गण्डकीको समीक्षाः जग्गा र जनशक्ति भएन

अमृत सुवेदी
पोखरा
सुरु वर्षमै गर्छु भनेका थुप्रै काम गण्डकी प्रदेशले सुरुआतै गर्न सकेन । खर्च पनि त्यति गर्नै गर्न सकेन । लक्ष्यअनुसारका योजना कार्यान्वयन गर्न कहाँ चुक्यौं, कहाँ ठेस लाग्यो ? गण्डकी प्रदेश सरकारले बुधबार समीक्षा गरेको छ ।
मुख्यसहित सबै मन्त्री, सचिव, योजना आयोग पदाधिकारी तथा सदस्य, प्रदेश सभा सचिवालयका सचिव, मुख्य न्यायाधिवक्ता एकै ठाउँ बसेर वार्षिक कमजोरी नियाले । योजना कार्यान्वयनमा कहाँ कहाँ ठेस लाग्यो भनेर समीक्षा गरेर भने, ‘अर्को वर्ष ९५ प्रतिशत बजेट खर्च गर्नुपर्छ ।’
प्रदेश सरकार सञ्चालनको नयाँ अनुभव, योजना कार्यान्वयनमा भएका केही कमजोरी र संघ सरकारका असहयोगले धेरैजसो बजेट खर्च नभएको निश्कर्ष थियो । वार्षिक समीक्षापछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्री र सचिवलाई निर्देशन दिए, ‘यो साल केके कमजोरी भयो सुधारौं । अब सकभर फस्ट नै हुने हो ।’
गण्डकी प्रदेश सरकारले योजना तथा बजेट कार्यान्वयन केके समस्या खेप्यो त ? निश्कर्ष निस्क्यो, ‘प्रदेश सरकारलाई जग्गा प्राप्ति नै भएन ।’ गण्डकी प्रदेश सरकारले विकास निर्माण र योजना कार्यान्वयनका निम्ति जग्गा उपलब्ध गराउन संघ सरकारलाई अनुरोध पठाइरह्यो तर संघले वास्तै गरेन ।
पोहोर साउन १६ गते बसेको मन्त्रिपरिषद बैठकको प्रादेशिक मन्त्रालय लगायतका संरचना व्यवस्थापन तथा निर्माण गर्न जग्गाहरुको स्वामित्व दिन प्रधानमन्त्री तथा मन्त्रपरिषदको कार्यालयमा गण्डकी सरकारले पत्राचार गर्यो । तर, अहिलेसम्म पनि जग्गा प्राप्ति भएको छैन । गण्डकी प्रदेश सरकारले प्रादेशिक प्लाजा बनाउने योजना बनाएको थियो ।
तनहुँको बेलचौतारामा प्रादेशिक विश्वविद्यालय स्थापना गर्ने निर्णय गर्दै अहिलेको भानुभक्त क्याम्पससँगैको ४ सय ७५ रोपनी जग्गा उपलब्ध गराउन संघ सरकारलाई अनुरोध गर्यो । गत १३ पुसमा बसेको मन्त्रिपरिषदको बैठकले डा. तीर्थबहादुर थापाको संयोजकत्वमा विश्वविद्यालय स्वरुप र सञ्चालन ढाँचा अध्ययन कार्यदलसमेत गठन गर्यो । तर, सरकारले जग्गा उपलब्ध नै गराएन ।
औद्योगिक क्षेत्र, गण्डकी इन्स्टिच्युट अफ टेक्नोलोजी, बहुसांस्कृतिक ग्राम, प्रहरी तालिम केन्द्रलगायत थुप्रै योजनाको प्रारम्भिक अध्ययन र ठाउँ पहिचानपछि जग्गा उपलब्ध गराउन संघ सरकारलाई अनुरोध गरि पठायो । तर, संघबाट जग्गा प्राप्ति नभएकै कारण ती योजनाको काम अगाडि बढ्न नसक्दा बजेट खर्च नै प्रभावित भएको मुख्यमन्त्री गुरुङको भनाइ छ ।
कम जनशक्ति, दक्षता र अनुभवको अभाव
प्रदेश सरकारले खेपेको अर्को ठूलो समस्या जनशक्ति नै हो । एक त कर्मचारी नै भएनन्, अर्को भएका कर्मचारीको पनि दक्षता, क्षमता र अनुभवको कमी हुँदा योजना तथा बजेट कार्यान्वयन नै हुन नसकेको प्रदेश सरकारको अनुभव छ ।
‘एक त कर्मचारी संख्यामै कम भए । अर्को भएका कर्मचारीको पनि अनुभव भएन । दक्षता, क्षमता पनि कम रह्यो,’ मुख्यमन्त्री गुरुङले भने । प्राविधिक कर्मचारीकै अभावले थुप्रै योजना प्रभावित भएको भौतिक पूर्वाधार मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्ठाको अनुभव छ ।
एकातिर कर्मचारी नै नहुनु, अर्कोतिर भएका कर्मचारी पनि छिटो छिटो सरुवा र पछि कर्मचारी समायोजनले पनि विकास खर्चलाई प्रभावित पारेको भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतको भनाइ छ । २१ सय कर्मचारी चाहिने गण्डकी प्रदेशमा अहिले समायोजनपछि पनि १३ सयमात्रै कर्मचारी रहेको उनले बताए । अब प्रदेश लोकसेवा आयोगबाट आफ्नै कर्मचारी भर्ना गर्ने बाटो खुलिसकेको छ ।
कर्मचारीमात्रै होइन मन्त्रीहरुको अनुभव कम भएका कारण कतिपय योजना कार्यान्वयनमा समस्या भएको उनीहरुले समीक्षा गरे । अन्तरमन्त्रालय समन्वय हुन नसक्दा पनि बजेट कार्यान्वयन प्रभावित भएको अर्थमन्त्री किरण गुरुङको भनाइ थियो । अन्तरमन्त्रालय समन्वय र सहकार्य बढाउँदै लैजाने प्रतिवद्धता उनीहरुको छ ।
प्रदेश सरकारको मातहत दिइएको योजनाको वातावरणीय प्रभाव मूल्यांकन र प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन प्रदेशको एकल अधिकारभित्र छ । केन्द्र सरकारले यो अधिकार हस्तान्तरण नगरिदिएकै कारण पनि योजना प्रभावित भएको योजना आयोग उपाध्यक्ष गिरिधारी शर्माले बताए ।
स्थानीय तहले टेरेन
राजस्व संकलनको स्थानीय तह र प्रदेश सरकारको साझा अधिकारका क्षेत्र छन् । ढुंगा गिटी बालुवा, विज्ञापन, पर्यटनलगायतका राजस्व संकलन गर्ने जिम्मेवारी स्थानीय सरकारको छ । तर, स्थानीय तहले संकलित राजस्वको विवरण नै प्रदेश सरकारलाई पठाउनै गाह्रो मान्छ ।
स्तानीय तहले विवरण नै नपठाइदिएर पटक पटक ताकेता गर्नुपर्ने समस्या रहेको अर्थ मन्त्रालयका उपसचिव ध्रुव पाण्डेको भनाइ छ ।




पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया