नेपाल टपर शुरती भन्छिन– मम्मीलाई लागोस्, ‘छोरीले दुख पढेकी छे !

समाधान संवाददाता २०७६ साउन १९ गते १६:३७

विकास रोकामगर

राष्ट्रिय परीक्षा बोर्डले वैशाख १२ गतेबाट सुरु गरेको कक्षा १२ को परीक्षाको नतिजा सोमबार सार्वजनिक ग¥यो । नतिजा अनुसार पोखराको प्रतिभा सेकेन्डरी स्कुलकी विद्यार्थी शुरती पाण्डे उत्कृष्ट जिपिएसहित कास्कीमात्रै नभई समग्र देशभरबाटै कक्षा १२ अर्थात् विद्यालय तहको अन्तिम परीक्षामा सर्वोत्कृष्ट भइन् । उनले व्यवस्थापन संकायबाट ३ दशमलव ९२ जिपिए ल्याएर परीक्षा उत्तीर्ण गरेकी हुन् ।

प्रतिभाबाट व्यवस्थापन विषयमा परीक्षा दिएका २ सय २० विद्यार्थीमध्ये पाण्डेले सर्वाेत्कृष्ट नतिजा ल्याएकी हुन् । परीक्षामा सर्वोत्कृष्ट हुनुको कारण आफूभित्र जान्ने उत्सुकता र आमाको सपना पूरा गर्ने लक्ष्यसहित गरेको कठोर मेहेनत नै भएको उनी बताउँछिन् । ‘मेहेनत अनुसारको फल पाए झैैं लागिरहेको छ,’ पाण्डे भन्छिन्, ‘सिए पढ्ने सानैदेखि रुचि थियो । अब झनै राम्रो पढेर आमालाई खुसी दिन्छु । उनको आँखामा दुखको आँसु म हेर्न सक्दिनँ ।’ उनले सिए पढ्ने सपनाले नै जहिल्यै पढाइमा राम्रो गरुँ भन्ने लागेको र त्यही अनुसार कडा मेहेनत गरेको सुनाइन् ।

Advertisement

मम्मीलाई लागोस्, ‘छोरीले दुख पढेकी छे !

भाइ सानै थियो । आफू पनि सानै थिइन् । कक्षा ४ मा भर्खरै त भर्ना भएकी थिइन् । ८÷९ वर्षको कलिलो उमेरमा किताबका केही अक्षर र अंकसँग नजिकिँदै थिइन् । तर, त्यही सानो उमेरमै समयले उनलाई दुखको अंक गणित र गह्रौं शब्दार्थ घोकायो । घोक्दिनँ, बोक्दिनँ भन्नू उनको सामथ्र्य रहेन ।

Advertisement

शुरती पाण्डे कक्षा ४ मा पढ्दा बाबा बिते । घरको आधार स्तम्भ ढल्यो । अडिने टेको भाँच्चियो । हातमुख जोड्ने आशा थिए, टुक्रियो । सहरमा बाँच्न पनि हम्मेहम्मे बनायो । न कुनै भरोसा न कुनै उपाय ।

सँगै बाँचौंला, सन्तान हुर्काउँला भन्ने सपना देखेका श्रीमान् रहेनन्, छोडेर गए । तर, सम्झना पाण्डेले हिम्मत हारिनन् । सम्झना शुरतीकी आमा हुन् । सन्तानलाई हुर्काइन्, पढाइन् र जीवन बुझ्न सक्ने बनाइन् । शुरतीको एउटा भाइ पनि छन्, सचेतराज पाण्डे । अहिले उनी प्रतिभामै कक्षा ७ मा पढिरहेका छन् ।

धाडिङबाट पोखरा आएर पाण्डे परिवारले संघर्ष सुरु गरिरहेको थियो । तर, त्यहीबेला श्रीमान्को मृत्युपछि सन्तानको उज्ज्वल भविष्यको जिम्मेवारी सम्झनाले काँधमा लिइन् । अहिले उनी बिहानसाँझ नेपाल–भारत पुस्तकालयमा काम गर्छिन् भने दिउँसो महेन्द्रपुलमा रहेको ‘मथुरा साहुको पसल’मा काम गर्छिन् । शुरतीले पनि आमाको संघर्ष नजिकबाट नियालेकी छिन् । भन्छिन्, ‘एकदिन मम्मीलाई लागोस्, छोरीले दुख जानेकी छे । छोरी हुनु त मेरोजस्तो !’

सिए सपनाले दिलाएको सफलता !

