‘कालो प्लेट’को काम रातोबाटै

समाधान संवाददाता २०७६ साउन १९ गते १६:००

पोखरा लेकसाइड गौरीघाटस्थित भाडामा दिन राखिएका स्कुटर र गाडी । तस्बिरः ईश्वर देवकोटा

ईश्वर देवकोटा

प्रहरी प्रधान कार्यालय ट्राफिक निर्देशनालयले २०७० फागुन २८ गते मातहतका ट्राफिक प्रहरी कार्यालयलाई एउटा निर्देशन जारी ग¥यो । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ बमोजिम प्रयोजनका आधारमा सवारी साधनको नम्बर प्लेट कायम गरिएको र निजी प्रयोजनमा दर्ता भएका रातो प्लेटका सवारीले भाडाको काम गर्न नपाउने निर्देशनमा उल्लेख छ ।

Advertisement

निर्देशनालयले रातो प्लेटका सवारी भाडा यात्री तथा मालसामन ओसारपसार गर्नु ट्राफिक निर्देशनालयले विकृति भनेको छ । उक्त कार्य रोक्न ट्राफिक कार्यालयहरुलाई कडाइका साथ नियम पालना गर्न त्यस समयमै भनिएको थियो ।

तर निर्देशन जारी भएको वर्षौं बितिसक्दा पनि पोखरामा निजी सवारी भाडामा लगाएर व्यापार गर्ने काम रोकिएको छैन । कडाइ गर्ने निकाय ट्राफिक प्रहरी भएपनि पोखरामा त्यस्ता कार्य रोक्न कुनै पहल भएको पाइँदैन । लेकसाइड क्षेत्रमा मात्रै झन्डै १ हजार साना ठूला सवारी रातो प्लेटका भाडामा लगाइँदै आएको छ । पर्यटक लक्षित सहजताका लागि सवारी उपलब्ध गराउने भनिए पनि रातो प्लेटका सवारी पछिल्लो समय आपराधिक क्रियाकलापमा समेत प्रयोग हुने पोखराकै एउटा घटनाले पुष्टि गरेको छ ।

Advertisement

गत असार १ गते पोखरा १० कान्तिपुरचोक बस्ने २७ वर्षीया लक्ष्मी परियारको श्रीमानकै सेटिङमा हत्या भयो । घटनाको २५ दिनपछि मात्र रहस्य खुल्यो । लक्ष्मीका श्रीमान रमेश नेपालीले उनलाई हत्या गराउन १० लाख तिरेर भारतीय ‘कन्ट्रयाक्ट किलर’ पोखरा झिकाए थिए । हत्याका आरोपी ४ जना पक्राउ परिसकेका छन् । हत्या योजनामा संलग्न लक्ष्मीका श्रीमान रमेशसहित उनकी बहिनी अनु परियार र अन्य २ जना कास्की प्रहरीको हिरासतमा छन् ।

तर, भारतीय नागरिक ३ जना जो लक्ष्मीलाई पोखरा २२ कर्कले जंगलमा घाँटी रेटी हत्या गरेका थिए उनीहरु पक्राउ पर्न सकेका छैनन् । मुख्य दोषी भारतीय नागरिक पक्राउ पर्न नसक्नुको कारण पनि सञ्जय र चितरञ्जनले प्रयोग गरेको हतकण्ठा वरीपरी घुमेको देखिन्छ । उक्त घटनामा संलग्नहरुले लेकसाइड र नयाँबजारबाट २ सवारी रातो प्लेटका भाडामा लिइएका थिए ।
सञ्जयले हल्लनचोकस्थित पोखरा बाइक रेन्ट प्रालिबाट ग११प ८००३ नम्बरको होन्डा डियो स्कुटर र नयाँबजारको दीपक कार डेकोरबाट ग१च २३६३ नम्बरको ‘किया’ कार भाडामा लिए । दुवै रातो प्लेटका सवारी हत्या योजना सहज बनाउन प्रयोग गरिए ।

निजी प्रयोजनका लागि दर्ता भएका सवारी भाडामा लगाइनु गैरकानुनी हो । तर पोखरा महानगरपालिकाले ‘पोखरा बाइक रेन्ट प्रालि’लाई ‘बाइक भाडामा लगाउने’ अनुमति दिएको छ । जुन प्रचलित कानुन विपरीत हो । सार्वजनिक प्रयोगका लागि दर्ता भएका कालो प्लेट र निजी प्रयोगका लागि दर्ता भएका रातो प्लेट सवारीले तिर्ने राजस्वमा समेत अन्तर छ । जसले गर्दा लाखौं राजस्व दिनप्रतिदिन यातायात कार्यालय गुमाइरहेको हुन्छ । कालो प्लेटका सवारीले तोकिएको रुट परमिट बेगर सडकमा सवारी सञ्चालन गर्न राजस्व तिर्नुपर्ने हुन्छ । तर रातोको हकमा भने नेपालभर सञ्चालन अनुमति हुनेहुँदा कर तिर्नुपर्ने बाध्यता छैन ।

यातायात व्यवस्थापनका लागि प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा १ समिति हुने व्यवस्था छ । यातायात व्यवस्थापन लगायत अनुगमन र कारबाहीको समेत समितिलाई निर्णयाधिकार रहन्छ । तर, कास्कीमा वर्ष दिनयता उक्त समिति निष्क्रिय जस्तै छ । गत आवको वार्षिक समीक्षामा समेत प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले सवारी अनुगमन शून्य रहेको विवरण सार्वजनिक गरेका थिए ।

रातो प्लेटका सवारीलाई प्रयोजन विपरीतका गतिविधिमा संलग्न गराउन नपाइने आवाज बेलाबखतमा उठे पनि उचित निगरानीकै अभावमा नियन्त्रण हुन नसकेको सरोकारवाला बताउँछन् । प्रचलित कानुन विपरीत पोखरामा जति पनि त्यस्ता उद्देश्यले सञ्चालनमा आएका व्यवसाय छन्, पोखरा महानगरले अनुमति दिन बन्द गर्न र ट्राफिकले कारबाहीको दायरामा ल्याउनुपर्ने उनीहरुको भनाइ छ ।

अपराध अनुसन्धानमा समस्या ः प्रहरी प्रवक्ता
रातो प्लेटका सवारीलाई भाडामा लगाउँदा आपराधिक क्रियाकलापमा समेत प्रयोग हुनसक्ने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डिएसपी राजकुमार केसी बताउँछन् । तर सवारी साधनको किसिमलाई मात्रै ख्याल गर्ने भन्दा पनि जुनसुकै सवारी प्रयोग हुनसक्ने उनको तर्क छ । ट्याक्सी वा साथीहरुको प्रयोग गरेर पनि अवैध क्रियाकलापमा संलग्नता गराएको पाइने उनले बताए ।

रातो प्लटेका सवारी भाडामा लगाउँदा आवश्यक रेकर्ड नराख्दा अनुसन्धानमा समस्या भने पर्ने उनको भनाइ छ । ‘आवश्यक रेकर्ड नराखी के कामका लागि कुन उद्देश्यका लागि सवारी प्रयोग हुँदै छ भन्ने जानकारी नहुँदा आपराधिक क्रियाकलापमा समेत प्रयोग हुन सक्छ,’ उनी भन्छन्, ‘अवैध सामान ओसारपसारमा प्रयोग गर्न सक्छन् । कुन व्यक्तिले के कामका लागि भाडामा लगेको भन्ने उल्लेख नहुँदा अपराधमा प्रयोग भइहाल्यो भने अनुसन्धानमा समस्या पार्छ नै ।’

लक्ष्मी हत्यामा प्रयोग भएका २ सवारी कास्की प्रहरीको नियन्त्रणमा छन् । उक्त सवारी भाडामा लगाउँदा के प्रयोजनका लागि भनेर दिइएको हो भन्नेबारे अनुसन्धान भइरहेको उनले बताए । ‘अपराधमा प्रयोग गर्न जानीजानी दिएको रहेछ भने उनीहरु पनि अनुसन्धानमा तानिन सक्छन्,’ उनले भने ।

रातो प्लेटलाई भाडामा लगाएर व्यवसाय सञ्चालन गर्नेविरुद्ध नियामक निकाय जिल्ला ट्राफिक प्रहरी कार्यालय मौन रहँदै आएको छ । यसबारे कास्की ट्राफिक प्रहरी प्रमुख मुरारी मिश्रलाई प्रश्न गर्दा उनी बोल्न चाहेनन् ।

तपाईको प्रतिक्रिया