‘निद हराम’ गर्ने पढाइ

समाधान संवाददाता २०७६ साउन १५ गते १४:१७

डा. वसन्त गौतम

केही समय पहिला म भतिजको बिहेका लागि हेटौंडामा थिएँ । बिहे भोजको साँझ सबै रमाइलो गरिरहेका थिए, तर ९ कक्षामा पढ्ने अर्को भतिज भने बेलुका ७ बजेबाटै तनावमा थियो र उ रमाइलोलाई छोडेर ९ बजे सुत्न गयो । उसको भोलिपल्टको स्कुल बिहान ६ बजेबाट सुरु हुने रहेछ र साढे ५ भित्र स्कुल बस उसलाई लिन आइसक्ने रहेछ । यसका लागि बिहान ५ बजेनै उठेर तयार भइसक्नुपर्ने रहेछ । नभए केही थप समय उ परिवारको रमाइलोमा सामेल हुन सक्थ्यो । अर्कोतिर, यो कुरो उसले गुमाएको पारिवारिक रमाइलोको कुरो मात्र निश्चय पनि होइन ।

पोखरामा पनि आफ्नो वरिपरिका थुप्रै बच्चाहरु यसरीनै झिसमिसेमै उठेर दौडिएको देखेको छु मैले । काठमाडौंमा पढ्ने भाञ्जीहरुसँग मैले बिहानको समयमा फोनमा कुरा गर्न शनिबारनै कुर्नुपर्छ । अरु दिन उनीहरु पौने ५ मै उठेर, सवा ५ नहुँदै आइपुग्ने स्कुल बस चढ्न तयार भइसक्नुपर्छ । दिदीहरुका लागि बिहानको खाना पछि साढे ८ बजेतिर बस चढ्ने ५ कक्षा पढ्ने भाञ्जाले बोकेर लान्छन् । भाञ्जीहरु बेलुका फर्कँदा अँध्यारो भइसकेको हुन्छ ।

Advertisement

अहिले सबैजसो निजी विद्यालयले कक्षा ८ देखि १० का विद्यार्थीलाई यस्तै ‘अँध्यारो देखि अँध्यारो सम्म’को रटान शिक्षामा बाध्य बनाउँछन् । धेरै सामुदायिक विद्यालयले पनि यसको सिको गरिसकेका छन् । यो ‘सजाय’को एउटै उद्देश्य भनेको एसइइको ‘राम्रो’ लब्धांक मात्रै हो । यसका लागि उनीहरुले मोटो अतिरिक्त शुल्क पनि असुल्छन् । यसरी ६ नबज्दैबाट सुरु हुने रटान शिक्षा सामान्यतया बेलुका ६ बज्ने बेलामा मात्रै सकिन्छ ।

यो १२ घन्टा हामीले बच्चाहरुलाई पढाइरहेका हौं कि यातना दिइरहेका हौं ? बिहान कम्तीमा ६, ७ बजेसम्म ढुक्कले सुत्न पाउनु उनीहरुको अधिकार हो कि होइन ? साढे ४ नबज्दै उठाएर विद्यालयतिर लखेट्नुले उनीहरुको शारीरिक र मानसिक विकासमा परिरहेको घातक असरहरुबारे हामीले कहिल्यै सोचेका छौं ? विद्यालय सञ्चालक, अभिभावक, शिक्षक आदि हामी के का लागि बच्चाहरुमाथि यस्तो अत्याचार गरीरहेका छौं ? यसरी निद्रा मारेर रटाउँदैमा विद्यार्थीको सिकाइको स्तर बढ्छ ?

Advertisement

र कुरो निद्राको मात्र होइन । बिहान आँखा मिच्दै विद्यालयतिर दौडने क्रममा उनीहरुले गतिलो केही खान पनि भ्याउँदैनन् । घरबाट कसैका हातमा पठाइदिएको ‘खाना’ बन्द भाँडोमा एक डेढ घन्टा गुम्सिसकेपछि मात्र उनीहरुले खान पाउँछन् । त्यो खानाको पोषण गुणस्तर पक्कै पनि घटिसकेको हुन्छ । विद्यालयकै खाना खाने विद्यार्थीका हकमा पनि त्यहाँ खुवाइने खानाको गुणस्तरका बारेमा नियमित अनुगमन गर्न न राज्यलाई फुर्सद छ न अभिभावकहरुलाई नै चासो छ ।

दिनभरिको रटान शिक्षाबाट थाकेर बेलुका घर फर्केपछि यस्ता बच्चाहरु गृहकार्य गर्छन् र एकछिन मोबाइल चलाएर सुत्छन् । यस्ता बच्चाहरुले खेल्ने र विशेष गरी ‘घर बाहिर खेल्ने’ भन्ने कुरा कल्पना गर्न पनि बिर्सिसकेका हुन्छन् । उनीहरुले दिउँसोको समयमा विद्यालयमै खेल्न पाए होलान् भन्ने कुरामा पनि सामन्यतया ढुक्क हुन सकिन्न किनभने, केही अपवादलाई छोडेर, धेरैजसो बोर्डिङ स्कुलहरु थोरै जग्गामा बनेका साना साँघुरा भवनहरुमा चलेका हुन्छन् ।

विद्यालयहरुले चाहिनेभन्दा बढी किताबको भारी बोकाइदिनाले बच्चाहरुमा काँध र ढाडको समस्या देखिन थालेको बारेमा केही चर्चा सुरु भएको छ तर बच्चाहरुलाई सबैभन्दा धेरै निद्रा चाहिने उमेरमै उनीहरुबाट त्यो निद्रा खोसेर र शारीरिक ब्यायाम, खेलकुद आदिको मौकै नदिएर हामीले उनीहरुमाथि गरिरहेको अपराध अझ गम्भीर र अक्षम्य छ ।

हामीले बच्चाहरुलाई साँच्चै पढाउने हो कि पढाउने नाममा यातना दिने हो ? मानवको शारीरिक र मानसिक स्वास्थ्यका लागि व्यवधानरहित गाढा निद्रा अति आवश्यक छ । वयष्क मानिसकै लागि पनि ७, ८ घन्टाको निद्रा आवश्यक मानिन्छ । निद्राको अभावमा थकान हुने र कार्य क्षमतामा ह्रास आउने मात्र होइन, मोटोपना, मुटु रोग, र विभिन्न संक्रमणका जोखिमहरु बढ्ने कुरा प्रमाणित भइसकेको छ ।

बढ्दो उमेरका बालबालिकाहरु र किशोरकिशोरीहरुलाई निद्रा झन् धेरै आवश्यक पर्छ । नवीनतम अनुसन्धानहरुबाट के प्रमाणित भएको छ भने १२ देखि १८ वर्ष को उमेरमा ४, ५ वर्षका साना बच्चाहरुलाई जस्तै निद्रा आवश्यक पर्छ । १२ देखि १८ वर्षको यो उमेरमा बढी निद्रा आवश्यक पर्नुको कारण यो अवधि महिला पुरुष दुबैमा ब्यापक शारीरिक विकास र मानसिक परिवर्तन हुने र उनीहरु दुबै रुपमा अत्यन्त सक्रिय हुने अवधि हो । यो उमेरमा कम्तीमा ८ देखि १० घन्टा निद्रा आवश्यक मानिन्छ । विश्वव्यापी अनुसन्धानहरुबाट निकालिएको यो उमेरको आवश्यक औसत दैनिक निद्रा अवधि सवा ९ घन्टा हो ।

आधुनिक जीवनशैलीका कारण विश्वभरिनै बालबालिका र किशोरकिशोरीहरुले पर्याप्त निद्रा पाएका छैनन् । यो समस्या किशोरकिशोरीहरुमा अझ बढी छ । यो उमेरमा पुगेपछि जैविक घडीमा केही परिवर्तन हुन्छ र उनीहरुलाई निद्रा लाग्ने समय रातको ११ बजेभन्दा पछाडि पुग्छ । फेरि आजभोलिका किशोर किशोरीहरुका हातहातमा मोबाइल छन्, इन्टरनेटको सहज उपलब्धता छ र अरु बिभिन्न प्रकारका ग्याजेटहरुमा पनि उनीहरुको पहुँच हुन्छ । यिनमा भुलेर राति अबेरमात्रै सुत्ने बानी बढ्दै गएको छ । र बिहान चाँडै विद्यालयहरु सुरु हुने कारण उनीहरुले ढिलासम्म सुत्न पनि पाउँदैनन् ।

विद्यालय चल्ने समयमा औसतमा उनीहरु ६ घन्टा भन्दा पनि कम मात्रै सुतिरहेको देखिन्छ । यो ६ घन्टाकै निद्राको गुणस्तरमा पनि प्रश्न उठाउनु पर्ने स्थिति छ, किनभने सुत्नु अगाडिसम्म ग्याजेटहरु चलाउँदा तिनको स्क्रिनको विकिरणका कारण र इन्टरनेटबाट दिमागले संग्रह गरेका विभिन्न तनावमुलक, उत्तेजनामूलक सूचनाहरुका कारण निद्राको गुणस्तरमा ह्रास आउने निश्चित छ ।

एसइइपछि ११, १२ कक्षाको पढाइ पनि सबैजसो कलेजमा बिहान ६ बजेबाटै सुरु हुन्छ । अहिलेका विद्यार्थी १२ कक्षा सक्दा बल्ल १८ वर्षका हुन्छन् । त्यसकारण, यथेष्ट निद्रा नपुग्दा हुने असरहरुको अध्ययन गर्दा हामीले उनीहरुलाई पनि समेट्नुपर्ने हुन्छ ।

यो अहिले विश्वव्यापी चिन्ताको विषय बनेको छ । संसारमा अहिले ५३ प्रतिशत किशोर किशोरीहरु विद्यालय जाने दिनमा ८ घन्टाभन्दा कम सुत्छन् । अमेरिकामा ५ प्रतिशत किशोरकिशोरीहरुमात्रै आवश्यक पर्ने ९ घन्टा सुत्छन् । भारतको महानगर मुम्बइमा गरिएको एक अध्ययनले त्यो क्षेत्रमा ८० प्रतिशत विद्यार्थीहरु आवश्यकताभन्दा कम सुत्ने देखाएको छ । यसको आधाभन्दा बढीको स्थिति अझ गम्भिर छ र उनीहरु दिनमा जम्मा ४ देखि ६ घन्टामात्रै सुतिरहेका छन् । स्पष्ट तथ्यांक त छैन तर नेपालमा पनि, विशेष गरी सहरी क्षेत्रमा यो भन्दा राम्रो स्थिति छ भनेर भन्न सकिन्न ।

अपर्याप्त निद्रा र बढी स्क्रिन समयको संयोजन किशोरकिशोरीहरुको शारीरिक र मानसिक स्वास्थ्यका लागि अत्यन्त घातक मानिन्छ । निद्रा नपुग्नाले किशोर विद्यार्थीहरुमा शारीरिक तथा मानसिक थकान बढ्छ र कुनै पनि कुरामा एकाग्र हुन नसक्ने तथा स्मरण शक्ति कम हुने समस्या देखिन्छ । उनीहरु बढी झर्किने, झगडा गर्ने र छिट्टै निराश हुने र अवसाद (डिप्रेसन) मा जाने जस्ता व्यवहार पनि देखाउँछन् ।

उनीहरुमा उमेरजन्य स्वाभाविक गतिविधिहरुभन्दा बढी उत्तेजनात्मक गतिविधिहरु गर्न खोज्ने र सवारी चलाउँछन् भने सकेसम्म खतरनाक तरिकाले चलाउन खोज्ने प्रवृत्ति पनि देखा पर्छ । आवश्यक भन्दा कम समय सुत्ने किशोरकिशोरीहरु लागु पदार्थ वा रक्सीको कुलतमा फस्ने सम्भावना पनि बढी देखाएका छन् अनुसन्धानहरुले । पर्याप्त निद्रा नपुगेको अवश्थामा उनीहरुमा उच्च रक्तचाप, कोलेस्ट्रोल, मोटोपना आदिको सम्भावना पनि बढी हुन्छ ।

आफ्ना छोराछोरीहरुले पर्याप्त निद्रा पाइरहेका छन् कि छैनन् भन्ने कुरामा सबैभन्दा पहिला अभिभावकहरुनै सचेत हुनु आवश्यक छ । उनीहरुको सुत्ने, उठ्ने समयमा नियमितता ल्याउन सहयोग र्पुयाउनुपर्छ । यस्तै सुत्नु १ घण्टा अगाडिबाट कम्प्युटर, मोबाइल, टिभी आदि बन्द गरेर किताब पढ्न वा राम्रो संगीत सुन्न प्रोत्साहित गरिनुपर्छ ।

यो समयलाई पारिवारिक गफगाफ र ससाना मनोरञ्जनात्मक गतिविधिहरुको रमाइलो वातावरणमा बदल्न सकिन्छ भने अझ राम्रो हुन्छ । उनीहरुलाई बिदाका दिनमा चाहिनेभन्दा धेरै सुत्न पनि दिनुहुँदैन, यसले अरु दिनको निद्राको तालिकालाई गडबड बनाइदिन सक्छ । निद्रा सम्बन्धी कुनै समस्या देखिए जतिसक्दो छिटो चिकित्सकसँग सम्पर्क गर्नुपर्छ ।

तर विद्यालयहरुले बच्चालाई सबेरैबाट पढाउन थाल्दिए भने अभिभावकले चाहेर पनि माथि भनिएजस्तो गर्न नसक्ने स्थिति बन्छ । त्यसकारण, विद्यालयहरुले कक्षा शुरु हुने समयलाई ढिलो गर्नैपर्छ । यसले विद्यार्थीहरुको शारीरिक मानसिक स्वास्थ्यमा सुधार आउँछ र त्यसले गर्दा उनीहरुको पढाइ पनि राम्रो हुन्छ ।

यो कुरालाई ध्यान दिँदै विद्यालयहरुले धेरै चाँडै कक्षा शुरु गर्न नपाउने गरी नीतिगत व्यवश्थानै गर्नुपर्ने आवश्यकता भएको बारेमा विश्वव्यापी बहस सुरु भएको छ ।
अमेरिकाको सिएटल सहरमा सन् २०१६ बाट कक्षा सुरु हुने समयलाई पौने आठ बजे बाट पौने नौ मा सारियो । यो कदमका कारण किशोर विद्यार्थीहरुको औसत निद्रा समय ३४ मिनेटले बढेको छ । उनीहरु दिउँसो कक्षामा उँघ्ने प्रवृत्तिमा कमी आएको छ र सिकाइको स्तर बढेको छ ।

अमेरिकाकै क्यालिफोर्निया राज्यको संसदले सन् २०१८, अगष्ट ३१ मा विद्यालयहरुले साढे ८ बजेभन्दा पहिले कक्षाहरु सुरु गर्न नपाउने कानून पास गरेको छ । क्यालिफोर्नियाका सम्पूर्ण विद्यालयहरुले ३ वर्ष भित्र यसलाई लागु गरिसक्नुपर्ने छ । अमेरिकाकै सिकागो, मिनियापोलिस, सेन्ट पल आदि अन्य सहरहरुमा गरिएका अध्ययनले पनि बिहान ढिलो कक्षा शुरु गर्दा विद्यार्थीहरुको सिकाइमा सुधार आउने कुरा प्रमाणित भएको छ ।

बिहान एक घन्टा ढिलो गरी (उदाहरणका लागि ७ बजेको साटो ८ बजे) कक्षा सुरु गर्दा औसतमा एउटा कक्षाको सिकाइ उपलब्धिमा आउने सुधार बी ग्रेडबाट बी प्लसमा पुगे बराबरको हुने निष्कर्ष निकालिएको छ । सबै विद्यार्थीमा सकारात्मक असर देखिँदा देखिँदै पनि तुलनात्मक रुपमा कमजोर विद्यार्थीका हकमा अझ धेरै सुधार देखिएको छ ।

