह्रो हुने । हिँड्दा, दौडिँदा समस्या थियो । जाँच गर्दा उनको भल्ब बिग्रिएको पत्ता लाग्यो ।

त्यो बेला उनी युवा थिए । यस्तो प्रकृतिको बिरामीहरुलाई हार्ट फेल हुने । श्वास फेर्न गाह्रो हुने । आयु छोटो हुने समस्या हुन्छ । मेटलको भल्ब फेरेको बिरामीको आयु डाक्टरले तोक्न सक्दैन । विज्ञानको आधारमा, संसारको अनुभवको आधारमा र अनुभवको आधारमा समेत निश्चित रोगको प्रकृति भएको मान्छेको उपचार गरेमा यस्तो हुने, उपचार नगरेमा यस्तो हुने भन्ने चाहिँ भन्न सक्छौं । तर आयु तोक्ने काम चाहिँ हाम्रो कहाँ हुन्छ ? रामको अनुभवले पनि समयमै नियमित औषधी खाए सामान्य मानिस सरह नै बाँच्न सकिन्छ भन्ने देखिन्छ । उनको जस्तो समस्या भएको बिरामीले नियमित रगत पातलो गर्ने औषधी खानुपर्छ ।

मेटल भल्ब राखेका बिरामीले रगत पातलो गर्ने औषधी नखाई हुँदैन । विश्वभर अहिले मेटलबाहेक टिस्युको भल्ब राख्ने प्रविधि पनि चल्तीमा छ । टिस्युको भल्ब राखेपछि औषधीको सेवन गर्न नपर्ने र सामान्य मानिस सरह जीवनयापन गर्न सकिन्छ ।

अहिलेको समयमा मुटुरोग मानवको प्रमुख स्वास्थ्य समस्या भएको छ । मानिसको जीवनशैलीमा आएको परिवर्तनका कारण मानव स्वास्थ्यमा विभिन्न प्रकारका समस्या देखिएका छन् । मानव स्वास्थ्यमा देखिएका अहिलेका समस्यामध्ये नेपालमा जटिल र खतरनाक बन्दै गएको छ, मुटुरोग । नेपालको अहिलेको तथ्याकलाई हेर्ने हो भने २५ प्रतिशत मानिस मुटुरोगबाट पीडित रहेको अध्ययनले देखाएको छ । धेरै प्रतिशत कारण थाहा नभए पनि खानपान, चिन्ता अव्यवस्थित जीवनशैली लगायत कारण मुटुरोग लागेको पाइएको छ ।

तपाईको प्रतिक्रिया