भीमादकाे इलुङ झरनामा पूर्वाधार निर्माण सुरु

समाधान संवाददाता २०७६ साउन १७ गते १४:१८

कृष्ण न्यौपाने
दमौली

व्यावसायिक क्यानोनिङको तयारीमा रहेको इलुङ झरनामा पूर्वाधार निर्माणका काम सुरु भएको छ । तनहुँको भीमाद नगरपालिका ९ पाथर्दीमा रहेको झरनामा पर्यटकलाई आकर्षित गर्नका लागि नगरपालिकाको सहयोगमा पूर्वाधार निर्माणको काम सुरु भएको हो ।

नगरपालिकाको ५ लाखको बजेटमा १ हप्तादेखि झरनासम्म पुग्ने बाटोमा सिँढी र रेलिङ निर्माणको काम थालनी गरिएको वडाध्यक्ष इमान थापाले जानकारी दिए । वडाध्यक्ष थापाका अनुसार झरना जाने बाटोमा अप्ठ्यारो रहेको ठाउँमा सिँढी र रेलिङ निर्माण थालिएको छ । ‘झरना पुग्ने बेलामा झर्ने बाटो एकदमै अप्ठ्यारो रहेकोले पर्यटकलाई सहज होस् भन्ने उद्देश्यका साथ सिँढी निर्माण थालिएको छ,’ उनले भने, ‘नगरपालिकाको आर्थिक सहयोग र स्थानीयवासीको जनश्रमदानमा यो काम सम्पन्न हुनेछ ।’

Advertisement

उक्त बाटोको ७७ मिटर भागमा ढुंगा छापेर सिँढी निर्माण गरिएको छ । दैनिक १५ भन्दा बढी स्थानीय जनश्रमदानमा खटिएको स्थानीय शिवकुमार आलेले जानकारी दिए । आलेका अनुसार आगामी असोजदेखि उक्त झरनामा व्यावसायिक रुपमा क्यानोनिङ सञ्चालन गर्ने तयारी गरिएको छ ।

झरनामा पूर्वाधार विकासका लागि नगरपालिकाले चालु आर्थिक वर्ष ०७६÷७७ मा १० लाख विनियोजन गरेको छ । उक्त रकमबाट क्यानोनिङका लागि आवश्यक सामग्री खरिद गरिनेछ । झरना नजिकै पर्यटकको सुविधाका लागि शौचालय र कपडा परिवर्तन गर्नै रुम निर्माण गरिने वडाध्यक्ष थापाले जानकारी दिए । उनका अनुसार झरनामा व्यावसायिक रुपमा क्यानोनिङ सञ्चालन गर्नुपूर्व प्रशिक्षक बोलाएर तालिम सञ्चालन गरिनेछ । ‘झरनामा क्यानोनिङको सफल परीक्षण भइसकेको छ,’ उनले भने, ‘अब छिट्टै प्रशिक्षक बोलाएर यहाँका युवालाई क्यानोनिङ सम्बन्धी तालिम दिने सोचमा छौं ।’

Advertisement

४० मिटर अग्लो झरनामा गत मंसिर १६ गते सफल परीक्षण भएको थियो । झरनामा आउने पर्यटकलाई बास बसाउन पाथर्दी गाउँमा घरबास सुरु भइसकेको छ । पाथर्दी गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको मुख्यमन्त्री नमूना वातावरणमैत्री कृषि गाउँसमेत हो । यहाँका १० घरमा घरबास सञ्चालनमा छ । उक्त घरबासमा आन्तरिक पर्यटक बास बस्नका लागि पुगिसकेका छन् ।

स्वच्छ वातावरण, चराचुरुङ्गीको चिरविराहटसँगै छङ्छङ्ती झरेको पानीको झरनाले यहाँ पुग्ने जोकोहीको मन लोभ्याउने गरेको छ । हरिनास गाउँपालिका ४ स्थित कटमराम्चेबाट बग्दै आएको सो खोलाको इलुङ झरनाबाट बनेको दहमा प्रत्येक वर्ष मंसिरमा झाँक्री पूजा गर्ने गरिएको स्थानीय दिलबहादुर थापाले बताए । थापाका अनुसार गाउँमा अनिष्ट नहोस्, बालीनाली राम्रो होस् रोगव्यादी नलागोस् भनेर परम्परागत रुपमा गरिँदै आएको उक्त पूजामा भेँडा र कुखुराको सामूहिक बलि दिने प्रचलन छ ।

उक्त झरना पृथ्वीराजमार्गको शुक्लागण्डकी नगरपालिकास्थित खैरेनीटार बजारबाट २३ किमिको दूरीमा छ । खैरेनीटारदेखि १ घण्टाको मोटरसाइकल यात्रापछि झरनासम्म पुग्न सकिन्छ । खैरेनीटार बजारबाट भीमादसम्म ७ किमि पक्की बाटो छ भने त्यहाँबाट झरनासम्म पुग्न ग्राभेल बाटो निर्माण भएको छ ।

तपाईको प्रतिक्रिया