वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको संयोजनमा यार्तुङ

समाधान संवाददाता २०७६ साउन १५ गते १४:४३

फाइल तस्बिर

सुन्दरकुमार थकाली
मुस्ताङ

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा बसोबास गर्ने विभिन्न समुदायको आफ्नै रहनसहन, भेषाभूषा र सांस्कृतिक विविधता छ । यसको उदाहरण हो ‘यार्तुङ’। यहाँका विभिन्न समुदायले यस पटक एउटै थलोमा यार्तुङ मनाउने भएका छन् ।

Advertisement

सदियाैंदेखि मनाइँदै आएको यार्तुङ महोत्सव गाउँपालिकाको संयोजनमा हुँदै छ । यातुङ नजिकिंदै गर्दा गाउँपालिकाले यसको तयारीसमेत थालेको हो । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी पर्यटन प्रर्वद्धनमा सघाउ पुर्‍याउने उद्देश्यले परम्परागत यार्तुङलाई महोत्सवका रुपमा विकास गर्न गाउँपालिका लागेको हो । यसका लागि गाउँपालिकाले सरोकारवालासँग अन्तक्र्रिया पनि गरेको छ ।

यसअघि यार्तुङ महोत्सव मुक्तिनाथको जनप्रिय युवा क्लबले आयोजना गथ्र्याे । जनप्रतिनिधि, कर्मचारी, जनप्रिय युवा क्लब, १९ वटै गाउँका मुखिया र सरोकारवालाले यार्तुङ संयुक्त रुपमा सञ्चालन गर्ने निर्णय गरेका छन् । वारागुङका अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङको अध्यक्षतामा ७१ सदस्यीय यार्तुङ मुल आयोजक समिति गठन भएको छ । ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वको यार्तुङ वारागुङका स्थानीयको मौलिक पर्व भएको अध्यक्ष गुरुङको भनाइ छ । मेलाबाट स्थानीय उत्पादन प्रर्वद्धन, धर्म, संस्कृति र परम्परा संरक्षणमा टेवा पुग्ने उनको भनाइ छ ।

Advertisement

यस पटक उल्लेख्य सहभागिताका लागि युवा क्लब, पुराङवासी तथा १९ वटै गाउँका युवा सम्मिलित उपसमितिसमेत गठन गरिने भएको छ । गाउँपालिकाका सबै गाउँलेले यार्तुङ महोत्सवमा सांस्कृतिक झाँकी, घोडा दौड र परम्परागत मौलिक सभ्यता प्रदर्शन गर्ने प्रशासकीय अधिकृत दीपक रेग्मीले जानकारी दिए ।

यार्तुङ महोत्सव वर्सेनि जनैपूर्णिमा आयोजना गरिन्छ । यारको अर्थ बर्खा र तुङको अर्थ पर्व हो । खेतीपातीका कामकाज सकेर आपसमा खुसी साट्ने पर्व हो यार्तुङ । महोत्सवको मुख्य आर्कषण प्रतियोगी र अप्रतियोगी घोडा दौड, स्थानीय खानाका परिकार, स्थानीय भेषभूषा प्रदर्शनी, सेभेन ए साइड फुटबल, तारो हान्ने खेल र विविधि सांस्कृतिक कार्यक्रम छन् ।

महोत्सवमा नेपालका चर्चित कलाकार निम्त्याएर कन्सर्ट र सांस्कृतिक कार्यक्रम पनि गर्ने तयारी छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाले थप नयाँ खालका कार्यक्रम ल्याउने जनाएको छ ।

तपाईको प्रतिक्रिया