चौपाया संरक्षण गर्दै डम्बरकुमारी

समाधान संवाददाता २०७६ साउन १७ गते १४:२५

राजन उपाध्याय
दुलेगौंडा

पछिल्लो समयमा दुध दिन छाडेपछी गाईलाई वेवारिसे रुपमा छाडिदिने प्रचलन बढ्दै गएको छ । दुध दिँदासम्म पाल्ने अनि बर्केनो भएपछि खुला रुपमा छाडिदिँदा सहरदेखि गाउँघरमा समस्या भइरहेको छ । यसरी खुला रुपमा छाड्ने र लखेट्ने जमात बढीरहेका बेला तिनै गाईको संरक्षणमा उदाहरणीय महिला बनेकी छिन् तनहुँको शुक्लागण्डकी नगरपालिका ८ एकताटोलकी डम्बरकुमारी कुमाल ।

नगरस्तरीय गौं संरक्षण केन्द्र व्यवस्थापन चुनौती थपिदैं गएको छ । तर उनी एक्लैले करिव ७० वटा गाईको संरक्षण गर्दै आएकी छिन् । यसमध्य केहि बाच्छाबाच्छी पनि छन् । चौपायाको मायाले गर्दा एक्लै उनले गाई पाल्दै आएकी हुन् । अविवाहित ५६ वर्षिय कुमालले बुबा आमाले पाल्दै आएको र संरक्षण नपाएका अन्य गाइलाई समेत चराएर दिन गुजारीरहेकी छिन् ।

Advertisement

व्यवस्थित गोठ नभएका कारण आफू बस्ने घरभित्रसमेत उनले गाई र बाच्छाबाच्छी राख्ने गरेकी छिन् । ‘करिव २५÷३० वटालाई पुग्ने गोठ छ,’ उनले भनिन, ‘बाँकीलाई आफै सुत्ने घर र वरपर राख्ने गरेकी छु ।’ धेरै नबोल्ने उनी धर्म र सेवाका लागि गाईको संरक्षण गर्दै आएको बताउँछिन् । ‘आफूले पालेको गाई एकिन रुपमा कति छन्, म आफैलाई थाहा छैन,’ उनी भन्छिन, मेरो काम हेरचाह गर्ने हो ।’

शुक्लागण्डकी ९ मा स्थापित गौं संरक्षण केन्द्रमा चौपाया लैजाने प्रस्ताव आए पनि उनले नदिने बताउँछिन् । ‘मैले यति धेरै जतनको साथ पालेका गाई, त्यहाँ वेवारिसे जस्तै हुन्छन्,’ उनले भनिन, ‘त्यसैले आफैं जसोतसो गरेर पाल्छु ।’ सेती किनार, प्लटिङ गरिएका खाली क्षेत्रमा उनले गाई चराउँदै आएकी छिन् । उनले हालै तीब्बतीयन क्याम्प नजिकै दंगा नियन्त्रण प्रहरी गणले गरेको वृक्षरोपणका कारण चौपाया चराउन नपाएकोमा दुख व्यक्त गरिन् । चौपायाबाट निस्कने मल आफ्नै बारी र खेतमा प्रयोग गर्ने गरेको उनले सुनाईन् ।

Advertisement

यता वडा नं. ८ का अध्यक्ष कृष्ण रेग्मीले एउटै महिलाले यतिधेरै चौपाया पालेको थाहा पाएको बताए । संरक्षण र गोठ व्यवस्थापनका लागि नगरपालिकासँग पहल गर्ने रेग्मीले उल्लेख गरे । ‘नगरबाट नभए वडाकै बजेटबाट भए पनि सहयोग गर्ने सोच बनाएका छौं,’ उनले थपे, ‘कमसेकम गोठ व्यवस्थापन गर्न सकियो भने पनि ठूलो धर्म हुन्छ ।’

नगरले छाडा चौपाया व्यवस्थापनका लागि वडा नं. ९ मा गौं संरक्षण केन्द्र स्थापना गरी सञ्चालनमा ल्याएको छ । पूर्वाधार तयार, सोलार बत्ती, पराल र २ जना कर्मचारीका लागि लाखौं रुपैयाँ खर्च भइसकेको छ ।

तपाईको प्रतिक्रिया