शुरती सानोमा उति मेधावी छात्रामा पर्थिनन् । तर, उनको एउटै रहर थियो, ‘चार्टड एकाउन्टेन्ट अर्थात सिए बन्ने ।’ उनी त्यही सपनालाई सधैं पछ्याउँदै अघि बढिन् । एसइई ३ दशमलव ७ जिपिएसहित पास गरिन् र पुगिन्, प्रतिभा मावि जहाँ उनलाई व्यवस्थापन संकायमा अध्ययन गर्नु थियो । त्यसका लागि प्रवेश परीक्षा पास गर्नैपर्ने दबाब थियो ।

सिए सपना हुर्कारहेकी पाण्डेलाई कक्षा ११ को प्रवेश परीक्षा बाधक बनेन । परीक्षा दिन आएका सयौं विद्यार्थीलाई उछिन्दै उनले पहिलो नम्बरमा नाम निकालिन् । पढाइलाई निरन्तरता दिन थालिन् । ‘कक्षा ११ को परीक्षामा ३ दशमलव ५९ जिपिए ल्याएर पास गरें,’ पाण्डेले सुनाइन्, ‘कक्षा ११ को परीक्षाफल राम्रो आएपछि १२ मा अझै राम्रो गनुपर्छ भन्ने लाग्यो र त्यही अनुसार मेहेनत गर्न थालें ।’ उनले परीक्षाको बेला ४ घण्टा पनि मुस्किलले अध्ययन गरेको अनुभव सुनाइन् ।

अरु विद्यार्थीजस्तो किताबी कीरो भने होइनन्, पाण्डे । उनको पढाइका अलावा अतिरिक्त क्रियाकलापमा पनि विशेष रुचि छ । त्यसैले त विद्यालय तथा जिल्लामा हुने हरेक कार्यक्रममा सहभागी हुन उनी ‘रिप्रिजेन्टर’ बनेकी थिइन् । ‘मलाई मोटिभेस्नल कक्षा लिन खुब मन पर्छ । त्यही कारणले पनि सबै प्रकारका व्यक्तित्व विकासका कार्यक्रममा पगिरहन्थें,’ उनी भन्छिन्, ‘नभए पहिले त यति कहाँ बोल्न जान्थें र अहिले पो यत्ति भा’नि सिकेकी छु ।’

आफूमा विश्वास भएपछि कुनै पनि कुरा असम्भव नहुने पाण्डेको विचार छ । भन्छिन्, ‘कोही पनि जन्मिँदा नै अदभूत शक्ति लिएर आउँदैन । प्रतिभा भन्ने कुरा पछि गेन गर्ने हो जस्तो लाग्छ । सिकाइ र बुझाइले कति एक्स्ट्रा आफूले लिने महत्वपूर्ण रहेछ ।’

शुरतीले आमा, स्कुलको राम्रो वातावरणले नै सिक्ने मौका पाएको सुनाइन् । ‘सिए पढ्ने मेरो रहरले मात्रै सफलता पाउन गाह्रो हुन्थ्यो । यसमा मम्मीको पनि सपना जोडिएको छ,’ उनले भनिन्, ‘विद्यालयको शैक्षिक वातावरण अनुकुल नहुँदो हो त गाह्रै हुन्थ्यो ।’ अहिले उनी चार्टर्ड एकाउन्टेन्ट (सिए) पढ्न पोखरा सिर्जना चोकमा रहेको इन्लाइटन्ड इन्टरनेसनल अक्याडेमी (इआए) भर्ना भएर पढाइ सुरु गरिसकेकी छन् ।

शुरतीलाई डेढ लाख, भाइलाई निशुल्क पढाइ !

कक्षा १२ को परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याएपछि शुरती पाण्डेलाई विद्यालयले आइतबार सम्मान गर्ने भएको छ । शनिबार पोखरामा पत्रकार भेटघाट कार्यक्रम गर्दै विद्यालय प्रशासनले शुरतीलाई डेढ लाख रुपैयाँसहित सम्मान गरिने र उनका भाइ सचेतराजलाई कक्षा १२ सम्म निशुल्क छात्रवृत्ति दिने घोषणा गरेको हो । सोही अवसरमा अन्य संकायबाट उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई पनि सम्मान गरिने विद्यालयले जनाएको छ ।

‘पाण्डे हाम्रो स्कुकी मेधावी छात्र हुन् । उनले स्कुलको मात्रै नभएर समग्र गण्डकी प्रदेशलाई चिनाएकी छिन्,’ प्रतिभा स्कुलका प्राचार्य विश्वगोपाल पराजुलीले भने, ‘सिए पढ्न आर्थिक सहयोग होस् भनेर हामीले नगदसहित सम्मान गर्न लागेका हौं ।’ भाइ सचेत पनि पढाइमा अब्बल रहेको उनले जानकारी दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण पौडेलले सफलता हात पार्नुमा शैक्षिक र पारिवारिक वातावरणले धेरै प्रभाव पार्ने सुनाए । शिक्षक किरण सापकोटाले सामान्य परिवारबाट आएका विद्यार्थी पढाइमा लगनशील हुने अनुभव सुनाए ।

२०४३ सालमा स्थापना भएको विद्यालयबाट गत वर्षको कक्षा १२ को परीक्षामा विज्ञान संकायमा २ सय ६० जना सहभागी थिए । व्यवस्थापन संकायको परीक्षामा २ सय २० विद्यार्थी सहभागी थिए । विद्यालयमा ३ दशमलव ७६ भन्दामाथि ल्याउने विद्यार्थी ६ जना छन् ।

तपाईको प्रतिक्रिया