मृत्युको मोलमोलाइ

समाधान संवाददाता २०७६ साउन १५ गते १३:११

उपचाररत सुत्केरीको मृत्यु र आफन्त आन्दोलित भएको समाचारले पोखरा मात्रै हैन राजधानीबाट सञ्चालन हुने मिडियामा सबै राम्रै ठाउँ पायो । आफन्तले भनेजस्तै पत्याउने हो भने स्वास्थ्यकर्मीको लापरवाहीले सुत्केरीको ज्यान गयो । लामो समयसम्म पनि रगत बग्न नरोकिँदा पनि सामान्य सम्मको उपचारका लागि वास्ता नगरेको आरोप आफन्तको छ ।

अन्तिम अवस्थामा आएर सिधै अपरेसन थिएटरमा लगी केहीबेरेपछि मृत्युको घोषणा गरेको भन्ने समाचार बाहिर आयो । एक पक्षको कुरा सुनेर समाचार बनाउने कुरै भएन । अपरेसनमै संलग्न चिकित्सकले उक्त कुराको ठाडैं अस्वीकार गरिन् । चिकित्सकको भनाइ पनि हो जस्तै झैं लाग्ने । किनभने बिरामीलाई बचाउन पो चिकित्सकले मेहनत गर्छ । त्यसैबाट उसको सफलताका पाइला अगाडि बढ्छ । अनि बिरामी र बिरामीका आफन्तले वाही वाही गर्छन् । नाम चर्चामा आउँछ र चिकित्सको व्यवसाय फस्टाउँछ ।

सन्दर्भ के भने लापरवाही नै भनेर आन्दोलनमा उत्रेका आफन्तको आन्दोलन मोलमोलाइमा पुगेर टुंगियो । साढे ३ लाख रुपैयाँ रकम, १ जनालाई जागिर, ती सुत्केरीको अपरेसनमा लागेको खर्च मिनाहा र मृतक सुत्केरीका २ छोराको निशुल्क उपचार गरिदिन तयार भएपछि आन्दोलन साम्य भयो ।

Advertisement

पहिलो त गर्भवती हुने भनेकै महिलाले आफ्नो ज्यानकै जोखिम उठाउनु हो । सुत्केरी भएर ज्यान बच्नुलाई पनि ठूलै उपलब्धि हो भन्छन् स्वास्थ्यकर्मी । कहाँ, कतिबेला के हुन्छ भनेर अनुमान गर्न सकिने अवस्था नै रहँदैन । पश्चिमाञ्चल सामुदायिक अस्पतालमा नियमित रुपमा गर्भ परीक्षण गराउँदै आएका कारण सुत्केरी हुन अन्त जाने कुरै आउँदैन । नेपाल सरकारले उपलब्ध गराएको सुरक्षित मातृत्व कार्यक्रम पनि उक्त अस्पतालमा लागु छ ।

लान्द्रुक घर भइ पोखराकै चाउथे बस्दै आएकी निशाकुमारी थापा विश्वास बोकेरै उक्त अस्पताल गएकी हुनुपर्छ । चिकित्सकले अपरेसन गर्नुपर्छ भन्दा उनी हिच्किचाएका कारण पछि सामान्य तरिकाले नै बच्चा जन्मियो । उपचारमा संलग्न चिकित्सकका लागि पनि त्यो खुसीको कुरा थियो । सुत्केरीका आफन्त पनि खुसी थिए, भने अनुसार नै भयो भनेर । तर आफन्तको खुसी त्यति धेरै बेर टिक्नै पाएन । रक्तश्रावका कारण निशाको निधन भयो । सामान्य रुपमा बच्चा जन्मिँदा र निशाको अवस्था ठीक हुँदा आफन्तले अस्पतालको प्रशंसा गरेकै थिए । जसै निशाको निधन भयो । एकाएक आफन्त आन्दोलनमा उत्रे । झडपको अवस्था आयो । तर कुरो गएर टुंगियो लेनदेनमा ।

Advertisement

त्यतिका रकम दिन मञ्जुर हुने अस्पतालले गल्ती स्वीकार गर्न मानेको छैन । अनि लागेको खर्च मिनाह र आफन्तलाई रोजगार समेत दिन तयार भयो । आखिर यो अवस्था कसरी आयो । गल्ती नै थिएन भने पैसा दिन किन राजी भयो अस्पताल ।

अनि अर्कोतिर यदि अस्पतालको गल्ती नै थियो भने आफन्तले किन लेनदेनमा कुरो मिलाए ? मुल सवा यही हो । अस्पतालमा हुने हरेक मृत्युलाई आफन्तले शंकाको दृष्टिले हेर्ने, भनेजस्तो भएन भने हुलदंगा गर्ने, अनि अस्पतालले घुमाइफिराइ रकम दिएर कुरो मिलाउने गर्दै जाने हो भने अवस्था के होला ? यस्ता विषयलाई खेलाँचीको रुपमा नलिएर संवेदनशील हुन जरुरी छ ।

तपाईको प्रतिक्रिया