पदयात्रा मार्गमा धमाधम पूर्वाधार

समाधान संवाददाता २०७६ साउन १९ गते १६:२६

कृष्ण दवाडी

आवश्यक पूर्वाधार तथा प्रवद्र्धन नहुँदा पछाडि परेको ‘माछापुच्छ«े मोडल ट्रेक’मा पर्यटकीय पूर्वाधार निर्माणमा स्थानीय जुटेका छन् । कास्कीको माछापुच्छ«े गाउँपालिका ९ को कुइवाङबाट सुरु हुने सो पदयात्रा मार्ग ३ देखि ७ दिनको छ । कुइवाङबाट सैतीघट्ट, इमु, तक्रो प्रम्धुङ, कल्था, मेरवाङ खर्क, आलङ्गे झरना, नौढोके, मेश्रम, कोरचोङ हुँदै ३ हजार ६ सय ८२ मिटर उचाइमा अवस्थित भ्यु पोइन्ट पुगेर एकैपटकमा अन्नपूर्ण साउथ, अन्नपूर्ण तेस्रो, अन्नपूर्ण चांैथो, गन्धर्व हिमाल, अन्नपूर्ण प्रथम, बुद्ध हिमाल, मर्दी हिमाल लगायत १० वटा हिमाल दृश्यावलोकन गर्न सकिन्छ ।

कोरचोङबाट बुकेनी हुँदै २ दिनको यात्रापछि रमणीय ‘तीन शिर’ पुग्न सकिन्छ । जनै पूर्णिमामा यहाँ ठूलो मेला लाग्छ । सेती, मादी र मोदी नदीको शिर भएकाले यसलाई ‘तीन शिर’ भन्ने गरिएको हो । यहाँ आएर श्राद्ध गरेमा पितृले मुक्ति पाउने भन्ने विश्वासले गर्दा पनि यस ठाउँको धार्मिक महिमा बढेको पाइन्छ ।

Advertisement

२०५८ मा ट्रेकिङ एजेन्ट्स् एसोसियसन अफ नेपाल(टान)ले पदयात्रा मार्गको पहिचान गरी सो क्षेत्रमा पर्ने साविकका चार गाविसमा सूचना पाटी राखेर सो मार्गलाई चिनाउने प्रयास गरे पनि बीचमा त्यसको प्रवद्र्धन तथा पूर्वाधार निर्माणको कार्य अघि बढ्न सकेको थिएन । २०७३ मा स्थानीयले पदयात्रा मार्गमा पूर्वाधार निर्माण तथा यसको प्रचारप्रसार र व्यवस्थापनका लागि माछापुच्छ«े नमूना पैदल मार्ग व्यवस्थापन समिति गठन गरेर यसलाई पर्यटकको गन्तव्य बनाउने प्रयास सुरु गरेका थिए ।

पर्यटनका लागि आवश्यक न्यूनतम पूर्वाधार निर्माण भएकाले अब पर्यटक आगमनमा वृद्धि हुने अपेक्षा स्थानीयको छ । यहाँ आउने पर्यटकका लागि आवास, खानपिन तथा बाटोको सहजताका लागि पूर्वाधार निर्माणलाई स्थानीयवासीले प्राथमिकतामा राखेर काम गरेको समितिका सचिव कुलप्रसाद अधिकारी बताउँछन् । पदयात्रा मार्गमा घरवास पर्यटन सञ्चालन गरेर स्थानीय उत्पादनलाई जोड दिइएको उल्लेख गर्दै अधिकारी भन्छन्, ‘पर्यटनका लागि पहिलो आवश्यकता भनेको बाटो, खानेपानी तथा आवासको प्रबन्ध पूर्वाधार हुन् । तामाङ सामुदायिक घरवास, जाउँ है हिमाल घरवास(होमस्टे)मा पर्यटकले स्थानीय जैविक उत्पादन कोदो र दूध लगायतका परिकार खान पाउँछन् ।’

Advertisement

यस मार्गमा पर्नेे आलंगे झरना, धार्मिक महत्व बोकेको नौढोके गुफा, भैँसी गोठ भएका रमणीय खर्क, बुट्यान, जङ्गलमा देखिने डाँफे, मुनाल, कालिजलगायतका पक्षीको चिरबिरले पर्यटकलाई लोभ्याउने गरेको छ । पदयात्रा मार्गलाई सहज बनाउने उद्देश्य अनुसार ठाउँ ठाउँमा आवश्यक पूर्वाधार निर्माण गरिएकोे वडा नं ९ का वडाध्यक्ष दुर्गाप्रसाद क्षेत्रीले बताए ।

प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको १० लाख लागतमा गत वर्ष कल्थादेखि सामुडाँडासम्म ६ सय ५० मिटर लामो बाटोमा ढुंगा बिच्छ्याएर सिँढी, ठाउँ ठाउँमा चौतारी तथा खानेपानीको प्रबन्ध गरिएको वडाध्यक्ष क्षेत्रीले जानकारी दिए । आलंगे झरनासम्म पनि वडाको बजेटबाट सिँढी बाटो निर्माण गरिएको छ । उनले भने, ‘माछापुच्छ«े मोडेल ट्रेक पर्यटनको प्रमुख गन्तव्य हो । एउटै पद्यात्राबाट हिमाल, गुफा तथा धार्मिक स्थलको अवलोकन गर्न सकिन्छ । जनप्रतिनिधि आइसकेपछि यसको प्रवद्र्धन गर्नुपर्दछ भनेर लागेका छौं ।’

पदयात्रा मार्गका अधिकांश अप्ठ्यारो स्थानमा बाटो मर्मत गरेर बाह्ै महीना पैदल हिँड्न सकिने बनाइएको र मेश्रम, नौढोकेलगायतका स्थानमा खानेपानीको प्रबन्ध गरिएको समितिका अध्यक्ष भक्तबहादुर गुरुङले बताए । कोरचोङमा अझ पनि खानेपानीको समस्या छ । पर्यटकको बस्ने स्थानभन्दा केही तल मात्र पानीको मुहान रहेकाले समस्या परेको हो ।

कोरचोङबाट फर्केमा ३ दिनमा पदयात्रा सम्पन्न गरेर पोखरा फर्कन सकिए पनि माछापुच्छे«को दक्षिणी आधार शिविर र मर्दी हिमालको पूर्वी भाग रहेको तीन शिरसम्म पुगेर फर्कंदा भने १ हप्ता लाग्ने बताइन्छ । पदयात्रा मार्गमा निर्माण गरिएका पूर्वाधारको हालै निरीक्षणका क्रममा गण्डकी प्रदेशसभा सदस्य रामजी बरालले प्राकृतिक रुपमा रमणीय यस क्षेत्रको प्रवद्र्धन र विकासका लागि प्रदेश सरकारको सदैव साथ रहने बताउँदै यसलाई प्रमुख पर्यटकीय गन्तव्य बनाइने स्पष्ट पारे । पर्यटनका नयाँनयाँ गन्तव्य विकास गरेर सङ्घ तथा प्रदेश सरकारले घोषणा गरेका भ्रमण वर्षलाई सफल बनाउन पनि सो पदमार्गले मद्दत पुग्ने भनाइ सदस्य बरालको छ ।

तपाईको प्रतिक्रिया