अमेरिकाको एअर फोर्स एकेडेमीमा गरिएको अध्ययनले त स्नातक तहका विद्यार्थीमा समेत कक्षा शुरु हुने समयको असर उस्तै हुने देखिएको छ । कक्षाहरु थोरै ढिलो गरेर शुरु गर्दा विद्यार्थीहरुको परीक्षाफलमा आउने सुधारको आफ्नै महत्व छ भने यो भन्दा पनि महत्वपूर्ण उनीहरुको शारीरिक र मानसिक स्वास्थ्यमा पर्ने सकारात्मक असर हो ।

यो सकारात्मक असरले पढाइ मात्र होइन जीवनमा आवश्यक पर्ने अन्य क्षमताहरुको अभिवृद्धिमा पनि सघाउँछ र उनीहरुलाई एक स्वस्थ र प्रतिष्पर्धी वयष्कका रुपमा विकसित हुन मद्दत पुग्छ । यिनै अध्ययनहरुका आधारमा अमेरिकामा, यथेष्ट निद्रा पुगेर हुर्किएका किशोर विद्यार्थीहरुको भविष्यको औसत आम्दानी निद्रा नपुगेकाहरुको दाँजोमा धेरै हुने प्रक्षेपण समेत गरिएको छ ।

अहिले फिनल्यान्डको शिक्षण पद्धति संसारकै उत्कृष्ट मानिन्छ । यो उत्कृष्टताका प्रमुख कारणहरुमध्ये एक अरु विकसित देशहरुको दाँजोमा त्यहाँ बिहान ढिलो कक्षा सुरु हुनुलाई पनि मानिन्छ । फिनल्यान्डमा कक्षाहरु ढिलो शुरु हुने मात्र होइन, दिउँसोपनि चाँडै सकिन्छन् । बिहान ९ बजे आसपासबाट शुरु हुने कक्षाहरु दिउँसो २ बजे आसपासमा समाप्त हुन्छन् । यसले बच्चाहरुलाइ पूरा निद्रा सुत्ने अवसर दिन्छ र खेलकुदका लागि पनि समय उपलब्ध हुन्छ ।

नेपालमा कक्षा ८ भन्दा पहिले भने यो समस्या नरहेको जिकिर पनि गर्न सकिन्छ, तर धेरै निजी विद्यालयहरुले ट्युशनका नाममा तल्ला कक्षाका विद्यार्थीहरुलाई समेत यो ‘यातना’ दिन शुरु गरीसकेका छन् । अर्को्तिर, अचेल धेरै बच्चाहरु आफ्नो घरबाट धेरै टाढा रहेका विद्यालयमा पढ्न जान्छन् । कक्षा दश बजेमात्रै शुरु हुने भएपनि उनीहरुले साढे ७, ८ बजेभित्र विद्यालय बस चढिसक्नुपर्छ । त्यसकारण, समस्या अब ८ देखि १० कक्षाका विद्यार्थीको मात्र वा ट्युसन पढ्ने विद्यार्थीको मात्र रहेन, आम समस्याका रुपमा विकास भइसकेको छ ।

त्यसैले, हामीले पनि नीतिगत रुपमै हल गर्नुपर्ने समस्याका रुपमा यसलाई लिनुपर्छ र त्यसै अनुसारको बहस र नीति निर्माणलाई अघि बढाउनुपर्छ । राज्य आफ्ना बच्चाहरुमाथि हुनसक्ने यस्ता खाले दुव्र्यवहार रोक्न अनुगमन बढाउन पनि सक्रिय हुनुपर्छ । यस बारेमा विद्यालय सञ्चालक र शिक्षकहरु पनि बढी संवेदनशील हुनुपर्छ र अभिभावकहरुले पनि केवल लब्धांकपत्रमात्र नहेरेर आफ्ना बच्चाहरुको शारीरिक र मानसिक विकासका बारेमा पनि सचेतता देखाउनु आवश्यक छ ।

तपाईको प्रतिक्रिया