काठमाडाैंमा मापसे गरी सवारी चलाउने ४३९ चालकको लाइसेन्स निलम्बन

समाधान संवाददाता २०७६ साउन १५ गते १५:३७

रासस, काठमाडाैं

काठमाडाैं यातायात व्यवस्था कार्यालयले मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने ४३९ चालकको अनुमतिपत्र (लाइसेन्स) निलम्बन गरेको छ ।

उक्त कार्यालयले महानगरीय ट्राफिक प्रहरी महाशाखाको सिफारिसमा पाँच पटकभन्दा बढी मापसे कारबाहीमा परेका व्यक्तिको लाइसेन्स निलम्बन गरेको हो ।

Advertisement

विसं २०६८ मंसिर १७ देखि मापसे जाँचलाई कडाइ गर्दै आएको महाशाखाले हालसम्म उपत्यकामा मापसे सेवन गरेर सवारी साधान चलाउने एक लाख ९० हजार ६९० चालकलाई कारबाही गरेको छ । महाशाखाले २०६८ सालदेखि मापसे जाँच गरे पनि लाइसेन्समा प्वाल पार्ने काम भने २०६९ मंसिरदेखि गर्दै आएको हो ।

पहिलोपटक मापसे सेवन गर्ने एक लाख ४९ हजार २१६, दोस्रोपटक २७ हजार ४७७, तेस्रोपटक नौ हजार ९९, चौथोपटक तीन हजार २८४ र  पाँचौं पटक एक हजार १७५ चालकलाई कारबाही गरिएको थियो।

Advertisement

महाशाखाले मापसे सेवन गरी सवारीसाधन चलाउने चालकको लाइसेन्समा प्वाल पार्दै आएको छ । महाशाखाका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले पछिल्लो समय उपत्यकामा मापसे सेवन गरी सवारीसाधन चलाउने चालकको सङ्ख्यामा कमी आएको बताए ।

महाशाखाले मापसे कारबाहीमा परेका चालकसँग रु एक हजार जरिवाना लिनाका साथै उनीहरूका लागि कक्षा सञ्चालन गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया