घनश्याम ढकालबारे कृति

समाधान संवाददाता २०७६ साउन १९ गते १७:०१

समाधान संवाददाता

साहित्यकार घनश्याम ढकालबारे समालोचक सुकुम शर्माले तयार पारेको पुस्तक प्रकाशित भएको छ । शर्माद्वारा लेखिएको ‘परिचयका सन्दर्भमा घनश्याम ढकाल’ नामक समीक्षा कृति शुक्रबार काठमाडौंमा विमोचन भयो ।

पुस्तक विमोचन तथा परिचर्चा कार्यक्रममा बोल्दै प्राडा ताराकान्त पाण्डेयले घनश्याम ढकाल माक्र्सवादी समालोचना र भौतिकवादी चिन्तनका क्षेत्रमा प्रतिबद्ध र प्रस्ट लेखक भएको चर्चा गरे । ‘ढकालको मूल व्यक्तित्व नेपालको प्रगतिवादी आख्यान र निबन्धमा स्थापित छ,’ पाण्डेयले भने, ‘जनयुद्धपूर्व र जनयुद्धको उत्कर्षका बेलामा वर्गसंघर्षलाई केन्द्रीय कथ्य बनाएर ढकालले शक्तिशाली कथा र उपन्यास सिर्जना गरेका छन् ।’

Advertisement

पाण्डेयले समानान्तर साहित्यिक धाराका कृतिहरूको समालोचना गर्ने क्रममा पनि ढकालले महत्वपूर्ण योगदान दिएको स्मरण गरे । सरुभक्तरचित ‘पागल बस्ती’ उपन्यासबारे प्रगतिवादी धाराबाट ढकालले नै सशक्त आलोचना पेस गरेको पाण्डेयले बताए । ढकालको सम्पूर्ण व्यक्तित्व झल्कने गरी पुस्तक तयार पारेको भन्दै प्रा. पाण्डेयले समालोचक सुकुम शर्माको प्रशंसा गरे ।

समालोचक निनु चापागाईंले नेपालको कम्युनिस्ट आन्दोलनमा वैचारिक तथा सांस्कृतिक विचलन देखिएको सन्दर्भमा ढकालजस्ता आलोचकको अभाव खड्किएको औंल्याए । चापागाईंले भने, ‘हाम्रो सांस्कृतिक आन्दोलनमा सबैभन्दा डरलाग्दो गरी वैचारिक विचलन देखिएको छ । यो विचलनको क्रम अझै बढ्दै जाने संकेतहरू देखिएका छन् । यस्तो बेलामा आन्दोलनलाई घनश्याम ढकालजस्ता निर्भीक आलोचकहरूको खाँचो छ । तर, अहिले कम्युनिस्ट आन्दोलनमा न आलोचनाको संस्कृति छ, न कोही आलोचक छ । हाम्रो आन्दोलनले बौद्धिक दासहरू मात्रै उत्पादन गरिरहेको छ ।’

Advertisement

चापागाईंले पार्टी नेतृत्वको खराब आचरण र गलत नीतिका विरुद्ध प्रतिवाद गर्ने र खरो आलोचना गर्ने व्यक्तित्वका रुपमा पनि ढकालको सम्झना गरे । ‘ढकालका फुटकर लेख, समीक्षा र अन्तर्वार्ताहरूमा उहाँको खरो आलोचक व्यक्तित्व देख्न सकिन्छ,’ चापागाईंले भने, ‘अहिलेका साथीहरू नेतृत्वको कति चाकडी गर्छन् भन्ने फेसबुकका भित्तामा देखिन्छ । कम्युनिस्ट पार्टीभित्र चाकडीको संस्कृति झन्भन्दा झन् मौलाएर गएको छ ।’

समालोचक शर्माले घनश्याम ढकालसँगको आफ्नो संगत, सहकार्यका उतारचढाव स्मरण गर्दै ढकालबारे समालोचना पुस्तक लेख्दाको अन्तर्कथा सुनाए । उनले प्रगतिवादी फाँटका अरु स्रष्टाका जीवनी र समालोचना पनि आफूले तयार गरिरहेको चर्चा गरे ।

पुस्तक चर्चा कार्यक्रममा लेखक वन्दना ढकालले घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठानका वैचारिक कार्यहरूकै शृंखलामा शर्माको पुस्तक प्रकाशित भएको जनाइन् । प्रतिष्ठानले यसअघि कथाप्रधान त्रैमासिक पत्रिका ‘कथालय’ प्रकाशित गरेको छ । अघिल्लो वर्ष झण्डै एक सय जनाको रचनासहित ‘घनश्याम ढकाल स्मृति ग्रन्थ’ प्रकाशित गरेको प्रतिष्ठानले छिटै वैचारिक जर्नल प्रकाशनको तयारी गरेको प्रतिष्ठानका अध्यक्षसमेत रहेका चापागाईंले बताए । घनश्याम ढकालका सम्पूर्ण रचनाहरू घनश्याम ग्रन्थावलीमा एकत्रित गर्ने काम पनि भइरहेको चापागाईंले जानकारी गराए ।

ढकालका पाँच कथा संग्रह, दुई उपन्यास, दुई निबन्ध संग्रह, चार कविता संग्रह, दुई सौन्दर्यशास्त्रसम्बद्ध पुस्तक, तीन वटा सम्पादित समालोचना पुस्तक र थुप्रै फुटकर रचना प्रकाशित छन् । प्रगतिशील लेखक संघ र अखिल नेपाल लेखक संघका तत्कालीन अध्यक्ष ढकालको २०६८ फागुन १ मा निधन भएको थियो । ढकालको स्मृतिमा २०६९ सालमा प्रतिष्ठान स्थापना भएको हो ।

तपाईको प्रतिक्रिया